काठमाडौं । यातायात व्यवस्था कार्यालय एकान्तकुना ललितपुरमा सोमबार बिहानदेखि नै सेवाग्राहीको लाम लाग्यो । कोरोना महामारीका कारण बन्द कार्यालय खुलेको धेरै समय नभएकाले बढी भीड लाग्दो रहेछ । जहाँ बिचौलियाको यति बिगबिगी रहेछ कि एक सेवाग्राही गाडीबाट झर्नासाथ तानातानमा परे ।
त्यसपछि रिसाएका उनी भन्दै थिए– ‘यहाँ त बचेर जानै मुस्किल रहेछ। पानी बेच्नेले पनि लाइसेन्स बनाइदिन्छ रे १ फलफूल बेच्नेले पनि भित्र कनेक्सन मिलाइ दिन्छ रे १’ कसैले ‘नमस्कार’ भने पनि कर्मचारीले बिचौलियाकै कारण हतपत नफर्काउने रहेछन् । कारण हो– बिचौलियाले त्यही ‘नमस्कार’ लाई सेवाग्राही ‘लुट्ने’ हतियार बनाउँछन् । सवारी चालक अनुमतिपत्र ९लाइसेन्स० सहज रूपमा बनाइदिने भनेर रकम असुली फरार हुन्छन् ।
सोमबार उक्त कार्यालयमा पुग्दा कर्मचारीले यस्तै प्रसंग कोट्याए । ‘नमस्कार फर्कायो भने बिचौलियाहरूले सेवाग्राहीलाई कर्मचारीसँग आफ्नो राम्रो सम्बन्ध रहेको भन्छन् । तब काम हुने विश्वास दिलाएर ठग्ने गरेको पाएका छौं’, प्रशासन शाखा प्रमुख बृहस्पति तामाङले भने, ‘ट्रक, बस, टिपरको लाइसेन्स बनाउन उनीहरूले १ लाख २० हजारसम्म लिएको एक सेवाग्राहीले भनेका थिए ।’ बागमती प्रदेशअन्तर्गतको यो कार्यालय वरिपरि ३ सयजति बिचौलिया हुन सक्ने अनुमान गरिएको छ । दिनहुँ नयाँ–नयाँ बिचौलिया आउँछन्। कतिपय कर्मचारीले झुक्किएर नमस्कार फर्काउँछन् ।
सेवाग्राहीले नै उनीहरूलाई लिएर आउने गरेको दाबी प्रशासन शाखा प्रमुख तामाङले गरे । ‘सेवाग्राहीहरू लाम लागेर टोकन लिन्छन् । छिटो काम गराउन त्यो टोकन बिचौलियालाई दिन्छन् । अनि काम गराउँछन्’, शाखा प्रमुख तामाङले भने, ‘उनीहरूलाई पक्रेर प्रहरीलाई बुझाउँछौं । प्रहरीले कारबाही गर्न उजुरी माग्छन् । सेवाग्राहीले उजुरी दिन मान्दैनन् ।’ उनीहरू २४ घण्टामा फेरि कार्यालयको गेटमा आइपुग्ने गरेको देखिएको उनले सुनाए ।
प्रहरीका अगाडि नै उनीहरू कार्यालयको गेटदेखि भित्रसम्मै सेवाग्राहीलाई फकाइरहेका देखिन्थे । उनीहरू अधिकांश सुनका ब्रासलेट, सिक्री र औंठी लगाएर कार्यालय वरिपरि घुमिरहेका थिए । पानी, चुरोट, सुर्ती, फाराम, बिलबुक कभरलगायत सामान बेच्ने भेषमा पनि बार्गेनिङ गरिरहेका थिए ।
बिहानको ११ः३८ बजेको थियो । कार्यालयको गेटमा प्रहरीहरू तैनाथ थिए । छेउछाउमै केश पालेका, च्यातिएको पाइन्ट लगाएका युवकहरू गेटमा धूमपान गरिरहेका थिए । उनीहरू बिचौलिया रहेछन् । जो सेवाग्राहीको बाटो छेकेर भन्छन्– ‘भित्र नजानुस्, कामै हुँदैन ।’ अरूको आत्मबल कमजोर बनाउन खोज्छन् । त्यसपछि उनीहरूले फन्दामा पार्ने रहेछन् । अन्नपूर्ण पोष्ट दैनिकबाट


विश्व खबर 



















