काठमाडौं । नेकपा एमालेका उपमहासचिव तथा पूर्वअर्थमन्त्री विष्णु पौडेलले माधवकुमार नेपाललाई ‘सर्पको काँचुली’ को संज्ञा दिएका छन्। प्रेस चौतारी नेपाल रुपन्देहीले बुधबार बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो संज्ञा दिएका हुन् । उनले एमाले विभाजन नभएको बताउँदै सर्पले काँचुली फेरेको जस्तै मात्रै भएको बताउँदै पौडेलले यसले एमालेलाई कुनै असर नपर्ने बताए।
‘हाम्रो आन्दोलनमा जुन खालको प्रवृत्ति देखिएको छ, त्यो पात्रलाई पार्टीले काँचुली छोडे जस्तै गरि छाडेको मात्रै हो,’ उनले भने। उनले माधव नेपालको पार्टीलाई पानीको फोका जस्तै भएको बताएका छन्।
उनले नेकपा एकिकृत समाजवादीलाई कथित पार्टी भएको भन्दै माधव नेपाललले दाजुभाइसँग रिस उठेर आमामाथि बन्चरो प्रहार गरेको आरोप लगाए। उनले माधव नेपाललाई एक्लै चुनाव लडे जमानतसमेत जोगाउन नसक्ने चुनौति दिएका छन्।
पार्टीभित्र कुन्ठा र स्वार्थका निम्ति अध्यक्षमाथि प्रहार गरिएको उनको भनाइ रहेको थियो ।
आगामी निर्वाचनमा एमाले फेरी ठूलो शक्ति दाबी गर्दै उनले पार्टी नेतृत्वविरुद्ध अनाधिकृत रुपमा हस्ताक्षर गर्ने इतिहासमै नभएको लज्जाजनक काम भएको बताए। अदालतले शक्ति पृथकीकरणको सिद्धान्तलाई समेत आत्मसाथ नगरेको बताउँदै संसदको सर्वोच्चतालाई कुल्चेको पौडेलले बताए।
उनले माधव नेपालले पार्टीभित्र अराजकता र अनाधिकृत काम गरेको बताए। सरकारले अध्यादेश ल्याएर एमाले विभाजन गरेको बताउँदै पौडेलले प्रधानमन्त्री शेरबहादुर देउवालाई संसदबाट अध्यादेश पारित गरेर देखाउन चुनौति दिए।


विश्व खबर 




















