काठमाडौं- जरुसेलम जिल्ला अदालतले आफूविरुद्ध लागेको एक अभियोग निराधार पुष्टि गरेपछि इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले आवेगपूर्ण भाषण दिए । उनको विरुद्धमा एक दशकदेखि लगातार लागेको विभिन्न आरोपको उनले विभिन्न किसिमले सामना गरिरहेका छन् ।
‘आज सबै कुराको छिनोफानो भएको छ । मेरा विरुद्धमा लगातार १० वर्ष गतिविधि भएको छ’, उनले टेलिभिजनमा बोल्दै आफूविरुद्ध लागेका सबै आरोपको अन्त्य आवश्यक भएको ठहर गर्दै आगामी दिनमा आफ्नो इमानदारीमा शङ्का नगर्नका लागि समेत सबैलाई अपिल गरे ।
जिल्ला अदालतले नेतान्याहुविरुद्ध लागेका ३ अभियोगका बारे फैसला सुनाएको थियो । अदालतले एक मुद्दामा उनलाई निर्दोष साबित गरेको थियो । एकमा हल्का सम्भावना रहेको ठहर गर्दै थप विषय अघि बढाउन आवश्यक रहेको बताए । घुस लेनदेनको विषयमा उनी विरुद्धमा लागेको अर्को मुद्दाका बारे छिनोफानो हुन बाँकी छ ।
उनले यस सुनुवाइका कारण आफ्नो परिवारका धेरै कुरा क्षतविक्षत भएको बताए । उनले यसै सुनुवाइको कारण आफ्नो छोरा मानसिक तनावमा रहेको समेत बताए । उनले आफ्नो परिवारका धेरै जनाको जीवनमा मानसिक यातनासमेत दिइएको बताए ।
सन् २०१९ देखि २०२२ सम्म लगातार दोहोरिएको निर्वाचनले आफूलाई मानसिक यातना दिएको पनि उनले बताए ।
नेतान्याहुले बुधबार यसअघि नेसेटमा आपराधिक अभियोग लागेका सांसदलाई सरकार गठन गर्नबाट रोक लगाउने विधेयक अघि बढाइएको विषय पनि उल्लेख गरे । सो विधेयक पारित भएर न्यायिक परीक्षणमा समेत कायम रहेमा नेतान्याहु अर्को कार्यकालका लागि प्रधानमन्त्री बन्नबाट वञ्चित हुनेछन् ।
उनले भने, ‘ठीक यही दिन नेसेटको पूर्ण बैठकमा एउटा आश्चर्यजनक घटना भयो । ठीक यही दिन, जब राजनीतिक विरोधीहरूले यी मनगढन्ते मुद्दाहरू अन्ततः कमजोर हुँदै गएको देखे, उनीहरू प्रधानमन्त्री पदका उम्मेदवारलाई अयोग्य ठहर गर्न सक्ने विधेयक हतारहतार पारित गर्ने प्रक्रियामा लागे । जनताले चुनेको उम्मेदवारलाई महान्यायाधिवक्ताले उनीविरुद्ध अभियोग दर्ता गर्ने निर्णय गरेकै आधारमा अयोग्य ठहर गर्न सकिने व्यवस्था गर्न उनीहरू अघि सरे ।’

