काठमाडौं – सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–२ स्थित भोटेकोशी हाइड्रोपावरमा कार्यरत एक कर्मचारीको पानीमा डुबेर मृत्यु भएको छ । मृत्यु हुनेमा बाह्रबिसे नगरपालिका–७, जुरेका दीपक पराजुली रहेका छन् । उनी भोटेकोशी हाइड्रोपावर प्रालिमा इलेक्ट्रिकल अपरेटरका रूपमा कार्यरत थिए ।
पराजुली सोमबार साँझदेखि सम्पर्कविहीन भएका थिए । उनी हराएको जानकारी हाइड्रोपावरका कर्मचारीले प्रहरीलाई गराएपछि खोजी सुरु गरिएको थियो ।
सूचना प्राप्त भएपछि अस्थायी प्रहरी पोस्ट १० किलोबाट प्रहरी सहायक निरीक्षक शंकर राईको कमान्डमा तीन सदस्यीय प्रहरी टोली खोजीमा खटिएको थियो । प्रहरी टोली राति करिब १ बजे घटनास्थल पुगेको थियो ।
खोजीका क्रममा मंगलबार बिहान करिब २ बजे हाइड्रोपावरको सुरुङमा पानी पठाउन बनाइएको संरचनाको मुखमा रहेको तारमा अड्किएको अवस्थामा पराजुलीको शव फेला परेको प्रहरी सहायक निरीक्षक राईले जानकारी दिए ।























