images
images
  • इरानको केशम टापुमा विस्फोटको आवाज, होर्मुज क्षेत्रमा अमेरिकी ड्रोन खसालेको सेनाको दाबी

    काठमाडौं– इरानको केशम टापुमा लगातार विस्फोटका आवाज सुनिएको स्थानीय बासिन्दाले बताएका छन् । इरानी समाचार एजेन्सी फार्सका अनुसार केशम सहरको उत्तरपश्चिमी क्षेत्रबाट विस्फोटका आवाज सुनिएका हुन् ।

    होर्मुज जलडमरूमध्यमा अवस्थित उक्त टापुको आकाशमा धुवाँसमेत देखिएको फार्सले जनाएको छ ।

    यसैबीच इरानी सेनाले होर्मुज जलडमरूमध्यको आकाशमा अमेरिकी निर्मित ‘लुकास’ आक्रमणकारी ड्रोन खसालेर नष्ट गरेको दाबी गरेको छ । इरानी सरकारी प्रसारण संस्था आईआरआईबीले सेनाको वक्तव्य उद्धृत गर्दै उक्त जानकारी दिएको हो ।

    यसअघि इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्स (आईआरजीसी) ले केशम टापुको दक्षिणी क्षेत्रमा अमेरिकी एमक्यू–१ प्रिडेटर ड्रोन आफ्नो हवाई प्रतिरक्षा प्रणालीमार्फत खसालेको दाबी गरेको थियो ।

    त्यस्तै आईआरजीसीका प्रमुख मेजर जनरल अहमद वाहिदीले अमेरिका र इजरायलले इरानमाथि कुनै पनि प्रकारको आक्रमण गरे त्यसको विनाशकारी जवाफ दिने चेतावनी दिएका छन् ।

    उनले मध्यपूर्वमा आफ्नो रणनीतिक उद्देश्य पूरा गर्ने अमेरिका र इजरायलको योजनालाई इरानले ठूलो धक्का दिएको दाबी पनि गरेका छन् ।

    तस्निम समाचार एजेन्सीका अनुसार वाहिदीले अमेरिका अहिले इतिहासकै सबैभन्दा बढी अन्तर्राष्ट्रिय एक्लोपनमा परेको टिप्पणी गरेका छन् ।

    ‘अमेरिका आज जस्तो एक्लोपनमा परेको छ, यसअघि कहिल्यै परेको थिएन । उसले सबैसँग सहयोग माग्यो । तर इरानी जनताको डरका कारण कसैले सहयोग गरेनन्’, वाहिदीलाई उद्धृत गर्दै तस्निमले जनाएको छ ।

    इरानी सेनाले महाशक्तिहरूको अहंकारमाथि ठूलो प्रहार गरेको उनको भनाइ थियो। उनले अमेरिका र इजरायलले इरानमाथि पुनः आक्रमण गर्ने प्रयास गरे त्यसको कडा प्रतिकार गरिने चेतावनीसमेत दिए ।

    ‘आक्रामकताको कुनै पनि कार्य, त्यो जतिसुकै सामान्य किन नहोस्, त्यसको जवाफ विनाशकारी र पीडादायी प्रहारबाट दिइनेछ’, वाहिदीले भनेका छन् ।

    यो चेतावनी अमेरिका र इजरायलबाट इरानमाथि हुनसक्ने सम्भावित नयाँ आक्रमणलाई लक्षित गर्दै आएको हो ।

    -एजेन्सीहरु/फाइल तस्विर

    प्रतिक्रिया दिनुहोस्
    images
    images