काठमाडौं – किभ, युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले अमेरिकाप्रति गहिरो असन्तुष्टि व्यक्त गरेका छन् । उनले अत्यावश्यक क्षेप्यास्त्र प्रतिरोधी प्रणाली (एन्टी–ब्यालिस्टिक मिसाइल) आपूर्तिमा भइरहेको ढिलाइका कारण युक्रेनी नागरिकको ज्यान गइरहेको बताएका छन् । साथै, शान्ति वार्ताका क्रममा अमेरिकाले रुसमाथि पर्याप्त दबाब नदिएको भन्दै उनले असन्तुष्टि जनाएका छन् । मध्य किभस्थित आफ्नो कार्यालयमा भएको अन्तर्वार्तामा युक्रेनी राष्ट्रपतिले डोनाल्ड ट्रम्पले भ्लाडिमिर पुटिनलाई अँगालो हालेको तस्बिर सार्वजनिक गर्दै उनलाई ‘मेरो मित्र’ भनेको विषयलाई पनि ‘अनौठो’ बताएका छन् ।
अङ्ग्रेजीमा कुराकानी गर्दै जेलेन्स्कीले भने, ‘निश्चय पनि यो अमेरिकी राष्ट्रपतिको निर्णयको कुरा हो । तर।।। यो अनौठो छ ।’ उनले थपे, ‘उनी आक्रमणकारी र हत्यारा हुन् । उनी मित्र हुन सक्दैनन्। हुँदै सक्दैनन् ।’ उनले दोस्रो विश्वयुद्धका बेला एडोल्फ हिट्लरसँग मित्रता रहेको भन्नु जस्तै भएको सङ्केत गरे । सन् २०२५ मा ह्वाइट हाउसको ओभल अफिसमा ट्रम्पसँग तनावपूर्ण भेट भएपछि जेलेन्स्कीले अमेरिकासँगको सम्बन्धलाई निकै सावधानीपूर्वक अघि बढाउँदै आएका छन् ।
रुस र युक्रेनबिचको युद्ध अन्त्य गरी ठुलो सङ्ख्यामा भइरहेको मानवीय क्षति रोक्न ट्रम्पका दुई विशेष दूतले शान्ति सम्झौता गराउने प्रयास गरिरहेका छन्। तर उनीहरूका धारणा किभको तुलनामा मस्कोको अडानसँग बढी मिलेको देखिने गरेको छ । यसै महिनाको सुरुवातमा अबुधाबीमा मध्यस्थतामा भएको पछिल्लो चरणको शान्ति वार्ताले कुनै उल्लेखनीय प्रगति गर्न सकेन। जेलेन्स्कीले त्यसको वर्णन गर्दै भने, ‘जति धेरै कुरा थाहा पाउँदै जान्छौँ, त्यति नै धेरै समस्या देखिन्छन् ।’उनका अनुसार वार्ता डिसेम्बरमा पुनः सुरु हुने अपेक्षा गरिएको छ ।
बिहीबार डोनाल्ड ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोसलमा चीनमा गत साता पुटिनसँग भएको शिखर बैठकमा आफूले रुसलाई ‘युरोपभरिका विभिन्न भूभागमा भइरहेको सम्पूर्ण सैन्य आक्रमण रोक्न’ आग्रह गरेको बताएका थिए। उनले युक्रेनसँग शान्ति सम्झौता हुने सम्भावना बलियो रहेको विश्वाससमेत व्यक्त गरेका थिए । रुसका सार्वजनिक अभिव्यक्तिहरू हेर्दा उसले वार्ताका सबै विषयमा सुरुवाती कठोर अडानमै फर्किएको देखिन्छ ।
अमेरिकी विशेष दूतहरूले घोषणा गरेअनुसार युरोपेली वार्ताकारहरू पनि छलफलमा सहभागी हुने हुन् वा होइनन् भन्ने स्पष्ट नभएको जेलेन्स्कीले खुलासा गरेका छन् । क्रेमलिनले भने युरोपेली सहभागिताको विरोध गरिरहेको देखिन्छ । रुसको पूर्ण स्तरको आक्रमण सुरु भएको पाँच वर्ष पुग्न लाग्दा त्यसबाट थकित युक्रेनका लागि युद्ध अन्त्य गर्न शान्ति वार्तालाई अगाडि बढाउनु अत्यन्त आवश्यक छ ।
