images
images
  • हाम्रो पात्रोको सामाजिक सञ्जाल सर्कलः लाइभ भएको ९६ घण्टामै जोडिए ५ लाखभन्दा धेरै प्रयोगकर्ता

    काठमाडौं-नेपालकै लोकप्रिय एप ‘हाम्रो पात्रो’ले आफ्नो प्लेटफर्मभित्रै नयाँ सामाजिक सञ्जाल ‘सर्कल’ (Circle) सञ्चालनमा ल्याएको छ । सोमबारदेखि लाइभ भएको सर्कल औपचारिक रूपमा सार्वजनिक हुन बाँकी छ । तर प्रयोगकर्ताहरूको उपस्थिति र आकर्षण निकै उत्साहजनक देखिएको छ ।

    हाल हाम्रो पात्रो एपभित्रै छुट्टै ट्याबको रूपमा ‘सर्कल’ उपलब्ध गराइएको छ । कम्पनीका अनुसार सोमबारदेखि पाइलट टेस्टिङको रूपमा सञ्चालनमा आएको सर्कलमा छोटो समयमै जोडिने प्रयोगकर्ताको सङ्ख्या ५ लाख नाघिसकेको छ भने पछिल्लो दुई दिनमा मात्रै ४० हजारभन्दा बढी भिडिओ अपलोड भइसकेका छन् । आउँदो फेब्रुअरीमा यसलाई औपचारिक रूपमै सार्वजनिक गर्ने कम्पनीको तयारी छ ।

    सर्कलका लागि छुट्टै मोबाइल एप ल्याउने योजना भने हाललाई नरहेको हाम्रो पात्रोका संस्थापक शङ्कर उप्रेतीले जानकारी दिए । उनका अनुसार हाम्रो पात्रोलाई ‘सुपर एप’को रूपमा विकास गर्ने अवधारणा अनुरूप सर्कललाई एपभित्रै एकीकृत गरेर अगाडि बढाइनेछ । यसका लागि प्रयोगकर्ताले प्ले स्टोर वा एप स्टोरमा गएर हाम्रो पात्रोको एप अपडेट गरे पुग्छ । एप अपडेट गरेपछि तल्लो नेभिगेसन बारमा रहेको Circle ट्याबमार्फत सोझै यो सामाजिक सञ्जालमा पहुँच पाउन सकिन्छ ।

    एकै पटक ठुलो सङ्ख्यामा प्रयोगकर्ताहरू जोडिँदा आउने प्राविधिक चाप र लोड व्यवस्थापनका लागि देश-विदेशमा विभिन्न सर्भरहरूको व्यवस्थापन गरिएको संस्थापक उप्रेतीले बताए । यसले गर्दा प्रयोगकर्ताहरूले बिना कुनै अवरोध सहजरूपमा भिडिओ तथा सामग्रीहरू अपलोड गर्न सक्नेछन् । यस्तै, आगामी दिनमा सर्कलमा क्रियटर र प्रयोगकर्ताहरूका लागि लाइभ बस्न मिल्ने फिचर समेत थप गर्ने योजना समेत रहेको उप्रेतीको भनाइ छ ।

    कसरी काम गर्छ ‘सर्कल’ ?
    ‘सर्कल’ हाम्रो पात्रो एपभित्रै निर्माण गरिएको एउटा इन-बिल्ट सामाजिक सञ्जाल हो । जसले प्रयोगकर्ता, कन्टेन्ट क्रियटर र सामग्रीहरूलाई एउटै इकोसिस्टममा जोड्छ । प्रयोगकर्ताहरूले यस प्लेटफर्ममार्फत फोटो, भिडिओ तथा स्टोरी शेयर गर्न, मनपर्ने क्रियटरहरूलाई फलो गर्न, छोटा भिडिओहरू र ड्रामा सिरिज हेर्न तथा अन्तरक्रिया गर्न सक्छन् ।

    सर्कल मुख्यतया दुई माध्यमबाट सञ्चालन हुन्छ । एउटा हाम्रो पात्रो मोबाइल एपभित्र एकीकृत ट्याब, जहाँबाट प्रयोगकर्ताले नयाँ सामग्री खोज्न, पोस्ट शेयर गर्न र समुदायसँग जोडिन सक्छन् । यसका साथै क्रियटरहरूका लागि वेब ड्याशबोर्डको रूपमा studio.hamropatro.com तयार पारिएको छ । जसबाट कन्टेन्ट पोस्ट तथा शेड्युल गर्न, एनालिटिक्स हेर्न, कमेन्ट व्यवस्थापन गर्न र मोनेटाइजेसनका लागि आवेदन दिन सकिन्छ ।

    केके छन् फिचर ?
    सर्कलमा आफूले फलो गरेका प्रोफाइलका पोस्ट, सिफारिस गरिएका सामग्री र ‘डिस्कभर’ सेक्सनमार्फत नयाँ क्रियटर खोज्ने सोसल फिडको सुविधा रहेको छ । म्युजिकसहितका छोटा, भर्टिकल (फुल स्क्रिन) भिडि‌हरू हेर्न र सिर्जना गर्न सकिने सुविधाको रूपमा मोमेन्ट्स फिचर उपलब्ध गराइएको छ । सर्कल स्टुडियोको ‘मोमेन्ट्स बिल्डर’मार्फत लामा भिडिओहरूका उत्कृष्ट भाग काटेर मोमेन्ट्स बनाउन सकिन्छ ।

    २४ घण्टापछि स्वतः हटेर जाने फोटो/भिडि‌ओ स्टोरी पोस्ट गर्न सकिने र मनपर्ने स्टोरीलाई प्रोफाइलमा ‘हाइलाइट्स’का रूपमा स्थायी रूपमा राख्न सकिने फिचर समेत सर्कलमा पाउन सकिन्छ ।यसबाहेक ड्रामा (Dramas) अन्तर्गत एपिसोडमा आधारित भिडिओ सिरिज वा ड्रामाहरू हेर्न, ‘टुडेज टप १०’ ब्राउज गर्न तथा फेभरेटमा सेभ गर्न सकिने सुविधा पनि छ । विभिन्न इमोजी रियाक्सन, कमेन्ट, मेसेज (Hamro Chat) र पोस्ट शेयरिङ सुविधा यसमा रहेको छ ।

    कसरी प्रयोग गर्ने ?
    यसका लागि सबैभन्दा पहिला प्ले स्टोर वा एप स्टोरबाट हाम्रो पात्रो एप अपडेट गरी तल्लो भागमा रहेको Circle ट्याबमा ट्याप गर्नुहोस् । अब गुगल वा फेसबुक अकाउन्ट मार्फत खातामार्फत लगइन गर्नुहोस् । आफ्नो मोबाइल नम्बर राखेर एसएमएसमा आउने ६ अङ्कको ओटीपी कोडमार्फत अकाउन्ट भेरिफाई गर्नुहोस् । यति गरेपछि हाम्रा च्याट पनि एक्टिभ हुन्छ । यति गरिसकेपछि नाम, जन्ममिति (१३ वर्षभन्दा बढी उमेर), बायो, प्रोफाइल तथा कभर फोटो र युजरनेम (@handle) चयन गरी आफ्नो प्रोफाइल तयार गर्न सक्नु हुन्छ ।

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images