images
images
  • दार्चुला हिमपहिरोमा मृत्यु भएकाहरुको शव ल्याउन भारतीय सडकको प्रयोग, बेपत्ताको खोजी जारी

    दार्चुला- मंगलबार दिउँसो दार्चुलाको व्याँस गाउँपालिका-१ को भोलुम डाँडामा गएको हिमपहिरोमा परेर ज्यान गुमाएका सबैको सनाखत भएको छ ।

    भोलुम डाँडाको भिरमा अड्किएको अवस्थामा बुधबार शव निकालिएका तीनै जनाको शव भारतीय सडक प्रयोग गरी सदरमुकाम खलङ्गा ल्याइँदै छ । नेपालतर्फ सडक सुविधा नहुँदा शव भारतीय सडक प्रयोग गरी ल्याउन लागिएको हो ।

    भीरमा अड्किएको अवस्थामा निकालिएको शव दार्चुलाको दुहुँ गाउँपालिका–४ की ३८ वर्षीया कमला कुँवर, १८ वर्षीय प्रविण कुँवर र डोटीको जोरायल गाउँपालिकाको बुडर बस्ने ४५ वर्षीय क्षिमी सोमो थापाको भएको सशस्त्र प्रहरी बल नेपाल, नम्बर ५० गुल्म छाङरुका प्रहरी नायव उपरीक्षक ईश्वरीदत्त भट्टले जानकारी दिए । कमला र प्रविण आमा छोरा हुन् ।

    ‘पानी निरन्तर परिरहेको छ, शव आफ्नै भूमि प्रयोग गरे खलङ्गा पठाउन सकिने अवस्था छैन’, उनले भने । भारतीय सीमा सुरक्षा बल (एसएसबी) सित समन्वय गरी शव पठाउन लागिएको डिएसपी भट्टले बताए । ‘भारतीय सुरक्षाकर्मीले हाम्रो आग्रह मान्नुभएको छ, शव पठाउन यातायातको साधनको व्यवस्था गर्न जुटेका छौँ’, उनले भने । सो कार्यका लागि दुहुँ गाउँपालिकाका जनप्रतिनिधिसित समेत आवश्यक समन्वय गरिरहेको उनको भनाइ छ ।

    हिमपहिरोमा परी अझै दुई जना बेपत्ता छन् । बेपत्ता हुनेमा डोटीको जोरायलकी ४५ वर्षीया नक्नी डोल्मा थापा र सोही ठाउँकी २८ वर्षीया ईश्वरी थापा रहेका छन् । ‘वर्षा र हिमपात भइरहेको छ, हामी मौसम सफा हुने प्रतीक्षामा छौँ’, डिएसपी भट्टले भने–’झण्डै फाँच फिट जति हिउँ परेको छ, बेपत्ताको खोजी गर्न समस्या भएको छ ।’ सशस्त्र प्रहरी बलको टोलीले मङ्गलबारदेखि बेपत्ताको खोजी गर्दै आएको छ । खोजी कार्यमा हिमपात र वर्षा बाधक बनेको छ ।

    मंगलबार हिमपहिरो गएपछि यार्सागुम्बा टिप्न गएका ५ जना बसिरहेको टेन्टसहित बेपत्ता भएका थिए भने ७ जनाले भागेर ज्यान जोगाएका थिए ।

    दाउरा खोज्न गएका सङ्कलकको भने ज्यान जोगिएको थियो । उनीहरू सबैलाई सशस्त्र प्रहरीले सुरक्षित स्थानमा लगेको थियो । हाल सो क्षेत्रमा यार्सागुम्बा सङ्कलकलाई जानबाट सशस्त्र प्रहरीले रोक लगाएको छ । सो क्षेत्रमा दार्चुला र अन्य जिल्लाबाट सयौँ सर्वसाधारण यार्सागुम्बा सङ्कलनका लागि गएका थिए । जेठ अन्तिम सातासम्म बर्सेनी यार्सागुम्बा सङ्कलन गरिन्छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images