images
images
  • एमालेले ३५ वर्षको जिम्मा नलिने, २०४७ पछि सरकारमा हुँदा गरेका कामको उपलब्धि सार्वजनिक

    काठमाडौं– नेकपा एमालेले अहिले निर्माण गरिएको ३५ वर्ष लक्षित भाष्य अस्वीकार गर्दै २०४७ सालयता आफू सरकारमा सहभागी हुँदा गरेका काम तथा त्यसको उपलब्धि सार्वजनिक गरेको छ।

    काठमाडौंमा जारी राष्ट्रिय भेलामा एमाले उपाध्यक्ष विष्णु पौडेलले उक्त उपलब्धिहरु सार्वजनिक गरेका हुन्।

    उनले एमालेले आफूले नेतृत्व गरेको र सहभागी भएको सरकारका कामको मात्र जिम्मेवारी लिने तर समग्र ३५ वर्षको जिम्मेवारी नलिने बताए।

    जसअन्तर्गत २०४७ वैशाख ६ गतेको अन्तरिम सरकारदेखि २०८२ फागुन २४ सम्म पार्टी अल्पमतको सरकारमा करिब ९ महिना, बहुमतको सरकारमा करिब ३ वर्ष, अरू दल सहभागी सरकारको नेतृत्वमा करिब ३ वर्ष ६ महिना र अरू दलको नेतृत्वमा करिब ५ वर्ष सहभागी रहेको उल्लेख गरेको छ।

    विगत तीन दशकमा देशको आर्थिक परिसूचकहरूमा सकारात्मक परिवर्तन आएको दाबी गर्दै एमालेले २०५२ सालमा ४२ प्रतिशत रहेको निरपेक्ष गरिबी २०८० सम्म आइपुग्दा २०.३ प्रतिशतमा झरेको उल्लेख गरेको छ।

    उसले २०४७ मा प्रतिव्यक्ति आय २०० अमेरिकी डलर रहेकोमा अहिले १५३५ पुगेको बताएको छ । त्यस्तै कुल गार्हस्थ उत्पादन १ खर्ब २० अर्बबाट बढेर ६६ खर्ब पुगेको र नेपाल मध्यमस्तरीय मानवीय विकासको सूचीमा उक्लिएको उल्लेख गरिएको छ।

    त्यस्तै एमालेले लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटेर नेपालको नयाँ राजनीतिक नक्सा जारी गर्नुका साथै भारतसँगको नाकाबन्दीको सम्मानजनक समाधान र चीनसँग पारवहन सम्झौता गरी नेपाललाई ‘भू-परिवेष्ठित’बाट ‘भू-जडित’ राष्ट्रमा बदल्ने आधार तयार पारिएको दाबी गरेको छ।

    उपलब्धिको पूर्ण विवरण

    प्रतिक्रिया दिनुहोस्
    images
    images