images
images
  • प्यालेस्टिनी झन्डा देखाएपछि बेसिक्टासका समर्थक र जर्जियाली प्रहरीबिच झडप

    काठमाडौं – इस्तानबुल, इजरायलको हापोएल बेर शेभासँगको युरोपा लिग फुटबल खेलका क्रममा प्यालेस्टिनी झन्डा प्रदर्शन गरेपछि टर्कीको क्लब बेसिक्टासका समर्थक र जर्जियाली प्रहरीबिच झडप भएको छ । जर्जियाको बातुमीमा बिहीबार भएको खेलको २६औँ मिनेटमा झडप भएपछि करिब ३० मिनेट खेल रोकिएको थियो । अवरोधपछि खेल पुनः सुरु भएको थियो । अन्ततः बेसिक्टासले खेल २–१ ले जित्यो ।

    टर्कीका सञ्चारमाध्यमका अनुसार जर्जियाली प्रहरी दर्शक दीर्घामा प्रवेश गरी इस्तानबुलको चर्चित क्लब बेसिक्टासका समर्थकमाथि खुर्सानीको स्प्रे (पेपर स्प्रे) प्रयोग गरेको थियो । त्यसपछि डेनमार्कका रेफ्री मोर्टेन क्रोगले खेल रोकेका थिए । खेल रोकिँदा दुवै टोलीले गोल गर्न सकेका थिएनन् ।

    टर्कीका अधिकारीहरूले सुरक्षा तथा सुरक्षासम्बन्धी कारण देखाउँदै इस्तानबुलमा खेल आयोजना गर्न नसकिने बताएपछि युरोपेली फुटबल महासङ्घ (यूईएफए) ले खेललाई बातुमीमा सारेको थियो । हापोएलको यसअघिका दुई अवे खेलमा दर्शकलाई प्रवेश दिइएको थिएन। तर यस खेलमा भने दर्शकलाई रङ्गशालामा प्रवेश गर्न अनुमति दिइएको थियो । बेसिक्टासले खेलअघि र खेलका क्रममा आफ्ना समर्थकमाथि जर्जियाली प्रहरीले ‘आवश्यकताभन्दा बढी बल प्रयोग’ गरेको आरोप लगाएको छ ।

    टर्कीको क्लबले विज्ञप्तिमा भनेको छ, ‘हामी हाम्रा समर्थकमाथि सुरक्षाकर्मीले गरेको अ समानुपातिक बल प्रयोगको कडा निन्दा गर्छौँ । यस घटनाबाट प्रभावित भएका सबै समर्थकको शीघ्र स्वास्थ्य लाभको कामना पनि गर्दछौँ ।’ टर्की फुटबल महासङ्घले पनि बेसिक्टासका समर्थकमाथि गरिएको व्यवहारको कडा निन्दा गरेको छ । महासङ्घले सामाजिक सञ्जाल एक्समा विज्ञप्ति जारी गर्दै समर्थकहरूमाथि अस्वीकार्य व्यवहार र विभेद गरिएको जनाएको छ ।

    महासङ्घले घटनाबारे छानबिन गराउन पहल गर्ने पनि बताएको छ । टर्कीका अन्य सुपर लिग क्लबहरू ट्राब्जोनस्पोर, फेनरबाचे, गालातासारे, एर्जुरुमस्पोर, बासाकसेहिर र साम्सुनस्पोरले पनि बेसिक्टासका समर्थकमाथि बल प्रयोग गरिएको घटनाको निन्दा गरेका छन् ।

    टर्कीको सरकारी समाचार संस्था अनादोलु एजेन्सीका अनुसार खेल सुरु हुनुअघि बेसिक्टासका खेलाडीहरूले हापोएलका खेलाडीसँग हात मिलाउन अस्वीकार गरेका थिए । खेलपछि बेसिक्टासले एक्समा सार्वजनिक गरेको एउटा भिडियोमा क्लबका खेलाडीहरू प्यालेस्टिनी समर्थकहरूले बोकेको ब्यानरको पछाडि तस्बिर खिचाइरहेको देखिन्छ । ब्यानरमा लेखिएको थियो, ‘कब्जाविरुद्ध उठौँ। प्यालेस्टाइनलाई स्वतन्त्रता देऊ ।’

    कूटनीतिक विवाद

    खेलपछि टर्कीका गृहमन्त्री मुस्तफा चिफ्चीले घटनाबारे टर्कीको चासो व्यक्त गर्न आफ्ना जर्जियाली समकक्षीसँग कुराकानी गरेका छन् । टर्कीको गृह मन्त्रालयका अनुसार चिफ्चीले टर्कीका समर्थकमाथि भएको अ समानुपातिक बल प्रयोगप्रति चिन्ता व्यक्त गर्दै उनीहरू सुरक्षित रूपमा टर्की फर्कन सक्ने व्यवस्था मिलाउन आग्रह गरेका थिए । जर्जियाका गृहमन्त्री सुल्खान तामाजाश्भिलीले भने यूईएफएका अधिकारीहरूले समर्थकहरूबाट प्यालेस्टिनी झन्डा जफत गरेको बताएका छन् । उनका अनुसार झन्डा जफत गर्ने कार्यमा जर्जियाली सरकारी अधिकारीहरूको कुनै संलग्नता थिएन ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images