काठमाडौं – देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहँदा आज पहाडी तथा हिमाली क्षेत्रमा आंशिक बदली हुने भएको छ। तराईका केही स्थानमा तुवाँलो लागेको छ भने देशका बाँकी भूभागको मौसम सामान्यतया सफा रहेको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली रहनेछ। बाँकी क्षेत्रको मौसम भने मुख्यतया सफा रहने अनुमान छ ।
महाशाखाका अनुसार कोशी र गण्डकी प्रदेशका हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षासहित हिमपातको सम्भावना रहेको छ ।
त्यसैगरी, आज राति कोशी, मधेस र लुम्बिनी प्रदेशका साथै बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली रहनेछ। अन्य स्थानमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ ।
तराईका साथै काठमाडौँ उपत्यका र विभिन्न खोँचहरूमा बिहानपख हुस्सु तथा कुहिरो लाग्ने सम्भावना रहेकाले दैनिक जनजीवन, सडक तथा हवाई यातायातमा सामान्य प्रभाव पर्न सक्ने अनुमान गरिएको छ ।






