युक्रेनभरि रुसले गर्ने आक्रमणको आवृत्ति र घातकता बढ्दै गएको छ। पछिल्लो समय रुसी आक्रमणमा मारिने सर्वसाधारणको सङ्ख्या अहिलेसम्मकै उच्च पुगेको छ ।
त्यसैले जेलेन्स्कीले रुसलाई दबाब दिएर परिणाम हासिल गर्न सक्ने ‘वास्तविक र सहयोगी मित्र राष्ट्रहरू’ आवश्यक रहेको बताएका छन्। उनले अमेरिकालाई शक्तिशाली राष्ट्रका रूपमा रहेको आफ्नो प्रतिष्ठा, शक्ति र सम्मानअनुसार व्यवहार गर्न पनि आग्रह गरेका छन् ।
उनले भने, ‘जब तपाईँ आक्रमणकारीप्रति अत्यन्तै तटस्थ बन्न खोज्नुहुन्छ।।। त्यसको अर्थ तपाईँ पीडितलाई पनि समर्थन गर्दै हुनुहुन्छ र आक्रमणकारीलाई पनि समर्थन गर्दै हुनुहुन्छ । यो सही होइन ।’ अमेरिकाले भने रुस र युक्रेनबिच टिकाउ शान्ति सम्झौता गराउने जटिल प्रयासमा आफू तटस्थ रहेको बताउँदै आएको छ ।्
यसैबिच किभ आफ्नो आकाशको रक्षा गर्न सङ्घर्षरत छ । दिनरात जारी रहने हवाई आक्रमणको चेतावनी अहिले युक्रेनीहरूको दैनिक जीवनको थकाइलाग्दो हिस्सा बनेको छ । रुसी ब्यालिस्टिक क्षेप्यास्त्रहरूले विद्युत् केन्द्र र पुलहरूलाई निशाना बनाइरहेका छन् भने जेट इन्जिनयुक्त ड्रोनहरू दैनिक रूपमा किभसहित अन्य ठुला सहरमा प्रहार भइरहेका छन् । यसको जवाफमा युक्रेनले पनि रुसभित्रका विभिन्न लक्ष्यमा सयौँ ड्रोन प्रहार गर्दै आएको छ ।
जेलेन्स्कीका अनुसार युक्रेनी सेनाले अहिले रुसका सबैभन्दा तीव्र गतिका ड्रोनमध्ये करिब ७० प्रतिशतलाई नष्ट गर्न सक्ने क्षमता विकास गरेको छ। यो क्षमता अझै सुधार हुँदै गएको उनले बताए । तर ब्यालिस्टिक क्षेप्यास्त्र रोक्न प्रयोग गरिने इन्टरसेप्टर मिसाइलको अभाव भने ‘अत्यन्तै ठुलो’ रहेको उनले बताए । अमेरिकाले प्याट्रियट हवाई रक्षा प्रणालीका क्षेप्यास्त्र आपूर्तिमा ढिलाइ गरिरहेको उनको भनाइ छ ।
जेलेन्स्कीले भने, ‘अमेरिकाले मध्यपूर्वलाई प्राथमिकता दिएर त्यहाँ बढी सहयोग गरिरहेको देख्दा दुःख लाग्छ । यो दुःखद कुरा हो। यस विषयमा हाम्रा धेरै गम्भीर प्रश्नहरू छन् ।’ उनले थपे, ‘यी क्षेप्यास्त्रको अभाव भनेको मानिसहरूको जीवनको अभाव हो।’
उनले अमेरिकी भूउपग्रह सञ्चार प्रणाली स्टार लिङ्क र यसको सैन्य संस्करण स्टारसिल्डको सेवा युक्रेनका रुसको कब्जामा रहेका क्षेत्रमा अझै प्रतिबन्धित रहेको पनि पुष्टि गरे ।
युक्रेनी ड्रोन सञ्चालन गर्ने सैन्य टोलीहरूले आफ्ना समस्या सुनाएका छन्। उनीहरूका अनुसार इन्टरसेप्टर ड्रोनले अब रुसी शाहेद ड्रोनलाई पछ्याएर भेट्टाउन सकिरहेका छैनन्। यसको परिणामस्वरूप रुसी ड्रोनहरू कुनै अवरोधबिना युक्रेनको भित्री भूभागसम्म पुगिरहेका छन् ।
यो निर्णय कसले गरेको हो त ?
