काठमाडौं – उडान स्टुडियोको प्रस्तुतिमा निर्माण भएको पहिलो चलचित्र ‘आशा’ आगामी फागुन १४ गतेदेखि देशभरका हलमा प्रदर्शन हुने भएको छ । निर्माण पक्षले चलचित्रको विषयगत पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा गरेको हो ।
सार्वजनिक पोस्टरमा चलचित्रका मुख्य कलाकार महेश त्रिपाठी, अञ्जना बराइली र आशान्त शर्मा देखिएका छन् । पारिवारिक कथावस्तुमा आधारित चलचित्रको पोस्टरले कथाबारे दर्शकमाझ कौतूहल सिर्जना गरेको छ ।
रोयल भीमसेनले तयार पारेको पोस्टरमा एउटा घर देखाइएको छ । घरभित्र अभिनेता शुशांक मैनालीको तस्बिरमा माला लगाइएको छ भने आशान्त शर्मा पण्डितको भूमिकामा देखिएका छन् । महेश त्रिपाठी किरियामा बसेको अवस्थामा छन् । अभिनेत्री अञ्जना बराइली भने घरको ढोकाबाट चिहाइरहेकी देखिन्छिन् ।
पोस्टरले परिवारभित्रको कुनै घटनाक्रम र त्यसले सिर्जना गर्ने परिस्थितिको सङ्केत गरे पनि चलचित्रको कथावस्तुबारे निर्माण पक्षले विस्तृत जानकारी सार्वजनिक गरेको छैन ।
चलचित्रकी निर्मात्री शर्मिला थापाले कथाको विषयवस्तुअनुसार नै पोस्टर तयार पारिएको बताइन्। उनका अनुसार चलचित्र पूर्णरूपमा पारिवारिक कथामा आधारित छ । परिवारसँगै बसेर हेर्न र त्यसबाट प्राप्त सन्देशबारे मनन गर्न सकिने गरी चलचित्र निर्माण गरिएको उनले बताइन् ।
राजिव गुरुङको कथा तथा निर्देशनमा तयार भएको चलचित्रमा शुशांक मैनाली, महेश त्रिपाठी, अञ्जना बराइली, सुशील सिटौला, आशान्त शर्मा, केनिपा सिंह, कविता रेग्मीलगायतको अभिनय छ । बालकलाकार चिराग श्रेष्ठ र काश्वी भण्डारी पनि चलचित्रमा देखिनेछन् । चलचित्रको छायाङ्कन काठमाडौं उपत्यकासहित नमोबुद्ध र धुलिखेल आसपासका क्षेत्रमा गरिएको हो। चलचित्रलाई रीच इन्टरटेन्मेन्टले वितरण गर्नेछ ।
चलचित्रमा सुदाम सिकेले स्क्रिप्ट सुपरभाइजर तथा कास्टिङ निर्देशकको जिम्मेवारी सम्हालेका छन् । नरेन्द्र मैनाली छायाकार, युग भुसाल र एसडी योगी सङ्गीतकार तथा किशोर आचार्य ध्वनि डिजाइनरका रूपमा रहेका छन् । चलचित्रको सम्पादन लोकेश बज्राचार्यले गरेका छन् भने मेकअप तथा हेयरको जिम्मेवारी सोनाली शिल्पकारले सम्हालेकी छन् ।
त्यस्तै, तारानाथ न्यौपाने मुख्य सहायक निर्देशक, अरुण रेग्मी प्रोडक्सन म्यानेजर र रेलिजा श्रेष्ठ प्रोडक्सन डिजाइनरका रूपमा छन् । चलचित्रको प्रचारप्रसार डिजाइन रोयल भीमसेन (ट्राइडेन्ट कन्सेप्ट) ले तयार पारेका हुन् । वितरणको जिम्मेवारी करण श्रेष्ठले सम्हालेका छन् ।






















