images
images
  • सभापति देउवाको व्यस्तताले ओझेलमा कांग्रेस महाधिवेशन

    काठमाडौं-नेपाली कांग्रेसले सत्ताको नेतृत्व लिएपछि कांग्रेसको १४औं महाधिवेशन ओझेलमा परेको छ । सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बनेपछि पार्टी कामभन्दा सरकार र सत्ता गठबन्धनका बैठकमा व्यस्त हुँदै गएपछि कांग्रेसको निर्धारित महाधिवेशन ओझेलमा पर्दै गएको हो ।

    प्रधानमन्त्री देउवाले सत्ताको किचलो र मन्त्रिपरिषद् विस्तारमा समय लागेपछि पार्टीका काममा समय दिन सकेका छैनन् । कहिले दल विभाजन अध्यादेश किचलो त कहिले सोही अध्यादेश फिर्ता गर्नुपर्ने गठबन्धनकै अडानका कारण सरकार विस्तार ढिला हुँदा प्रधानमन्त्री देउवा पार्टीका काममा भन्दा बढी सरकार र गठबन्धनका काममा अल्झँदै आएका थिए । जसका कारण कांग्रेसले अझै पनि १३ जिल्लामा वडा अधिवेशन सुरु गर्न सकेको छैन । १३ जिल्लामा वडा अधिवेशन नहुँदा महाधिवेशनको पूर्वनिर्धारित मिति प्रभावित भइसकेको छ ।

    कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले महाधिवेशनको विषय अन्योलमा पर्दै गएको बताए । ‘महाधिवेशन त घोषणा भयो तर अझै पनि हुने कि नहुने अन्योल छ, पार्टीको बैठक हुन सकिरहेको छैन, मैले सभापतिलाई दसैंलगत्तै पदाधिकारी र केन्द्रीय समिति बैठक बोलाउन भनेको छु, अब यसरी पार्टी चल्दैन,’ कांग्रेस वरिष्ठ नेता पौडेलले भने ।

    उनले दसैंलगत्तै सभापति देउवालाई पदाधिकारी बैठक बोलाएर महाधिवेशनबारे स्पष्ट कार्यक्रम बनाउन आफूले आग्रह गरेको जानकारी दिए । त्यसपछि केन्द्रीय समिति बैठक डाकेर पार्टीको महाधिवेशनबारे निर्णय लिन सभापतिलाई भनेको पौडेलले बताए। सभापति देउवाले भने निर्धारित मितिमा अधिवेशन हुन नसक्दा प्रदेश अधिवेशनका लागि तय मितिसमेत संशोधन गर्ने तयारी गरेका छन् ।उनीनिकट एक नेताका अनुसार प्रदेश अधिवेशन मंसिर पहिलो साता गर्नेगरी तयारी भइरहेको छ ।

    Sher Bdr Deuba 1

    ‘प्रदेश अधिवेशन अब कात्तिकमा गर्न सक्ने अवस्था छैन, मंसिरसम्म सार्ने विषयमा सभापतिले सल्लाह गर्दै हुनुहुन्छ, यसो हुँदा मंसिर पहिलो साता प्रदेश अधिवेशन हुन्छ, केन्द्रको समेत केही दिन पर सर्छ,’ सभापति देउवानिकट ती नेताले भने । कांग्रेसको केन्द्रीय निर्वाचन समितिका संयोजक महादेवप्रसाद यादवले समेत प्रदेश र केन्द्रको पूर्वनिर्धारित मिति हेरफेर गर्दै १४औं महाधिवेशनको कार्यतालिका फेरि संशोधन गर्ने तयारी भएको बताउँदै आइरहेका छन् । यादवले १३ जिल्लामा अझै पनि वडा अधिवेशन सुरु नभएकाले प्रदेश अधिवेशन र मंसिरका लागि तोकिएको महाधिवेशन केही दिन सर्ने अवस्था सिर्जना भएको बताएका हुन् । कांग्रेसले १३ जिल्लामा वडा अधिवेशन गर्न नसकेपछि ती जिल्लामा त्यसपछिका तहका अधिवेशन हुन सकेको छैन ।

    पछिल्लोपटक निर्धारित कार्यतालिकाअनुसार कांग्रेसको वडा अधिवेशन १८ भदौ, गाउँरनगर अधिवेशन २७ भदौ, प्रदेशसभा क्षेत्रीय अधिवेशन १ असोज, प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन र एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन ५ असोजमा हुने उल्लेख थियो । यसैगरी, एकभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन १० असोज, प्रदेश अधिवेशन १० कात्तिकदेखि १२ गतेसम्म र केन्द्रीय महाधिवेशन आगामी ९ देखि १३ मंसिरसम्म काठमाडौंमा हुने उल्लेख छ । यीमध्ये धेरैजसो तालिका प्रभावित भइसकेको छ ।

    हालसम्म कांग्रेसले ६४ जिल्लामा मात्रै वडा अधिवेशनसम्म सम्पन्न गरेको छ । धेरैजसो जिल्लामा वडा र पालिका अधिवेशनपछिका अधिवेशन सम्पन्न हुन सकेका छैनन् । निर्वाचन समितिले केही हिमाली जिल्लामा भने जिल्ला अधिवेशनसमेत सकाएको छ । कांग्रेसले २१ हिमाली जिल्लामा भने कार्यतालिकालाई नसघाएर भए पनि जिल्ला अधिवेशन सुरु गरेको थियो । वडा अधिवेशन गर्न बाँकी १३ जिल्लामा दसैंपछि मात्रै अधिवेशन गर्ने भनिए पनि अधिवेशनको मिति अनिश्चित छ । प्रदेश २ का आठ जिल्ला तथा सुर्खेत, डोल्पा, रसुवा, बाँके र कैलालीमा वडा अधिवेशन बाँकी छ । कांग्रेसले अझै रसुवा, रौतहट र बारा जिल्लाको क्रियाशील सदस्यताको नामावली सार्वजनिक गरेको छैन ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images