काठमाडौं-केही दिनदेखिको अविरल बर्षापछि आएको बाढीपहिरो र डुवानमा परेर मुलुकका विभिन्न जिल्लामा ३१ जनाको मृत्यु भएको छ ।गृहमन्त्रालयबाट आज बिहानसम्मको प्राप्त विवरणअनुसार अन्य ४३ जना बेपत्ता भएका छन् । विपद्मा परेर २२ जना घाइते भएका मन्त्रालयको विपद् व्यवस्थापन महाशाखा प्रमुख हुमकला पाण्डेले जानकारी दिए । सम्पर्कविहीन व्यक्तिको सङ्ख्या धेरै रहेकाले मृत्यु अझै बढ्ने देखिएको छ ।
अहिलेसम्मको प्राप्त विवरणअनुसार इलाममा सात, पाँचथरमा छ, डोटीमा सात, धनकुटामा छ, सुनसुरीमा दुई, कालीकोटमा एक, डडेलधुरामा एकसहित ३१ जनाको मृत्यु भएको उनले जानकारी दिए । उजले पहिरोमा परेर हुम्लामा छ, बझाङमा २३, कैलालीमा चारसहित विभिन्न जिल्लाका ४३ जना बेपत्ता भएका बताए । अहिलेसम्म विभिन्न जिल्लाबाट ७०० को उद्धार गरिएको छ ।
प्राप्त विवरणमा बाढी पहिरो र डुबानबाट मुलुकका १९ जिल्ला प्रभावित भएको छ । रातिदेखि नै वर्षा हुने प्रणाली नेपालको पूर्वी भेगतिर सरेसँगै कर्णाली र सुदूरपश्चिममा केही सुधार भएको छ । नेपालमा भारतको विहार र उत्तर प्रदेश आसपास रहेका न्यून चापीय प्रणाली र पश्चिमी वायु प्रणालीको संयुक्त प्रभाव कायमै छ ।
जसका कारण अहिले हाल देशको प्रदेश १, २ र बागमती प्रदेशमा पूर्ण बदली र बाँकी भू–भागमामा सामान्यदेखि पूर्ण बदली रहेको छ । प्रदेश १, बागमती र गण्डकी प्रदेशका केही स्थानमा र बाँकी प्रदेशका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भएको छ । आज दिउँसो प्रदेश १ का थोरै र प्रदेश २, बागमती, गण्डकी प्रदेशका एक÷दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।
सुदूरपश्चिममा बाढीपहिरोमा परेर १५ जनाको मृत्यु, २८ बेपत्ता
सुदूरपश्चिम प्रदेशमा आइतबार साँझदेखिको अविरल वर्षाका कारण आएको बाढी र पहिरोमा परेर १५ जनाको मृत्यु भएको छ ।सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीकाअनुसार डोटीमा ९ जना, बैतडीमा चार जना र डडेलधुरामा दुई जनाको बाढीपहिरोमा परेर मृत्यु भएको छ ।
प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक बिक्रम चन्दले डोटीको जोरायल गाउँपालिका–४ का अन्दाजी ४२ वर्षीय शेरबहादुर बिक, उनका छोरा १८ वर्षीय मोहन बिक, १३ वर्षीया छोरी पवित्रा बिक र मामाघरमा आएका सोही ठाउँका १६ वर्षीय रविन बिकको पहिरोमा परेर मृत्यु भएको जानकारी दिए । डोटीकै जोरायल गाउँपालिका–३ का अन्दाजी ६३ वर्षीय जोगी सार्की, शिखर नगरपालिका–११ की अन्दाजी ३६ वर्षीया मन्दरा बलायर, सायल गाउँपालिका–६ मेल्लेखमा पहिरो गई १४ वर्षीय सागर कुन्जेडा र १० वर्षका आशिष कुन्जेडाको पनि पहिरोमा च्यापिएर मृत्यु भएको प्रहरी वरिष्ठ उपरीक्षक चन्दले बताए ।
