images
images
  • निमित्त प्रमुख प्रशासकीय अधिकृतसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

    दार्चुला- दार्चुलाको शैल्यशिखर नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्रबहादुर विष्ट, इन्जिनियर, निर्माण उपभोक्ता समितिका अध्यक्षसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ।

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगले झुट्टा बिल भर्पाइ तथा कार्यसम्पन्न प्रतिवेदन स्वीकृत गरी बढी भुक्तानी दिएको कसुरमा विष्टविरुद्ध २६ लाख दुई हजार पाँच सय ५६ रुपैयाँ बिगो कायम गरी विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।

    यस्तै, इन्जिनियर सन्तोष पाण्डेयले पनेबाज–बन्तोली–बगौरा सडक खन्ने कार्यमा अस्वाभाविक रूपमा बढी मूल्यांकन गरी भुक्तानी दिएको कसुरमा उनीविरुद्ध ११ लाख ३० हजार दुई सय ७२ रुपैयाँ बिगो कायम गरी मुद्दा दायर भएको आयोगले जनाएको छ।

    आयोगका अनुसार तत्कालीन इन्जिनियर राजेन्द्रसिंह धामीले पनि सोही सडक खन्ने कार्यमा अस्वाभाविक रूपमा बढी मूल्यांकन गरी नापी किताबमा चढाई भुक्तानी दिई भ्रष्टाचार गरेको कसुरमा उनीविरुद्ध १४ लाख ७२ हजार दुई सय ८३ रुपैयाँ बिगो दाबी गरिएको छ।

    नगरपालिकाका सबइन्जिनियर दीपकसिंह विष्टविरुद्ध पनि उक्त कसुरमा २६ लाख दुई हजार पाँच सय बिगो कायम गरी मुद्दा दायर भएको छ।

    पनेबाज–बन्तोली–बगौरा सडक निर्माण उपभोक्ता समितिका अध्यक्ष जनकराज जोशी, सचिव धनञ्जय जोशी तथा कोषाध्यक्ष जानकी बडू जोशीविरुद्ध वास्तविक तथ्य बंग्याई अस्वाभाविक रूपमा बढी मूल्यांकन गर्न लगाई भ्रष्टाचार गरेको कसुरमा २६ लाख दुई हजार पाँच सय ५६ बिगो कायम गरी अदालतमा मुद्दा दायर भएको आयोगले जनाएको छ।

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images