काठमाडौं । मलेसियामा कार्यरत नेपाली श्रमिकहरूसँग गैरकानुनी रूपमा रकम असुली गरी विदेश पठाउने निर्णय प्रक्रियामा संलग्न रहेको आरोपमा खोजी भइरहेका तत्कालीन श्रम सचिव तथा पूर्वमुख्यसचिव एकनारायण अर्याल भारततिर फरार भएका छन् ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले ठगी प्रकरणमा २ पूर्वश्रममन्त्रीसहित ६ जना उच्चपदस्थ पूर्वप्रशासकहरूलाई पक्राउ गरेलगत्तै अर्याल भारत फरार भएका हुन् ।
उच्च स्रोतका अनुसार अर्यालविरुद्ध पनि काठमाण्डु जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भइसकेको छ । ब्युरोको विशेष टोलीले सम्भावित स्थानहरूमा खोजी तीव्र पारे पनि उनी फेला पर्न सकेका छैनन् ।
मलेसिया रोजगारीका नाममा भएको १६ अर्ब ९ करोड रुपैयाँभन्दा बढीको ठगी तथा विदेशी मुद्रा अपचलन प्रकरणमा निर्णय प्रक्रियाको मुख्य प्रशासनिक नेतृत्वमा रहेका अर्यालको प्रत्यक्ष संलग्नता देखिएको अनुसन्धानमा संलग्न अधिकारीहरूले बताएका छन् । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको सचिवका रूपमा कार्यरत रहँदा अर्यालले नेपाल र मलेसिया सरकारबिच भएको श्रम समझदारीपत्र (एमओयू) विपरीत श्रमिकसँग अतिरिक्त शुल्क असुल्ने र संकलित रकम गैरकानुनी माध्यमबाट मलेसिया पठाउने नीतिगत तथा प्रशासनिक निर्णयमा भूमिका खेलेको सीआईबीको दाबी छ ।
यसै प्रकरणमा सीआईबीले तत्कालीन श्रममन्त्रीद्वय शेरबहादुर कुँवर र रामेश्वर राय यादव, तत्कालीन श्रमसचिव विनोद केसी, मन्त्रालयका तत्कालीन सहसचिवद्वय उमेश ढुंगाना र राजीव पोखरेल तथा तत्कालीन उपसचिव निर्मला गुरुङलाई पक्राउ गरिसकेको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको पत्र तथा विकास रानाभाटसमेतको जाहेरीका आधारमा सीआईबीले अनुसन्धान अघि बढाएको थियो । प्रहरीका अनुसार संगठित समूहको लाभका लागि श्रमिकमाथि भइरहेको ठगी रोक्न कानुनी उपचार नखोजेको र अधिकार क्षेत्र नाघेर ८ करोड ३७ लाख ४३९ अमेरिकी डलर ९२ सेन्ट तथा ३ करोड ७१ लाख ९८ हजार ९८० पाउन्ड ८० पेन्स (कुल १६ अर्ब ९ करोड २ लाख २४ हजार २६ रुपैयाँ ७६ पैसा) मलेसिया पठाउन स्वीकृति दिएको आरोप उनीहरूमाथि छ ।
पक्राउ परेका ६ जनामाथि ठगी, विदेशी मुद्रा अपचलन तथा संगठित अपराधसम्बन्धी कसुरमा म्याद थप गरी अनुसन्धान भइरहेको र फरार रहेका पूर्वमुख्यसचिव अर्यालको खोजीका लागि देशभरका सुरक्षा निकाय तथा सीमा नाकाहरूमा समेत निगरानी बढाइएको जनाइएको छ ।






















