काठमाडौ– मधेशमा नयाँ सरकार गठनको लागि दाबी पेश गर्न प्रदेश प्रमुख समयावधि सकिएको छ । तर, दलहरूबीच अहिलेसम्म समीकरण भएर सरकारको लागि दाबी पेश भएको छैन ।
एमाले सहितसँग सरकारको नेतृत्व गर्ने पक्षमा जसपा अनिच्छुक छन् । अन्तिम अवस्थामा भने नेपाली कांग्रेस, नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का नेताहरू भने प्रदेश प्रमुख कार्यालय पुगेका छन् ।
नेकपा एमाले संसदीय दलका नेता सरोज कुमार यादव आफ्नो नेतृत्वमा सरकार गठनका लागि कसरत गरिरहेका छन् । तर कांग्रेस भने मानिसकेको छैन ।
उता जसपा नेपालले समेत अग्रगामी मोर्चाको हिसाबले जनमतलाई ल्याएर र कांग्रेसलाई समेत मिलाएर सरकार बनाउने दाउमा छन् ।
काङ्ग्रेस संसदीय दलका नेता समेत रहेका निवर्तमान मुख्यमन्त्री कृष्णप्रसाद यादव नेकपा एमाले संसदीय दलका नेता सरोज कुमार यादव र नेकपाका संसदीय दलका नेता युवराज भट्टराईप्रदेश प्रमुखको कार्यालय पुगेका हुन् ।
मुख्यमन्त्री कृष्णप्रसाद यादवले राजीनामा दिएपछि प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले संविधानको धारा १६८ (२) अनुसार बहुमत जुटाउन सक्ने प्रदेश सभा सदस्यलाई मुख्यमन्त्रीमा दाबी पेस गर्न आज ४ बजे सम्मको समय दिएका थिए ।
१०७ सदस्यीय मधेस प्रदेश सभामा सरकार गठनका लागि कम्तीमा ५४ सदस्यको समर्थन आवश्यक पर्छ ।
प्रदेश सभामा जसपा नेपालका २७, एमालेका २३, कांग्रेसका २२, नेपाली कम्युनिष्ट पार्टीका १५ र जनमत पार्टीका १२ सांसद छन् ।
त्यस्तै, संघीय समाजवादी पार्टी र राप्रपाका एक–एक सांसद छन्।
जसपा नेपालको नेतृत्वमा एमाले र नेपाली कम्युनिष्ट पार्टीको समर्थन जुटाएर सरकार गठन गर्ने आन्तरिक तयारी भए पनि मुख्यमन्त्री कसलाई बनाउने भन्नेमा सहमति हुन सकेको छैन ।
नेतृत्वका लागि प्रमुख दलहरूबीच प्रतिस्पर्धा देखिएको छ ।
एमाले नेतृ तथा निवर्तमानमन्त्री शारदादेवी थापाले आफ्नो दलको पनि सरकारको नेतृत्वमा दाबी रहेको बताएकी छन् ।
यता, जसपाभित्रै पनि मुख्यमन्त्रीको उम्मेदवारबारे एकमत बन्न नसक्दा सरकार गठन प्रक्रिया थप अन्योलमा परेको छ ।
एमाले र नेपाली कम्युनिष्ट पार्टीले कांग्रेस नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री यादवले गत कात्तिक २८ गते राजीनामा दिएका थिए ।
अब मधेशको आगामी नेतृत्व कुन दलले गर्ने र को मुख्यमन्त्री बन्ने भन्ने विषय दलहरूबीचको सहमतिमा निर्भर देखिएको छ ।






