जेलेन्स्कीले जवाफ दिए, ‘प्राविधिक रूपमा स्पेसएक्सले गरेको हो, राजनीतिक रूपमा कसले गरेको हो मलाई थाहा छैन । साँच्चै मलाई थाहा छैन। यो पिङपङ खेलजस्तै भएको छ। हामी एउटा पक्षलाई सोध्छौँ, उसले अर्कोलाई देखाउँछ।’ कठिन हिउँदको सामना गर्ने तयारी पछिल्ला केही सातामा युक्रेनले रुसभित्रका लक्ष्यमा लामो दूरीका आक्रमण बढाएको छ। ती आक्रमणमा तेल प्रशोधन केन्द्र तथा हतियार र इन्धन बोकेका पानीजहाजसमेत निशानामा परेका छन् ।
बिहीबार इटालीकी प्रधानमन्त्री जर्जिया मेलोनीले यसै साता पूर्वी लिबियामा बन्दरगाहमा राखिएको रुसी युद्ध पोत डुबाउने आक्रमणले भूमध्य सागर क्षेत्रमा पनि युद्ध फैलिने जोखिम बढाएको बताइन्। उनले यस्तो अवस्था अस्वीकार्य रहेको उल्लेख गरिन् । जेलेन्स्कीले उक्त आक्रमणको बचाउ गर्दै रुसी युद्ध पोत ‘मेर्कुरी’ लाई ‘पूर्ण रूपमा उचित सैन्य लक्ष्य’ भएको बताए । यस्ता आक्रमण ‘अत्यन्तै खतरनाक’ हुने स्वीकार गर्दै उनले युक्रेनी सेनाले आफ्ना साझेदारहरूसँग समन्वय नगरी कहिल्यै आक्रमण नगर्ने दाबी गरे ।
यद्यपि, उनले यसबारे थप विवरण दिन अस्वीकार गरे । युक्रेनले कठिन र खतरनाक हिउँदको सामना गर्नुपर्ने अवस्था रहेको उनले स्वीकार गरे । किभमा हालै भएका रुसी आक्रमणमा विशाल नीपर नदीमाथिका पुलहरूलाई निशाना बनाइएको छ । यसको उद्देश्य सहरलाई दुई भागमा विभाजन गर्नु रहेको देखिन्छ ।
विद्युत् कटौती र ढुवानी तथा आपूर्ति सञ्जालमाथिका आक्रमणका कारण सञ्चालन खर्च अत्यधिक बढेपछि केही बासिन्दाले हिउँदका लागि सहर छाडिसकेका छन् भने केही व्यवसाय बन्द भएका छन् । यी आक्रमणले सहरका धेरैजसो क्षेत्रलाई अन्धकारमा समेत धकेलेका छन् । जेलेन्स्कीले भने, ‘रुस हामीलाई भाग्न बाध्य पार्न चाहन्छ, निश्चय पनि ।’ उनले थपे, ‘मानिसहरू बाहिर जान सक्छन्, तर हामी हाम्रो राजधानीको कुनै पनि हालतमा रक्षा गर्ने प्रयास गर्नेछौँ । हामीलाई हाम्रो राजधानी चाहिन्छ। राजधानीबिना देश नै हुँदैन ।’






















