काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाले १४ औँ महाधिवेशनमा आफू सभापति पदमा उम्मेदवार हुने घोषणा गरेका छन् । आज नेपाली कांग्रेस देवचुली नगरपालिकाको पार्टी कार्यालय उद्घाटन गर्दै महामन्त्री कोइरालाले कुनै पनि हालतमा आफ्नो उम्मेदवारी सभापति पदमा कायम रहने घोषणा गरेका हुन् ।
“गिरिजा बाबुले जसरी बिराटनगर गएर आफ्नो उम्मेदवारी घोषणा गरेका थिए । मैले पनि मेरो गृह जिल्ला नवलपुर आएर आज सभापति पदको लागि उम्मेदवारी घोषणा गर्दछु”, महामन्त्री डा कोइरालाले भने, “सकेसम्म सहमतिमा नेतृत्व चयन गर्नुपर्छ भन्ने मेरो धारणा हो । तर, सहमति हुन नसके निर्वाचनबाटै भए पनि नेतृत्व चयन गरेर अगाडि बढ्नु लोकतान्त्रिक पद्धति हो ।” उनले पार्टीलाई एकढिक्का बनाएर लैजानुको विकल्प नभएकोमा जोड दिए ।
देवचुली नगरपालिकाको दलदले बजारमा रहेको बीपी स्मृति भवनमा नेपाली कांग्रेस देवचुली नगरपालिकाले पार्टी कार्यालय स्थापना गरेको हो । सो कार्यक्रममा नवलपरासी (बर्दघाट–सुस्तापूर्व) क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्यसमेत रहेका उनले आगामी सङ्घीय निर्वाचनमा पनि नवलपुरबाटै निर्वाचन लड्ने घोषणा गरे । यसअघिका तीन पटकका निर्वाचनमा यहाँका जनताले आफूलाई जिताएको प्रसङ्ग उल्लेख गर्दै डा कोइरालाले आगामी निर्वाचनमा नवलपुरवासीले जिताउनेमा आफू विश्वस्त रहेको बताए ।
“नवलपुरको विकासका लागि मैले सारेका तीन वटा कुरामध्ये बीपी अन्तर्राष्ट्रिय खेल मैदान र ट्रमा सेन्टरको काम अघि बढिसकेको छ”, डा कोइरालाले भने, “नारायणी नदीमा वैकल्पिक मार्गका लागि काम अगाडि बढाउँदैछु, त्यसले चाँडै नै मूर्तरूप लिनेछ ।”






















