काठमाडौं । नेपाली बजारमा ‘एक्सट्रिम’ र ‘म्याक्सटाइगर’ जस्ता ड्रिंक्स बिक्री गर्दै आएको एग्रो थाइ फुड्स प्रालिले रक्त क्यान्सरको जोखिम निम्त्याउने रसायन बन्न सक्ने जुससमेत बिक्री गरिरहेको तथ्य खुलेको छ ।
ललितपुरको पाटन औद्योगिक क्षेत्रमा उद्योग रहेको उक्त कम्पनीले उत्पादन गर्ने ‘जुस जेली’मा प्रयोग गरिएका दुई रसायनको आपसी प्रतिक्रियाबाट मानव स्वास्थ्यका लागि घातक तथा क्यान्सरजन्य तत्व ‘बेन्जिन’ बन्ने विभिन्न अन्तर्राष्ट्रिय वैज्ञानिक अनुसन्धानहरूले पुष्टि गरेका हुन् ।
कम्पनीले आफ्नो वेबसाइटमा सफ्ट ड्रिंक्सको तुलनामा सुरक्षित र स्मार्ट विकल्प उपलब्ध गराउने दाबी गरे तापनि बजारमा ९९ रुपैयाँमा बिक्री भइरहेको उक्त जुसको बोतलमै क्यान्सरको जोखिम निम्त्याउन सक्ने रसायनहरूको सम्मिश्रण उल्लेख छ । जुन उत्पादन कम्पनीले विभिन्न ७ वटा फ्लेवर तथा रङमा उत्पादन तथा बिक्री गरिरहेको छ ।
जुस जेलीमा के के पदार्थ मिसाइएका छन् ?
एग्रो थाइ फुड्सद्वारा उत्पादित ‘जुस जेली’ (एप्पल जुस + नाटा डि कोको) को बोतलको लेबलमा उल्लेखित सामग्री सूची विश्लेषण गर्दा यसमा प्राकृतिक जुसभन्दा रासायनिक तत्व र चिनीको प्रधानता देखिन्छ । बोतलको लेबलअनुसार यसमा २५ प्रतिशत प्राकृतिक फलफूलको जुस कन्सेन्ट्रेट र नरिवलको जेली अर्थात् नाटा डि कोको, शुद्ध पानी र चिनी मिसाइएको छ ।
त्यस्तै, पोषण विवरणमा प्रति १०० मिलिलिटर जुसमा करिब १५ ग्राम कार्बोहाइड्रेट (चिनी) र ६० किलो क्यालोरी ऊर्जा रहेको उल्लेख छ।
साथै, जुसलाई लामो समय (१८ महिना) सम्म बिग्रन नदिन प्रिजर्भेटिभका रूपमा सोडियम बेन्जोएट, एन्टिअक्सिडेन्टका रूपमा एस्कर्बिक एसिड/ भिटामिन सी), क्याल्सियम ल्याक्टेट र एसिडिटी रेगुलेटर मिसाइएको छ ।
रसायनको सम्मिश्रण र क्यान्सरको कडी ?
जेली जुसको बोतलमा उल्लेखित सामग्री सूची अनुसार यसमा एस्कर्बिक एसिड र सोडियम बेन्जोनेट दुवैको सम्मिश्रण् गरिएको छ ।
अन्तर्राष्ट्रिय वैज्ञानिक अनुसन्धानहरूका अनुसार पेय पदार्थमा सोडियम बेन्जोएट र एस्कर्बिक एसिड (भिटामिन सी) एकैसाथ मिसाइँदा ती दुईबीच रासायनिक प्रतिक्रिया भई ‘बेन्जिन’ नामक विषाक्त रसायन उत्पादन हुन्छ ।
विभिन्न अन्तर्राष्ट्रिय वैज्ञानिक अनुसन्धानहरूले एसिडिक (अम्लीय) माध्यम भएका फलफूलका जुसहरूमा जब यी दुई रसायन सँगै राखिन्छ, तब तिनीहरूबीच रासायनिक प्रतिक्रिया भई बेन्जिन नामक रसायन बन्ने प्रमाणित गरिसकेका छन्, जसको विस्तृत वैज्ञानिक विश्लेषण रिसर्चगेटको (PDF) Benzoic Acid Based Beverages: Health Implications तथा विकिपिडियाको Benzene in Soft Drinks मा उल्लेख गरिएको छ ।
विश्व स्वास्थ्य संगठन अन्तर्गतको क्यान्सर अनुसन्धान एजेन्सी IARC Monographs Volume 120 ले बेन्जिनलाई ‘ग्रुप १ ह्युमन कार्सिनोजेन’ (मानिसमा क्यान्सर गराउने प्रमाणित तत्व) को सूचीमा राखेको छ । यस्तै, अमेरिकी रोग नियन्त्रण तथा रोकथाम केन्द्रले बेन्जिनको लामो समयसम्मको सम्पर्क वा सेवनले हड्डीको भित्री भागमा असर गरी रक्त क्यान्सर गराउने तथ्य स्पष्ट पारेको छ ।
अमेरिकी खाद्य तथा औषधि प्रशासन तथा US National Library of Medicine मा प्रकाशित शोधअनुसार जब यस्ता रसायनयुक्त जुसको बोतललाई उच्च तापक्रम (गर्मी) वा सिधै घामको किरणमा राखिन्छ, तब बेन्जिन बन्ने प्रक्रिया तीव्र हुन्छ ।
नेपाली बजारका किराना पसल तथा फुटपाथमा यस्ता जुसका बोतलहरू दिनभरि चर्को घाममा राखिने हुँदा उपभोक्तामा बेन्जिन सेवनको जोखिम झन् उच्च रहन्छ ।
अन्तर्राष्ट्रिय नियामक निकायको कानुनी व्यवस्था
अन्तर्राष्ट्रिय रूपमा पेय पदार्थमा बेन्जिनको मात्रा नियन्त्रण गर्न पिउने पानीको मापदण्डलाई नै एक्सन लिमिट आधार मानी ५ देखि १० पिपिबी (ppb) भन्दा बढी बेन्जिन देखिएमा उत्पादन बजारबाट फिर्ता गर्नुपर्ने नियम रहेको छ । यसै सन्दर्भमा संयुक्त राज्य अमेरिकाको खाद्य तथा औषधि प्रशासनले खाद्य पदार्थमा सोडियम बेन्जोनेटको प्रयोगलाई अधिकतम ०.१ प्रतिशतमा सीमित गरेको विवरण FDA Beverage Benzene Guidance मा उल्लेख छ ।
यता युरोपियन युनियनको खाद्य सुरक्षा प्राधिकरणले आफ्नो कडा मापदण्ड (Regulation EC No 1333/2008) अन्तर्गत अल्कोहल-रहित फ्लेभर पेय पदार्थहरूमा सोडियम बेन्जोनेटको मात्रा मात्र १५० mg/L सम्म मात्र अनुमति दिएको तथ्य EUR-Lex Food Additives Regulation मा प्रमाणित छ ।
त्यसैगरी, अष्ट्रेलिया र न्युजिल्यान्डको खाद्य मापदण्ड कोड अनुसार बजारमा उपलब्ध पेय पदार्थहरूमा बेन्जिनको मात्रा नियन्त्रण गर्न नियमित अनुगमन र उद्योगहरूलाई वैकल्पिक रसायन प्रयोग गर्न लगाउने नीति अंगीकार गरिएको विस्तृत कानुनी विवरण FSANZ Benzene in Flavoured Beverages मा उपलब्ध छ ।


विजुता राई 




















