दार्चुला। व्यास गाउँपालिका १ छाङ्गरुदेखि भारतले अतिक्रमण गरेको कालापानी भूमि पुग्ने गरी घोरेटो बाटो निर्माण सुरु भएको छ । सुदूरपश्चिम प्रदेश सरकारको व्यास विशेष कार्यक्रमअन्र्तगत घोरेटो बाटो निर्माण भइरहेको हो ।
व्यासको छाङ्गरुबाट कालापानी जाने बाटो ठाउँ ठाउँमा पहिरो गएर भत्किएपछि अहिले प्रदेशको विशेष कार्यक्रमअन्तर्गत निर्माण भइरहेको हो । यसअघि सो क्षेत्रमा पञ्चायतकालमा घोरेटो बाटो निर्माण गरिएको थियो । पञ्चायतकालयता मर्मत हुन नसकेको बाटो अहिले आएर प्रदेश विशेष योजनाअन्तर्गत निर्माण भइरहेको छ ।
प्रदेश सरकारको रु ३० लाखमा छाङ्गरुदेखि कालापानी जोड्ने बाटो निर्माण तथा बाटो मर्मतको काम भइरहेको वडा नं १ का वडाध्यक्ष अशोकसिंह बोहराले बताए । छाङ्गरुदेखि कालापानीसम्म झण्डै १४ किलोमिटर बाटो पर्दछ । उनले भने, “यो क्षेत्रमा पञ्चायतकालमा छाङ्गरुको स्थानीय कालापानी भएर तिब्बत व्यापारमा जाने बाटो हो । त्यो बेला यो क्षेत्रमा फराकिलो र घोरेटो बाटो थियो । भत्किएका केही ठाउँमा नयाँ बनाइएको उहाँले जानकारी दिए ।
विगतमा स्थानीयवासीले आवतजावत गर्दै आएको यो बाटो पछिल्लो समय भारतले कालापानीमा आफ्नो सेना राखेपछि स्थानीयलाई आवतजावतमा रोक लगाएको छ । तीन वर्ष अघिसम्म स्थानीयले सहज रुपमा कालापानी क्षेत्रसम्म पूजा गरेर आउँथे । नेपालले आफ्नो भूमि भएको दाबी गर्दै नक्सा प्रकाशन गरेपछि भारतले झन् नेपालको भूमि मिचेर अगाडि बढेको उनको भनाइ छ ।
“हाम्रा बुबा बाजेहरू चीनको तिब्बत जाने, घोडा खच्चड लिएर हिँड्ने पुर्ख्यौली बाटो यही हो”, व्यास १ का विमल बोहराले भन्नुभयो, “ठाउँ ठाउँमा अहिले पनि खच्चड बस्ने पडाउहरु छन् । भत्किएका घरहरु अहिले पनि देखिन्छन् । अहिले भारतले माथिल्लो कौवाभन्दा माथि जान रोक लगाएको छ ।”
निर्माणाधीन बाटोको जनप्रतिनिधि र सशस्त्र प्रहरीको संयुक्त टोलीले अनुगमन गरेको छ । वडाध्यक्ष बोहरा तथा छाङगरुस्थित ५० नम्बर गुल्मका सशस्त्र प्रहरीका डिएसपी धीरेन्द्र शाह नेतृत्वको सशस्त्र टोली टोलीले केही समयअघि घोरेटो बाटोको अनुगमन गरेको छ ।
सुदूरपश्चिम प्रदेश सरकारले व्यासमा विशेष कार्यक्रम सञ्चालन गरेको छ । भारतले लिपुलेक सडकको उद्घाटनपश्चात् त्यस क्षेत्रमा भ्रमणमा पुगेका सुदूरपश्चिम प्रदेशका मुख्य मन्त्री त्रिलोचन भट्टले व्यास क्षेत्रका लागि प्रदेश सरकारले विशेष प्याकेज ल्याउने घोषणा गरेको थियो ।
हिउँ पग्लिएपछि गस्ती बढाउँदै सशस्त्र प्रहरी
व्यासमा हिउँ पग्लिएपछि सशस्त्र प्रहरीले गस्ती बढाउन थालेको छ । सशस्त्र प्रहरी बल नेपाल नम्बर ५० गुल्मले व्यास क्षेत्रमा गस्ती बढाएको हो । नम्बर ५० गुल्म प्रमुख शाहको नेतृत्वमा यसै साता माथिल्लो कौवा र कालापानी क्षेत्र वरपर गस्ती गरिएको छ ।
नेपालको सशस्त्र प्रहरीले कौवा, कालापानी क्षेत्रमा गस्ती गर्न थालेको हो । सशस्त्र प्रहरी छाङ्गरुको गागामा छ । गागाबाट कालापानीसम्म पुग्न १४ किलोमिटर दूरी पर्दछ । कालापानीभन्दा ३०० मिटर नजिकै गस्ती गर्ने गरेका छौँ, व्यासमा कार्यरत एक सुरक्षाकर्मीले भने ।
गागामा रहेको सशस्त्रको गुल्मबाट सातामा एक वा दुई पटक गुञ्जी, कौवा र कालापानी क्षेत्रमा तथा चीनसँग सीमा जोडिएको पिल्लर नं.१ स्थित तिंकर क्षेत्रसम्म सशस्त्र प्रहरी र नेपाल प्रहरीले गस्ती गर्ने गरेका छन् ।
सरकारले अतिक्रमित क्षेत्र समेट्दै नक्सा जारी गरेपछि त्यस क्षेत्रमा नेपाली सुरक्षा संयन्त्रको उपस्थिति रहेको हो । छाङ्गरुमा गुल्म बनाएर बसेको सशस्त्रको टोलीले हिउँ पग्लिएपछि केही साताअघिदेखि भारत र चीनसँग जोडिएको नेपाली भूभागमा गस्ती सुरु गरेको हो । यो वर्ष सशस्त्र प्रहरी र नेपाल प्रहरी बाह्रै महिना व्यासको छाङ्गरुमा बसेको थियो ।
प्रतिक्रिया दिनुहोस्