images
images
  • अमेरिकी उपराष्ट्रपति जेडी भान्सको दाबी- इरान युद्ध लामो समयसम्म लम्ब्याउने नीति छैन

    काठमाडौं– अमेरिकी उपराष्ट्रपति जेडी भान्सले इरानसँगको युद्धलाई लामो समयसम्म जारी राख्ने अमेरिकी नीति नरहेको बताएका छन् । उनले अमेरिका इरानसँगको युद्धमा वर्षौंसम्म अल्झिने अवस्था आउन नदिने प्रतिबद्धतासमेत व्यक्त गरेका छन् ।

    एक अन्तर्वार्ताका क्रममा भान्सले अमेरिकाले इरानसँगको युद्धलाई १० वा १५ वर्षसम्म लम्बिन नदिने बताए । उनका अनुसार यो युद्ध दुई वर्षसम्म पनि लम्ब्याउने अमेरिकी चाहना छैन ।

    उनले भनेका छन्, ‘हामी यसलाई १० वा १५ वर्षसम्मको प्रतिबद्धता बन्न दिनेछैनौं । स्पष्ट रूपमा भन्नुपर्दा दुई वर्षसम्म पनि लम्बिन दिनेछैनौं । यद्यपि धेरै नवउदारवादी र अन्य केही व्यक्तिहरू अमेरिका यस क्षेत्रमा सधैं रहिरहोस् भन्ने चाहन्छन् ।’

    भान्सको यो अभिव्यक्तिले इरानसँगको युद्धलाई लिएर अमेरिकी प्रशासनभित्रै रणनीति र युद्धको अवधिबारे फरक धारणा रहेको संकेत गरेको छ ।

    यसैबीच इरानको विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बघाईले इरानका बाँधहरूलाई क्षेप्यास्त्र अड्डासँग जोडेर सार्वजनिक भइरहेका दाबीहरूको खण्डन गरेका छन् । उनले यस्ता दाबीलाई इरानको महत्त्वपूर्ण पूर्वाधारमाथि आक्रमण गर्न सुरक्षा बहाना सिर्जना गर्ने प्रयासको संज्ञा दिएका छन् ।

    सामाजिक सञ्जाल एक्समा पोस्ट गर्दै बघाईले नागरिक पूर्वाधार सैन्य संरचनाको नजिक रहेको आधारमा त्यसलाई वैध सैन्य निशाना ठहर गर्नु उचित नहुने बताएका छन् ।

    उनले भनेका छन्, ‘नागरिक पूर्वाधार सैन्य संरचनाको नजिक रहेको भन्दै त्यसलाई वैध सैन्य निशाना मान्नु न विश्वसनीय तर्क हो, न त प्रमाणले पुष्टि गरेको दाबी नै हो ।’

    यस्ता दाबी अन्तर्राष्ट्रिय मानवीय कानुन तथा आधारभूत मानवीय र नैतिक सिद्धान्तविपरीत रहेको उनको भनाइ छ ।

    बघाईले यस्ता ‘दुर्भावनापूर्ण अभियान’ विरुद्ध अन्तर्राष्ट्रिय समुदाय मौन बस्न नहुने आग्रहसमेत गरेका छन् ।

    उनले इरानमाथि कुनै पनि प्रकारको आक्रमण भए त्यसको जवाफ दिन इरान सक्षम रहेको चेतावनी दिँदै भनेका छन्, ‘इरानलाई कुनै पनि आक्रामक गतिविधिको जवाफ कसरी दिने भन्ने राम्रोसँग थाहा छ । हाम्रो जवाफ अविस्मरणीय हुनेछ ।’

    त्यस्तै अमेरिकी सेनाको सेन्ट्रल कमान्डले इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर (आईआरजीसी) ले बहराइनतर्फ प्रहार गरेका एकतर्फी आक्रमणकारी ड्रोनहरू खसालिएको जनाएको छ ।

    अमेरिकी सेनाका अनुसार मंगलबार बिहान प्रहार गरिएका ती ड्रोनहरूलाई बीचमै अवरोध गरी नष्ट गरिएको हो । घटनामा अमेरिकी सैन्य उपकरण वा सुरक्षाकर्मीलाई कुनै क्षति नपुगेको सेन्टकमले जनाएको छ ।

    इरानी रिभोलुसनरी गार्डले बहराइनस्थित शेख इसा एयरबेसमा रहेको अमेरिकी रडार प्रणालीलाई निशाना बनाएको दाबी गरेपछि अमेरिकी सेनाको यो भनाइ आएको हो ।

    यसअघि बहराइनले पनि आफ्नो हवाई प्रतिरक्षा प्रणालीमार्फत इरानबाट आएका ड्रोनहरूको समूहलाई खसालेको जनाएको थियो।

    अमेरिकी नौसेनाको पाँचौँ फ्लीटको मुख्यालय रहेको बहराइनमाथि भएको यो आक्रमणले खाडी क्षेत्रमा जारी तनाव थप चर्काएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images