न्यायालयको सवालमा भएको यो निर्णयले नेतान्याहुलाई राहत दिए पनि निर्वाचनले भने उनलाई धक्का दिएको छ । निर्वाचन परिणामले नेतान्याहु सत्ताच्युत हुने लगभग प्रस्ट भइसकेको छ । नेतान्याहुको शासनकालमा अन्य धेरै कुराको टुङ्गो लाग्न बाँकी नै छ ।
इजरायलको राजनीतिबाट केही कुरा तय भएको छ । मूल कुरा नेतान्याहुको पुरानो सहयात्री तथा पछिल्लो समयमा विपक्षी गादी आइसेनकोट इजरायलको सत्ताको करिब निकट पुगेका छन् । गादी आइसेनकोटको कार्यकालमा प्यालेस्टाइनमा हुने नरसंहारको अन्त्य हुने या नहुने भन्ने अनिश्चित नै छ ।
अहिले सबैभन्दा चासोको विषय इजरायलले गाजामा नरसंहार गरेको हो या होइन भन्ने नै हो । अन्तर्राष्ट्रिय अपराध अदालतले नेतान्याहुको विरुद्धमा वारेन्ट नै जारी गरेको छ । यस मुद्दाको अझ सबै सुनुवाइ भने सकिएको छैन । यस वारेन्टकै अब के हुने भन्ने चासो छ ।
सन् २०२५ अक्टोबरमा भएको अल्पकालीन युद्धविरामपछि ९३३ प्यालेस्टानीको मृत्यु हुनुका साथै २ हजार ८६८ जना घाइते भएको एवम् ७८१ शरीर रिकभर भएको जनाइन्छ । सन् २०२३ को अक्टोबरयता करिब ७४ हजार प्यालेस्टानीको मृत्यु भएको जनाइएको छ । १७३ हजार घाइते भएको जनाइएको छ ।
गएको अक्टोबर २७ मा भएको निर्वाचनमा अरब समर्थित दलहरूले १९ स्थानमा सफलता पाए । यतिमात्र होइन, इजरायलमा इतिहासमा पहिलो पटक अरब मूलका व्यक्ति उपसभामुख समेत चुनिएका छन् ।

इजरायलको आन्तरिक राजनीतिले मात्र होइन, अमेरिकामा भएको मध्यावधि निर्वाचनले पनि इजरायलमा जारी नरसंहार कायम रहने हो या होइन भन्ने प्रश्न उब्जेको छ । सो निर्वाचनमा डेमोक्रेटले ऐतिहासिक सफलता हात पारेका थिए । खासगरी अमेरिकाको मध्यावधि निर्वाचनमा दुई फरक घटनाले असर गरेको थियो । इरानमा अमेरिकाले गरेको आक्रमणका कारण देशको आर्थिक अवस्था बिग्रिएको एवम् जनजीवनमा कठिनाइ आएको भन्ने गुनासो धेरैको थियो ।
यसका बाबजुद अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमा भएको हमलाका बारे निर्वाचनमा आफ्नो दलले भोगेको पराजयपछि कुनै प्रतिक्रिया दिएका छैनन् । पक्कै पनि जनवरीमा नयाँ सासदहरु संसद् भवन प्रवेश गरेपछि ट्रम्पका लागि नयाँ ऐन ल्याउन सकस हुनेछ । अन्तर्राष्ट्रिय रूपमा हतियार र सैन्य सहयोग गर्न पनि ट्रम्पले धेरै बाधाको सामना गर्नु पर्नेछ ।
यसका बाबजुद नेतान्याहुले ट्रम्पलाई इरानमा आक्रमण गर्न र गाजामा आफूहरूले गरेको आक्रमणमा सहयोग गर्न उक्साइरहेका छन् । यसको मूल कारण अझै पनि नेतान्याहु आफ्नो देश युद्धमा रहोस् भन्ने चाहन्न । यसले उनलाई आफ्नो कार्यकाल टार्न केही सहयोग हुनेछ ।
फेब्रुअरी २८ का दिन अमेरिका र इजरायल मिलेर इरानमा आक्रमण गरेका थिए । किङ्स कलेज लन्डनमा आन्तरिक सुरक्षाको अध्ययन गरिरहेका रब गिस्ट पिनफोल्डले अमेरिकालाई नेतान्याहुले उक्साउनुको कारण खुलाएका छन् ।
विपक्षी नेताहरूकै लागि नयाँ सरकार गठन गर्न डिसेम्बर ६ सम्मको समय छ । यस समयमा अबिगडेर लिबरम्यानसहितले आइसेनकोटलाई समर्थन गर्ने बताइसकेका छन् । इरानमा युद्ध भएमा यसै युद्धलाई हेर्ने दृष्टिकोणमा मतभेद हुनसक्छ । यसकारण आफूविरुद्धको गठबन्धनमा मतभेद हुने झिनो आशा नेतान्याहुलाई छ ।
यस गम्भीर घडीमा इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहु साँच्चै अलमलमा छन् । उनी अप्ठेरोमा पनि छन् । तथापि उनी अन्तिमसम्म अनेक बहानामा रहेका छन् । युद्ध पनि उनको लागि नयाँ बहाना हुन सक्छ ।
-इजरायल टाइमस, अल जजिरा र एएडटकमलगायतको सहयोगमा


मनोज घिमिरे 



















