images
images
  • एन्जेलिना जोली र ब्राड पिटले टुंग्याए फ्रान्सेली वाइनरीसम्बन्धी कानुनी लडाइँ

    काठमाडौं– हलिउडका चर्चित कलाकार ब्राड पिट र एन्जेलिना जोलीले फ्रान्सस्थित आफ्नो वाइनरीको स्वामित्व हिस्सेदारी बिक्रीसम्बन्धी लामो समयदेखि चल्दै आएको कानुनी विवाद टुंग्याएका छन्। जोलीले वाइनरीमा रहेको आफ्नो हिस्सा बिक्री गरेपछि सुरु भएको विवाद दुवै पक्षबीच सहमतिमा अन्त्य भएको हो।

    ‘हामीले आफ्नो परिवारको हितलाई ध्यानमा राख्दै अदालतबाहिरै विवाद समाधान गरेका छौँ। यसबारे थप टिप्पणी गर्ने छैनौँ’, दुवै कलाकारका प्रतिनिधिले संयुक्त विज्ञप्ति जारी गर्दै भनेका छन्।

    पिट र जोलीले सन् २००८ मा फ्रान्सस्थित शातो मिराभल वाइनरीको बहुमत स्वामित्व खरिद गरेका थिए। त्यसको ६ वर्षपछि सन् २०१४ मा उनीहरूले त्यही स्थानमा विवाह गरेका थिए।

    कानुनी मुद्दामा पिटले आफ्नो अनुमति नलिई जोलीले वाइनरीको हिस्सेदारी रुसी अर्बपतिसँग सम्बन्धित कम्पनीलाई बिक्री गरेको आरोप लगाएका थिए। त्यसको जवाफमा जोलीले पनि पिटविरुद्ध प्रतिमुद्दा दायर गरेकी थिइन्। उनले सन् २०१६ मा फ्रान्सबाट लस एन्जलस फर्किने क्रममा निजी विमानभित्र पिटले आफू र आफ्ना छोराछोरीमाथि दुर्व्यवहार तथा कुटपिट गरेको आरोप लगाएकी थिइन्। उक्त घटनापछि उनले सम्बन्धविच्छेदका लागि निवेदन दिएकी थिइन्।

    बुधबार घोषणा गरिएको सहमतिले दुवै पक्षका छुट्टाछुट्टै कानुनी मुद्दा टुंग्याएको छ।

    दुवै कलाकारका प्रतिनिधिले जारी गरेको संयुक्त विज्ञप्तिमा सञ्चारमाध्यममा विभिन्न स्रोतको हवाला दिँदै प्रकाशित टिप्पणीहरू आफूहरू वा आफूहरूसँग निकट व्यक्तिबाट आएका नभएको पनि उल्लेख गरिएको छ।

    पिटले दायर गरेको मुद्दामा जोलीले वाइनरीको आफ्नो हिस्सा बिक्री गरेर आफूलाई क्षति पुर्‍याउन खोजेको आरोप लगाइएको थियो। पिटका अनुसार उक्त बिक्रीका कारण आफूले ‘विषाक्त सम्बन्ध र उद्देश्य भएको अपरिचित साझेदार’ सँग व्यवसाय गर्नुपर्ने अवस्था आएको थियो।

    ‘फाइट क्लब’ का अभिनेतासमेत रहेका पिटले आफू र जोलीबीच एकअर्काको अनुमति नलिई वाइनरीमा रहेको आफ्नो हिस्सेदारी बिक्री नगर्ने सहमति भएको दाबी गरेका थिए।

    जोलीले भने पिटको जानकारी र सहमतिविना नै आफ्नो हिस्सा लक्जेम्बर्गमा आधारित मदिरा उत्पादक कम्पनीलाई बिक्री गरेको आरोप लगाइएको थियो। उक्त कम्पनी रुसी अर्बपति युरी शेफलरको नियन्त्रणमा रहेको बताइएको छ।

