images
images
  • एमालेले भन्यो : नेकपा एसलाई बोलाइएको सर्वदलीय बैठकमा आउँदैनौँ

    काठमाडौँ — प्रधानमन्त्री शेरबहादुर देउवाले सर्वदलीय बैठकमा एमाले सहभागी नहुने भएको छ । नेकपा एकीकृत समाजवादी पार्टीलाई समेत बोलाइएको भन्दै एमाले बैठकमा सहभागी नहुने एक शीर्ष नेताले जानकारी दिए ।

    प्रधानमन्त्रीलाई आफूहरु बैठकमा सहभागी नहुने जानकारी गराइसकेको पनि ती नेताले बताए । ‘प्रधानमन्त्रीले बोलाएको सर्वदलीय बैठकमा नेकपा एकीकृत समाजवादीलाई पनि निम्ता छ । त्यो पार्टीलाई जालझेल र असंवैधानिक तवरले विभाजन गरियो भनेर एमाले सर्वोच्च अदालतमा गएको छ । संसद्‍मा पनि १४ जनालाई प्रवेशमा रोक लगाउ भन्दै नारा लगाएकाले प्रावधिक रूपमा पनि एमाले प्रधानमन्त्रीले बोलाएको बैठकमा जान मिल्दैन,’ ती नेताले भने ।

    प्रधानमन्त्री देउवाले संसद्‍मा जारी अवरोध खुलाउने विषयमा छलफल गर्न बिहीबार बिहान १० बजे सर्वदलीय बैठक बोलाएका छन् । प्रधानमन्त्रीमा नियुक्त भएपछि देउवाले पहिलो पटक सर्वदलीय बैठक बोलाएका हुन् ।

    संसद्‌मा प्रतिनिधित्व गर्ने पाँच दलहरु नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चा सत्ता गठबन्धनमै छन् । बैठकमा त्यसबाहेक संसद्‌को प्रमुख प्रतिपक्षी नेकपा एमाले, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), नेकपा मजदुर किसान पार्टी (नेमकिपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लाई बोलाइएको छ ।

    नेकपा एमालेका १४ जना सांसदहरुलाई पदबाट बर्खास्त गर्नुपर्ने माग गर्दै एमालेले गत २३ भदौबाट संघीय संसद्‌का बैठकहरुमा निरन्तर अवरोध पुर्‍याउँदै आएको छ । तर, माधवकुमार नेपालसहित ती सांसदहरुले नेकपा एकीकृत समाजवादी पार्टी नै खोलिसकेका छन् ।

    १४ जना सांसदमाथि कारबाही हुनुपर्ने मागसहित एमालेले सर्वोच्च अदालतमा समेत मुद्दा हालेको छ । त्यस्तै यही विषयलाई लिएर उसले निरन्तर संसद्‍ अवरुद्ध पनि गरिरहेको छ ।यसअघि संसद्‌को गतिरोध खुलाउनकै लागि सभामुख अग्निप्रसाद सापकोटाले पनि भदौमा सर्वदलीय बैठक बोलाएका थिए ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images