काठमाडौं– इरानी संसद्को राष्ट्रिय सुरक्षा समितिका सदस्य अहमद बख्शायेश अर्देस्तानीले इरानमा परमाणु हतियार निर्माण गर्नुपर्ने पक्षमा जनमत बढ्दै गएको बताएका छन्।
उनका अनुसार देशको एउटा वर्ग र आम नागरिकको ठूलो हिस्साले कुनै न कुनै रूपमा परमाणु हतियार निर्माणको समर्थन गरिरहेका छन्।
पछिल्ला केही सातायता इरानको परमाणु नीतिमा परिवर्तन र परमाणु अप्रसार सन्धि (एनपीटी) बाट बाहिरिने सम्भावनाबारे चर्चा हुँदै आएको छ। इस्लामिक गणतन्त्र इरानका विभिन्न राजनीतिक, सैन्य तथा धार्मिक नेताहरूले समेत यस विषयलाई उठाउँदै आएका छन्।
बीबीसीका अनुसार उनले अमेरिकाको दबाबका कारण इरान परमाणु हतियार निर्माण गर्ने विषयमा सोच्न बाध्य भएको बताए।
चीन र रुस जस्ता देशसँगको सम्बन्धको चर्चा गर्दै सांसद अर्देस्तानीले यस विषयमा इरानले सावधानी अपनाउनुपर्ने धारणा व्यक्त गरे।
चीन र रुसले इरानलाई परमाणु हतियार निर्माणका विषयमा हतारमा निर्णय नलिन र अहिलेका लागि संयम अपनाउन सुझाव दिँदै आएको उनले खुलासा गरे।
अर्देस्तानीले परमाणु हतियार निर्माणको समर्थन गर्नेहरूको तर्क प्रस्तुत गर्दै यसले देशको रक्षा क्षमता बढाउनुका साथै शत्रु राष्ट्रलाई आक्रमण गर्नबाट रोक्न सक्ने बताए।
यसैबीच इरानका सर्वोच्च नेताका सल्लाहकार तथा सहायक मोहम्मद मोखबरले अमेरिकाले अब तेहरानविरुद्ध आफ्ना सहयोगी राष्ट्रहरूको समर्थन जुटाउन सक्ने प्रभाव गुमाइसकेको बताएका छन्।
उनले चीनको शेन्जेनमा सम्पन्न एसिया प्रशान्त आर्थिक सहयोग (एपेक) शिखर सम्मेलनको परिणामलाई यसको उदाहरणका रूपमा प्रस्तुत गरेका छन्।
मोखबरले शुक्रबार सामाजिक सञ्जाल एक्समा लेख्दै बिहीबार सम्पन्न शेन्जेन शिखर सम्मेलनले क्षेत्रीय राष्ट्रहरूलाई स्पष्ट सन्देश दिएको बताएका छन्। उनका अनुसार अमेरिकाले अब इरानविरुद्ध समर्थन जुटाउन सक्ने प्रभाव राख्दैन।
उनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प चीनमा धेरै आश्वासन बोकेर पुगे पनि अन्ततः खाली हात फर्किएको टिप्पणी गरेका छन्। ट्रम्प चीनबाट आफूलाई प्रतिकूल हुने वक्तव्यसहित फर्किएको उनको भनाइ छ।
मोखबरले खाडी क्षेत्र र स्ट्रेट अफ होर्मुजको सुरक्षा इरानका लागि स्पष्ट रातो रेखा भएको पनि बताएका छन्। अमेरिका र इरानबीचको द्वन्द्व अन्त्य गर्न इस्लामिक गणतन्त्र इरानका सातवटा आधारभूत सर्त पूरा हुनुपर्ने र त्यसबाट मात्रै उक्त क्षेत्रको सुरक्षा सुनिश्चित हुने उनले दाबी गरेका छन्।






