बैतडीमा एकै परिवारका तीनसहित चार जनाको मृत्यु भएको छ । जिल्लाको शिवनाथ गाउँपालिका–६ मा घर माथिबाट खसेको पहिरोमा परेर स्थानीय भालु पार्कीका छोरा बुहारीद्धय १८ वर्षीया पवित्रा पार्की र २४ वर्षीया भानु पार्की तथा तीन वर्षीया छोरा सोम पार्कीको मृत्यु भएको हो। सुर्नया गाउँपालिका–५ को बिष्टपालीमा स्थानीय खड्कसिंह बिष्टको भान्छा कोठा पहिरोले पुरिएर उनकी दिदीसासु पर्ने ७१ वर्षीया परुदेवी महराको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
डडेल्धुरामा पहिरोमा परेर दुई जनाको मृत्यु भएको छ। जिल्लाको गन्यापधुरा गाउँपालिका–१ भात्काँडाका विष्णु अवस्थी र ६५ वर्षीया नरपति शाहीको मृत्यु भएको हो । बाढी तथा पहिरोमा परेर कैलाली, डोटी र बझाङमा २८ जनाको मृत्यु भएको छ । बझाङको थलारा गाउँपालिका–४ को डिख्लामा मंगलबार बिहान परेको पहिरोले घर बगाउँदा चार परिवारका २३ जना बेपत्ता छन् भने कैलालीमा नदीमा बगेर चार र डोटीमा एक जना बेपत्ता भएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
बेपत्ता हुनेमा बझाङको थलारा गाउँपालिका–४ का गगने सार्कीकी श्रीमती हर्कु सार्की, माहिलो छोरा धरविरे सार्की, उनकी श्रीमती सीता, छोरा प्रवाश, चिरन्जीवी र छोरी भूमिका, जेठो छोरा काले पार्कीकी श्रीमती इशरादेवी, छोरी सन्दिप, सरोज, छोरीहरु सविना र सर्मिला पनि पहिरोमा बेपत्ता भएका छन् । काले भने सकुसल छन् । गगनेकै साइलो छोरा सुरेशकी श्रीमती पम्मा सार्की, छोरा सुवास, विकास र प्रकाश तथा काइलो छोरा मदन सार्कीसहित उनीकी श्रीमती कलु सार्की र एलिसा सार्की पनि बेपत्ता भएका छन् । गगने रोजगारीको सिलसिलामा भारतमा छन् ।
पहिरोमा स्थानीय नरबहादुर पार्कीकी ७० वर्षीया आमा उजली पार्की, उनकी श्रीमती ५० वर्षीया हाँसु पार्की, १० वर्षीया छोरी हिमा पार्की, ६ वर्षीय छोरा आयुष पार्की र १४ वर्षीया छोरी सीमा पार्की पनि बेपत्ता भएका छन् । बेपत्ताहरुको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ । बाढीले बगाउँदा कैलालीका गणेश आउजी, खडकबहादुर घर्तीमगर, विक्रम घर्तीमगर, खडक रानामगर र डोटीका बिरे रोकाया बेपत्ता भएका छन् ।उनीहरुको खोजी जारी राखिएको छ । तर हालसम्म बेपत्ता सबैको अवस्था अज्ञात रहेको छ । बाढीका कारण कैलाली र कञ्चनपुरमा झण्डै ६ सय घर डुबानमा परेको प्रहरीले जनाएको छ ।
प्रदेश १ मा बाढीपहिरोमा परी २२ जनाको मृत्यु
बाढी र पहिरोमा परी प्रदेश १ मा २२ जनाको मृत्यु भएको छ । अविरल वर्षासँगै आएको बाढी र पहिरोका कारण पहाडी जिल्लामा २० र तराईका जिल्लामा दुई जनाको मृत्यु भएको हो ।१ नम्बर प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक अरुणकुमार बिसीका अनुसार इलाममा सात जनाको मृत्यु भएको छ । पहिरोमा परी धनकुटामा ६ जनाको मृत्यु भएको छ ।
धनकुटाको चौबिसे गाउँपालिका-१ बुधबारेस्थित गढेरीमा मङ्गलबार राति पहिराले भीमबहादुर श्रेष्ठको घर पुरेको थियो । पहिरोले पुरिँदा श्रेष्ठसहित ६ जनाको मृत्यु भएको प्रहरीले बताएको छ ।पाँचथरमा पनि ६ जनाको मृत्यु भएको छ । बाढीमा परी सुनसरीमा दुई र उदयपुरमा एक जनाको मृत्यु भएको छ ।


विश्व खबर 



















