काठमाडौं – हिउँद सुरु भइसक्दा पनि निर्माणाधीन तमोर करिडोर सडकअन्तर्गत पाँचथरको हेंवाखोलामा डाइभर्सन निर्माणको प्रयास हुन सकेको छैन । डाइभर्सन नबन्दा दुई तथा तीनपाङ्ग्रे र साना चारपाङ्ग्रे सवारीसाधन सञ्चालनमा आउन सकेका छैनन् । खोलामा पानीको बहाव घटेसँगै तमोर करिडोरको फिदिम–मुलघाट खण्ड नियमित सञ्चालनमा आइसकेको छ। तर फिदिम–काबेली खण्डमा डाइभर्सन नहुँदा ठूला सवारीसाधन मात्रै सञ्चालन भइरहेका छन् ।
फिदिम नगरपालिका–४ र हिलिहाङ गाउँपालिका–७ को सीमामा पर्ने हेंवाखोलामा हिउँदमा पनि पानीको बहाव पर्याप्त रहेकाले साना सवारीसाधन पार गर्न नसक्ने अवस्था रहेको हिलिहाङ–७ माझीटारका स्थानीय रामकुमार माझीले बताए । उहाँका अनुसार तमोर करिडोरको उक्त खण्ड निर्माण गरिरहेको एपेक्स निर्माण कम्पनीले तिहारपछि विगतमा डाइभर्सन रहेको स्थानमा ठूला सवारीसाधन पार गर्न सक्ने संरचना बनाएको छ। तर साना सवारीसाधनका लागि आवश्यक डाइभर्सन निर्माण हुन सकेको छैन ।
डाइभर्सन नहुँदा तमोर करिडोर सडकले समेट्ने पाँचथरको हिलिहाङ गाउँपालिकाका बासिन्दा बढी प्रभावित भएका छन् । सदरमुकाम फिदिम आवतजावत गर्न दोब्बरभन्दा बढी दूरी घुमेर यात्रा गर्नुपर्ने बाध्यता रहेको स्थानीय वीरेन्द्र मङ्ग्रातीले बताए । “डाइभर्सन नहुँदा सदरमुकाम आवतजावत गर्न दोब्बर बढी दूरी यात्रा गर्नुपर्ने बाध्यता छ । तमोर करिडोर सडक आयोजना र निर्माण कम्पनीले हेलचेक्र्याइँ गर्दा हामीले दुःख पाइरहेका छौँ”, हिलिहाङ गाउँपालिका–५ का मङ्ग्रातीले भने, “यस विषयलाई सम्बन्धित निकायले गम्भीरताका साथ लिनुपर्छ।”
फिदिम–४ माझीटारका व्यवसायी रमेश तामाङले निर्माण कम्पनी र सरकारी निकायले सामान्य कामसमेत नगरिदिँदा यात्रुले लामो र घुमाउरो बाटो प्रयोग गर्नुपरेको बताए । उनका अनुसार यातायात अवरोधका कारण माझीटार क्षेत्रको व्यापार व्यवसायसमेत प्रभावित भएको छ । गत चैतदेखि निरन्तर वर्षा भएकाले यस वर्ष डाइभर्सन टिक्न नसकेको तामाङले बताउनुभयो। “एकातिर घुमाउरो बाटो हिँड्नुपरेको छ, अर्कातिर माझीटार क्षेत्रको व्यापार व्यवसाय चौपट भएको छ”, उनले भने ।
हेंवाखोलामा विगतमा पनि डाइभर्सन मर्मत तथा पुनर्निर्माण गरेर यातायात सञ्चालन गर्ने गरिएको थियो । तर यस वर्ष यातायात अवरुद्ध भएको आठ महिना बितिसक्दा पनि डाइभर्सन निर्माण हुन सकेको छैन । स्थानीयवासीले फिदिम नगरपालिका र हिलिहाङ गाउँपालिकाले समन्वय गरेर तत्काल काम अघि बढाउन माग गरेका छन् । निर्माणाधीन तमोर करिडोर सडकअन्तर्गत हेंवाखोलामा पुल निर्माण हुन बाँकी छ । यहाँ रहेको बेलिब्रिज र खोलाकिनारको सडक २०८० साल असारमा आएको बाढीले बगाएपछि डाइभर्सनमार्फत यातायात सञ्चालन गरिँदै आएको थियो । विगतमा नियमित रूपमा डाइभर्सन मर्मत तथा पुनर्निर्माण हुँदै आए पनि यस वर्ष निर्माण कम्पनीले चासो नदिएको र पुल निर्माणमा समेत प्रगति नभएको भन्दै स्थानीयवासी आक्रोशित बनेका छन् ।






