    पिटविरुद्धको प्रतिमुद्दामा जोलीले सन् २०१६ मा निजी विमानको यात्राका क्रममा पिटले आफ्नो टाउको समातेर आक्रमण गरेको र दुई सन्तानमाथि समेत दुर्व्यवहार गरेको आरोप लगाएकी थिइन्।

    फ्रान्सबाट लस एन्जलस जाने क्रममा पिटले आफू र परिवारका सदस्यलाई मौखिक दुर्व्यवहार गर्नुका साथै उनीहरूमाथि मदिरा खन्याएको जोलीको मुद्दामा उल्लेख थियो।

    जोलीका वकिलहरूका अनुसार विमानभित्र पिटले आफ्ना ६ सन्तानप्रति आफू ‘अत्यधिक नरम’ भएको भन्दै चिच्याउन थालेका थिए। त्यतिबेला उनीहरूका छोराछोरीको उमेर आठदेखि १५ वर्षसम्म थियो।

    उक्त घटनाबारे प्रहरीले अनुसन्धान गरे पनि पिटमाथि कुनै आपराधिक अभियोग दर्ता भएको थिएन। उनले आफूमाथि लगाइएका आरोप अस्वीकार गर्दै आएका थिए।

    यसअघि उनीहरूले आठ वर्ष लामो कानुनी प्रक्रियापछि गत वर्ष सम्बन्धविच्छेदको सहमतिमा पुगेका थिए। यद्यपि रुसी अर्बपति शेफलरको स्वामित्वमा रहेको मदिरा कम्पनी स्टोली ग्रुपसँग पिटको छुट्टै कानुनी विवाद भने अझै जारी रहेको बताइएको छ।

    सन् २०१४ मा विवाह गर्दा पिट र जोली हलिउडका सबैभन्दा चर्चित र महँगा कलाकारमध्ये पर्थे। उनीहरूको भेट सन् २००५ मा रिलिज भएको चलचित्र ‘मिस्टर एन्ड मिसेस स्मिथ’ को छायांकनका क्रममा भएको थियो। त्यसपछि सञ्चारमाध्यमले उनीहरूलाई ‘ब्रान्जेलिना’ नामले सम्बोधन गर्न थालेका थिए।

    पिटको यो दोस्रो विवाह थियो। यसअघि उनको ‘फ्रेन्ड्स’ टेलिभिजन शृंखलाकी अभिनेत्री जेनिफर एनिस्टनसँग सम्बन्ध थियो। जोलीको भने यसअघि अभिनेता बिली बब थोर्नटन र जोनी ली मिलरसँग विवाह भइसकेको थियो।

    जोलीले सन् २००२ मा कम्बोडियाबाट म्याडक्स नामका पहिलो सन्तानलाई धर्मपुत्रका रूपमा ग्रहण गरेकी थिइन्। पिट र जोलीबीच सम्बन्ध सुरु भएपछि पिटले पनि उनलाई कानुनी रूपमा धर्मपुत्रका रूपमा स्वीकार गरेका थिए।

    सन् २००५ मा उनीहरूले इथियोपियाबाट जहारा नामकी छोरीलाई धर्मपुत्रीका रूपमा ग्रहण गरेका थिए। त्यसको एक वर्षपछि सन् २००६ मा उनीहरूको पहिलो जैविक सन्तान शिलोहको जन्म नामिबियामा भएको थियो।

    त्यस्तै सन् २००७ मा भियतनामबाट तीन वर्षका प्याक्सलाई धर्मपुत्रका रूपमा ग्रहण गरेका थिए। सन् २००८ मा उनीहरूका जुम्ल्याहा सन्तान नक्स र भिभियनको जन्म भएको थियो।

    सम्बन्धविच्छेदपछि उनीहरूका ६ मध्ये चार सन्तानले अदालतमा पेस गरिएका कागजातअनुसार आफ्नो थर ‘जोली-पिट’ बाट परिवर्तन गरी ‘जोली’ राखेका छन्।

    -एजेन्सी

    प्रतिक्रिया दिनुहोस्
    images
    images