images
images
  • पूर्वआईजीपी दानबहादुरको रिटमा सर्वोच्चलेले दिएन अन्तरिम आदेश

    काठमाडौं– सर्वोच्च अदालतले पूर्वप्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीको रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।

    कार्कीले दायर गरेको रिटमा सुनुवाइ गर्दै सर्वोच्च अदालतका न्यायाधीशद्वय नृपध्वज निरौला र श्रीकान्त पौडेलको इजलासले अन्तरिम आदेश दिन अस्वीकार गरेको हो ।

    न्यायाधीशद्वय निरौला र पौडेलको संयुक्त इजलासले कार्कीको मागबमोजिम अन्तरिम आदेश जारी गर्नुपर्ने अवस्था नदेखिएको ठहर गर्दै प्रहरी संगठनको नेतृत्व र नियन्त्रण प्रणाली (चेन अफ कमान्ड) सँग सम्बन्धित विषयको महत्त्व, गम्भीरता र संवेदनशीलतालाई दृष्टिगत गर्दै रिटको छिटो सुनुवाइ गर्नुपर्ने जनाएको छ ।

    आदेशमा विपक्षीहरूबाट लिखित जवाफ परेपछि वा त्यसका लागि तोकिएको अवधि सकिएपछि सात दिनभित्रै पेसीमा चढाउन र पेसी नहटाउने पूर्वसूचना दुवै पक्षलाई दिन भनिएको छ ।

    आईजीपीबाट हटाएर प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकारमा सरुवा गरिएपछि कार्कीले आईजीपीमा पुनर्बहालीको माग गर्दै सर्वोच्चमा रिट दायर गरेका थिए । उनले आफूलाई पूर्ववत् आईजीपी पदमा पुनर्बहाली गर्न र नयाँ नियुक्ति पाएका मनोजकुमार केसीलाई आईजीपीका रूपमा कामकाज गर्न रोक लगाउन अन्तरिम आदेशसमेत माग गरेका थिए ।

    यसअघि दुई पटकसम्म कार्कीको मुद्दाको पेसी तोकिएको थियो । मंसिर ७ मा सर्वोच्च अदालतका न्यायाधीशद्वय हरि फुयाल र नित्यानन्द पाण्डेयको संयुक्त इजलासमा पेसी परेको थियो ।

    कार्कीलाई सुरक्षा सल्लाहकारमा सरुवा गरिएपछि आईजीपीमा बढुवा गरिएका डा. मनोजकुमार केसीले म्याद बुझेको प्रमाण पेस नभएको भन्दै मंसिर ७ को सुनुवाइ मंसिर ९ लाई पेसीको मिति तोकेर सकिएको थियो ।

    कात्तिक १८ मा बसेको मन्त्रिपरिषद् बैठकले कार्कीलाई आईजीपीबाट हटाएर प्रधानमन्त्रीको सुरक्षा सल्लाहाकारमा सरुवा गरेको थियो । उनको ठाउँमा डा. मनोजकुमार केसीलाई आईजीपी बनाइएको थियो ।

    उक्त रिटको पहिलो सुनुवाइ गर्दै सर्वोच्च अदालतका न्यायाधीश श्रीकान्त पौडेलको इजलासमा कारण देखाउ आदेश जारी गर्दै अन्तरिम आदेशका लागि दुवै पक्षलाई छलफलका लागि बोलाएको थियो ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images