images
images
  • इटहरीमा पूरा भयो महिला राष्ट्रिय क्रिकेट टोलीको प्रशिक्षण, मलेसिया जाने

    काठमाडौं – सुनसरी आईसीसी महिला ट्वान्टी–२० विश्वकप २०२२ का लागि एसिया क्षेत्रको छनोट खेल्ने प्रारम्भिक नेपाली महिला क्रिकेट टोलीले आफ्नो अन्तिम चरणको प्रशिक्षण सम्पन्न गरेको छ । सुनसरी जिल्ला क्रिकेट संघको व्यवस्थापनमा इटहरीको क्षेत्रीय रङ्गशालाको इन्डोर हल र डिभियम स्कुलको खेल मैदानमा ७ असोजदेखि सुरु भएर आज (बुधबार) सम्पन्न भएको हो ।

    महिला राष्टिय टिमका मुख्य प्रशिक्षक जगत टमटाले छनोट खेलका लागि पहिलो पटक नेपाल क्रिकेट संघ (क्यान)ले नेपाली महिला खेलाडीलाई सानो सानो समूहमा प्रशिक्षण सुरु गरेको जानकारी दिए । पहिलो पटक क्यानले पहिलो चरणमा देशका प्रमुख तीन स्थानमा खेलाडीलाई प्रशिक्षणमा राख्ने योजनाअनुसार भदौ अन्तिम साता काठमाडौं र कञ्चनपुरको महेन्द्रनगरमा प्रशिक्षण सम्पन्न गरेको थियो ।

    प्रशिक्षण सकिएकाले तिनै ठाउँको प्रशिक्षणलाई आधार मानेर मलेसियामा हुने खेलको लागि अन्तिम १४ सदस्यीय खेलाडी छनोट गरिने प्रशिक्षक टमटाले बताए । यसअघि क्यानले एक महिनाअघि नै एसिया क्षेत्रको छनोट खेल्ने प्रारम्भिक नेपाली महिला क्रिकेट टोलीको नाम सार्वजनिक गरिसकेको छ । प्रशिक्षणपश्चात विदाई कार्यक्रममा बोल्दै कप्तान रुविना क्षेत्रीले धेरै स्थानमा सिकेको ज्ञानलाई जितको मैदानमा उतार्ने बताइन् । उनले सानो ठाउँमा भए पनि प्रभावकारी प्रशिक्षण भएको बताइन् ।

    महिला टी २० विश्वकपको एसिया छनोट २३-२८ नोभेम्बरमा मलेसियामा हुँदैछ । जसमा नेपालसहित भुटान, चीन, कुवेत, मलेसिया, म्यानमार, यूएई र हङकङ खेल्नेछन् । एसिया छनोटको विजेताले पाँच क्षेत्रबीच हुने ग्लोबल छनोटमा प्रतिस्पर्धा गर्नेछ । ग्लोबल छनोटबाट शीर्ष दुई टोलीले ट्वान्टी–२० विश्वकपमा स्थान बनाउने छन् । प्रशिक्षणमा प्रदेश दुईका ३ जनासहित झापा, मोरंग, र इलामका गरी ११ जना खेलाडी सहभागी थिए ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images