काठमाडौं– चीनको शेनझेनमा बुधबार राति आयोजित गाला डिनरअघि रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच आत्मीय भेट भएको छ। चिनियाँ राष्ट्रपति सी जिनपिङको उपस्थितिमा दुवै नेताले हात मिलाउँदै एकअर्कालाई अभिवादन गरेका छन्।
युरोप संवाददाता लौरा गोजीका अनुसार क्रेमलिनले टेलिग्राममार्फत सार्वजनिक गरेको भिडियोमा पुटिन, ट्रम्प र सी जिनपिङ रेड कार्पेटमा सँगै देखिएका छन्।
भिडियोमा ट्रम्प, सी जिनपिङ र उनकी पत्नी उभिइरहेका बेला पुटिन त्यहाँ पुगेको देखिन्छ। त्यसपछि पुटिन र ट्रम्पले हात मिलाएका थिए। हात मिलाएपछि दुवै नेताले एकअर्काको काँधमा हात राखेर आत्मीयतापूर्वक अभिवादनसमेत गरेका थिए।
सन् २०२५ अगस्टमा अमेरिकाको अलास्कामा भएको रुस-अमेरिका शिखर बैठकपछि ट्रम्प र पुटिनबीच भएको यो पहिलो प्रत्यक्ष भेट हो। त्यसैले यस भेटलाई अन्तर्राष्ट्रिय कूटनीतिक दृष्टिले महत्त्वपूर्ण रूपमा हेरिएको छ।
यसैबीच बिहीबार दिउँसो चिनियाँ राष्ट्रपति सी जिनपिङ, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच त्रिपक्षीय शिखर बैठक हुने कार्यक्रम छ। तीनै देशका राष्ट्रप्रमुख एकै ठाउँमा औपचारिक रूपमा सहभागी हुने यो पहिलो बैठक हुनेछ।
उता राष्ट्रपति ट्रम्पसँगै भ्रमणमा रहेकी बीबीसीकी अमेरिकी संवाददाता नादा तौफिकका अनुसार एसिया भ्रमणका क्रममा आफूले पाएको स्वागतबाट ट्रम्प निकै सन्तुष्ट देखिएका छन्।
उनका अनुसार मनिलादेखि शेनझेनसम्म भ्रमणका क्रममा ट्रम्पका लागि रेड कार्पेट बिछ्याइएको थियो। विभिन्न देशका नेताहरूले उनलाई विशेष महत्त्व दिँदै स्वागत गरेका थिए।
तर ट्रम्पलाई भव्य स्वागत गरिरहेका नेताहरूले भविष्यको अमेरिकी राजनीतिक अवस्थालाई पनि नजिकबाट नियालिरहेको संवाददाता तौफिकको भनाइ छ। विशेषगरी दुई वर्षपछि ट्रम्पले राष्ट्रपतिको पद छाडेपछि अमेरिकाको राजनीति कुन दिशामा अघि बढ्छ भन्ने विषयमा उनीहरू चासो राखिरहेका छन्।
-एजेन्सी






















