images
images
  • साउदी अरेबिया र हुथीबीच आक्रमण तीव्र, जाजानको तेल प्रशोधन केन्द्रमा नेपालीको मृत्यु

    काठमाडौं – रियाद, इरान समर्थित यमनको विद्रोही समूह हुथी र साउदी अरेबियाबिच रणनीतिक महत्वका पूर्वाधारलाई लक्षित गर्दै आक्रमण तीव्र बनेको छ । दुवै पक्षले तेल पूर्वाधार र बन्दरगाहलगायतका महत्त्वपूर्ण स्थानमा आक्रमण गर्न थालेपछि दुई पक्षबिचको द्वन्द्व चर्किएको छ ।

    साउदी अरेबियाको ऊर्जा मन्त्रालयका अनुसार बिहीबार दक्षिण पश्चिमी जाजान क्षेत्रमा रहेको तेल प्रशोधन केन्द्रमा एउटा क्षेप्यास्त्र प्रहार हुँदा एक नेपाली कामदारको मृत्यु भएको छ भने अन्य केही घाइते भएका छन् । आक्रमणपछि प्रशोधन केन्द्रमा आगलागी भएको थियो । मन्त्रालयका अनुसार घटनाका कारण केन्द्रका केही सञ्चालन गतिविधि अस्थायी रूपमा बन्द गर्नुपरेको थियो ।
    हुथीहरूले साउदी अरेबियाको सबैभन्दा ठुलो तेल प्रशोधन केन्द्र रास तनुरालाई निशाना बनाएको दाबी गरेको एक दिनपछि जाजानमा आक्रमण भएको हो ।

    बुधवार खिचिएको भूउपग्रह तस्बिरमा तटीय प्रायद्वीपबाट ठुलो मात्रामा कालो धुवाँको मुस्लो उठिरहेको देखिएको थियो । हुथीको नियन्त्रणमा रहेको सशस्त्र सेनाले साउदी अरेबियाको पूर्वी प्रान्तमा रहेको रास तनुरामा गरिएको आक्रमणबाट आगलागी भएको जनाएको छ । उक्त क्षेत्र विश्वकै सबैभन्दा ठुलो कच्चा तेल निर्यात केन्द्रमध्ये एकको हिस्सा हो । एक ढुवानी स्रोतले बिहीबार सीएनएनलाई बताएअनुसार आक्रमणपछि उक्त केन्द्रबाट तेल लोड गर्ने काम रोकिएको थियो । यद्यपि, त्यो प्रक्रिया पुनः सुरु भएको छ वा छैन भन्ने स्पष्ट भइसकेको छैन ।

    साउदी नेतृत्वको गठबन्धन सेनाले रास तनुरामाथि आएका चार वटा ड्रोनलाई बिचमै रोकेर नष्ट गरेको जनाएको छ। ड्रोनका अवशेष खसे पनि कुनै मानवीय क्षति नभएको गठबन्धनको भनाइ छ । रास तनुरा तेल प्रशोधन केन्द्रको दैनिक प्रशोधन क्षमता पाँच लाख ५० हजार ब्यारेल रहेको छ । अमेरिका–इरान युद्ध सुरु हुनुअघि त्यहाँ साउदी अरेबियाको मुख्य कच्चा तेल निर्यात केन्द्र रहेको विशाल औद्योगिक परिसरको हिस्सा थियो ।

    साउदी सरकारको स्वामित्वमा रहेको तेल कम्पनी आराम्कोले सीएनएनको टिप्पणीका लागि गरिएको अनुरोधमा तत्काल प्रतिक्रिया दिएको छैन । हुथीहरूले बुधवार रियादस्थित किङ अब्दुल्लाह इकोनोमिक सिटीमा पनि आक्रमण गरेको जिम्मेवारी लिएका छन् । साउदी अधिकारीहरूका अनुसार उक्त आक्रमणमा ११ जना घाइते भएका थिए ।

    एक प्रत्यक्षदर्शीले सीएनएनलाई बताएअनुसार आक्रमणको निशाना बनेको गगनचुम्बी भवनभित्र साउदी अरेबियाको एक ट्रिलियन डलरको सार्वभौम सम्पत्ति कोष ९पब्लिक इन्भेस्टमेन्ट फन्ड० को मुख्यालय रहेको छ । साउदी नेतृत्वको गठबन्धन सेनाले बुधवार जारी गरेको अर्को विज्ञप्तिमा उक्त आक्रमण हुथीको ड्रोनबाट गरिएको जनाएको छ । साथै, उसले यसको ‘कडा जवाफ’ दिने चेतावनी दिएको छ ।

