images
images
  • तीन क्लबबाट ए डिभिजन लिग जितेका विराज च्यासलमा आबद्ध, प्राविधिक निर्देशक पनि भित्र्यायो

    काठमाडौं – राष्ट्रिय फुटबल टोलीका पूर्वकप्तान विराज महर्जन ए डिभिजन क्लब च्यासल युथमा आवद्ध भएका छन् । मंगलबार च्यासल युथ क्लबले एक कार्यक्रमबीच महर्जनलाई क्लबमा भित्र्याएको हो ।

    विराजले गत महिना नेपालमा आयोजना भएको थ्री नेसन्स कपबाट अन्तर्राष्ट्रिय फुटबलमा सन्यास लिएका थिए ।घरेलु फुटबलको सहिद स्मारक ए डिभिजन लिगमा विराज पहिलो पटक च्यासलमा आवद्ध भएका हुन् । सम्झौतामा च्यासका अध्यक्ष रमेश ब्यन्जनकार र विराजले सम्झौतापत्रमा हस्ताक्षर गरे ।

    ए डिभिजन यात्रामा विराजको यो पाचौं क्लब हो । यसअघि विराजले न्युरोड टिम एन राटी, थ्री स्टार क्लब, मनाङ मर्स्याङ्दी क्लब र मछिन्द्र क्लबबाट लिग खेलेका छन् । विराजले थ्री स्टार, मनाङ र मछिन्द्रबाट ह्याट्रिकसहित लिग उपाधि हात पारेका थिए ।एन्फा एकेडेमीका विराजले सन् २००८ मा पोखरामा भएको मैत्रीपूर्ण खेलमा पाकिस्तानविरुद्ध खेल्दै राष्ट्रिय टोलीबाट डेब्यू गरेका थिए ।

    राष्ट्रिय टोलीमा ७३ क्याप जितेका विराजले नेपालको लागि बंगबन्धु गोल्डकप, १२औं साग, एएफसी सोलिडारिटी कपको उपाधि हात पारेका छन् । त्यसैले पनि विराजलाई नेपाली फुटबलको सफल कप्तान मानिन्छ ।

    यस्तै च्यासलले प्राविधिक निर्देशकमा स्कटल्याण्डका ली मान्सनलाई भित्र्याएको छ । च्यासललाई आगामी ए डिभिजन लिगमा यू-क्यानले कीट स्पोन्सर गर्ने भएको छ । च्यासल युथ क्लबका अध्यक्ष रमेश ब्यन्जनकारले आगामी दिनमा विदेशी खेलाडी, अन्य खेलाडी र प्रशिक्षकलाई समेत सम्झौता गरेर भित्र्याउने बताए । कार्यक्रममा अखिल नेपाल फुटबल संघ ९एन्फा० अध्यक्ष कर्मा छिरिङ शेर्पाले फुटबल विस्तारमा योजना ल्याएकोमा धन्यवाद दिँदै ए डिभिजन लिगको लागि शुभकामना दिए ।

    यस्तै राइट ब्याक विराजले च्यासलले फुटबल खेल्ने योजना राम्रो ल्याएका कारण क्लबमा आवद्ध भएको बताए । यता, प्राविधिक निर्देशक ली मान्सनले अवसरका लागि क्लबलाई धन्यवाद दिँदै आफ्नो २५ बर्षे अनुभवलाई बढाउदै क्लब फुटबल अर्को स्तरमा लैजान महत्त्वपूर्ण भूमिका खेल्ने बताए । यस्तै उनले काम गर्न उत्साहित रहेको बताए ।

    यसअघि च्यासलले युथ एकेडेमीको लागि पुष्प सदन माध्यमिक विद्यालयसँग सम्झौता गरेको थियो । स्रोतकाअनुसार २९ कात्तिकबाट सुरु हुने ए डिभिजन लिगको लागि च्यासलले मुख्य प्रशिक्षकमा बालगोपाल महर्जनलाई सम्झौता नवीकरण गरेको छ ।

    को हुन् ली मान्सन ?

    स्कटलल्यान्डका ली मान्सन पछिल्लो २५ वर्षदेखि फुटबल प्रशिक्षणमा सक्रिय छन् । उनी पछिल्लो समय लाओस एफसीमा प्राविधिक निर्देशकका रुपमा आबद्ध थिए ।

    उनीसँग फिलिपिन्सको पुरुष यु(२३ र महिला राष्ट्रिय टोली सम्हालिसकेको अनुभव छ । मान्सनले एएफसी च्याम्पियन्स कप खेलिसकेको टोली ग्लोबल एफसीमा ६ वर्ष मुख्य प्रशिक्षक भएर काम गरेका छन् ।

    मान्सनले खेलाडी जीवनमा स्कटल्यान्डको रोटना र क्विन अफ दी साउथबाट खेलेका थिए उनले अमेरिकाको रिचमण्ड किकर्सबाट पनि फुटबल खेलेका छन् ।

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images