    यमनमा साउदी नेतृत्वको गठबन्धनको जवाफी आक्रमण

    यसैबिच साउदी नेतृत्वको गठबन्धन सेनाले यमनका हुथी नियन्त्रित क्षेत्रमा आक्रमण तीव्र बनाएको छ । बिहीबार गठबन्धन सेनाले हुथीका सैन्य क्षमतामाथि ‘लक्षित सैन्य कारबाही’ सञ्चालन गरेको जनाएको छ । सेनाका अनुसार राजधानी साना, होदेदाह र सादा प्रान्तका ५० वटा लक्ष्य ध्वस्त पारिएका छन्। ती सबै वैध सैन्य लक्ष्य रहेको गठबन्धनको दाबी छ ।

    त्यसको एक दिनअघि गठबन्धन सेनाले हुथीको नियन्त्रणमा रहेको होदेदाह बन्दरगाहका ‘सैन्य सञ्चालन क्षमता’ लाई निशाना बनाएको र सादा तथा अमरान प्रान्तका विभिन्न लक्ष्य ध्वस्त पारेको जनाएको थियो । यता हुथी नियन्त्रित सशस्त्र सेनाले पछिल्लो २४ घण्टामा साउदी युद्धका विमान र क्षेप्यास्त्रहरूले यमनका विभिन्न क्षेत्रमा १०९ पटक आक्रमण गरेको दाबी गरेको छ । ती आक्रमण राजधानी साना र होदेदाहमा समेत भएका थिए ।

    साना स्थित हुथी नियन्त्रित स्वास्थ्य मन्त्रालयले बिहीबार दिएको जानकारीअनुसार पछिल्लो ४८ घण्टामा साउदी आक्रमणबाट यमनका विभिन्न क्षेत्रमा कम्तीमा १९ जना सर्वसाधारणको मृत्यु भएको छ भने अन्य २५ जना घाइते भएका छन् । सीएनएनले आक्रमण र हताहतीसम्बन्धी दुवै पक्षका दाबी स्वतन्त्र रूपमा पुष्टि गर्न सकेको छैन । पछिल्ला केही सातादेखि हुथीहरूले साउदी अरेबियाका पूर्वाधारलाई लगातार निशाना बनाउँदै आएका छन् । तीमध्ये रियादको वित्तीय क्षेत्र पनि परेको छ ।

    गत महिना रियादको अन्तर्राष्ट्रिय विमानस्थलमा समेत पटक पटक आक्रमण भएको थियो । ती आक्रमणमा एक दर्जनभन्दा बढी मानिसको मृत्यु भएको थियो । दुई देशबिच आक्रमण तीव्र भइरहेका बेला साउदी युवराज मोहम्मद बिन सलमानले इरान युद्ध सुरु भएयता पहिलो पटक अमेरिका भ्रमण गर्ने तयारी गरिरहेका छन् ।

    योजनाबारे जानकारी राख्ने एक स्रोतका अनुसार उनी आगामी महिना अमेरिकाको फ्लोरिडास्थित मियामीमा आयोजना हुने जी–२० शिखर सम्मेलनमा सहभागी हुने अपेक्षा गरिएको छ । यद्यपि, साउदी अधिकारीहरूले उनको सहभागिताबारे सार्वजनिक रूपमा पुष्टि गरेका छैनन् । हुथीका क्षेप्यास्त्र र ड्रोन आक्रमणको सामना गरिरहेको साउदी अरेबियाले आफ्नो प्रतिरक्षा क्षमता बलियो बनाउन अमेरिकाको सहयोग खोजिरहेको छ । प्रस्तावित भ्रमणले युद्ध सुरु भएयता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र युवराज मोहम्मद बिन सलमानबिच पहिलो प्रत्यक्ष भेटघाटको अवसर सिर्जना गर्नेछ ।

    सन् २०२२ को युद्ध विरामपछि पुनः चर्कियो द्वन्द्व

    संयुक्त राष्ट्र सङ्घको मध्यस्थतामा सन् २०२२ मा युद्ध विराम भएपछि केही वर्षसम्म शान्त रहेको हुथी विद्रोही समूह र साउदी नेतृत्वको गठबन्धनबिचको लडाइँ गत जुलाईमा पुनः सुरु भएको थियो । सेप्टेम्बरमा हुथी समूहले रणनीतिक रूपमा महत्त्वपूर्ण बाब अल–मन्देब जलडमरू मध्यतर्फ आफ्नो सैन्य उपस्थिति विस्तार गरेपछि पछिल्ला महिनाहरूमा झडप थप तीव्र बनेको छ । बाब अल–मन्देब जलडमरूमध्य महत्त्वपूर्ण अन्तर्राष्ट्रिय समुद्री व्यापार मार्ग हो। हुथीहरूको उक्त गतिविधिले इरान युद्धमा अर्को नयाँ मोर्चा खुल्न सक्ने खतरा बढाएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images