images
images
  • यती एयरलाइन्सको सीईओमा युवराजकुमार विष्ट

    काठमाडौं-काठमाडौं-आन्तरिक हवाई सेवा प्रदायक कम्पनी यती एयरलाइन्सको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा युवराजकुमार विष्ट नियुक्त भएका छन्।

    यसअघि कम्पनीको सीईओ रहेका सुवास सापकोटाको कार्यकाल समाप्त भएपछि विष्टलाई नयाँ सीईओको जिम्मेवारी दिइएको हो। सापकोटा सन् २०२३ अक्टोबरदेखि कम्पनीको सीईओका रूपमा कार्यरत थिए।

    सीईओ नियुक्त हुनुअघि विष्ट यती एयरलाइन्सको प्रमुख व्यापार अधिकृतका रूपमा कार्यरत थिए। उनलाई हाल अकाउन्टेबल म्यानेजरको जिम्मेवारीसमेत दिइएको छ। यती एयरलाइन्सले सन् २०२५/२६ मा ५ अर्ब ४७ करोड रुपैयाँको कारोबार गरेको छ। यो प्रारम्भिक (अपरिष्कृत) तथ्याङ्क हो। अघिल्लो आर्थिक वर्ष सन् २०२४/२५ मा कम्पनीको कारोबार ५ अर्ब ३८ करोड रुपैयाँ थियो। यसअनुसार कम्पनीको कारोबार एक वर्षमा ९ करोड रुपैयाँले बढेको छ। सापकोटा सीईओ नियुक्त भएपछि कम्पनीको वित्तीय अवस्थामा निरन्तर सुधार आएको विवरणमा उल्लेख छ।

    यती एयरलाइन्समा एसियन लाइफ इन्स्योरेन्ससँगै लाक्पा सोनाम शेर्पा र चन्दा शेर्पाको ठूलो स्वामित्व रहेको छ। प्राप्त विवरणअनुसार सन् २०२५/२६ मा कम्पनीले आन्तरिक हवाई सेवाको बजार हिस्सामध्ये २३ प्रतिशत हिस्सा ओगटेको छ। यससँगै यती नेपालको दोस्रो ठूलो आन्तरिक वायुसेवा कम्पनी बनेको छ। कम्पनीले हाल सातवटा एटीआर–७२ जहाजमार्फत देशका विभिन्न गन्तव्यमा उडान सेवा सञ्चालन गरिरहेको छ। तीमध्ये ६ वटा जहाज कम्पनीकै स्वामित्वमा छन् भने एउटा जहाज लिजमा लिएर सञ्चालन गरिएको छ।

    सन् २०२५/२६ मा काठमाडौँ–पोखरा र काठमाडौँ–विराटनगर रुटबाट मात्रै कम्पनीले कुल आम्दानीको ५१ प्रतिशत हिस्सा प्राप्त गरेको छ। उक्त अवधिमा यी दुई रुटबाट कम्पनीले कुल यात्रुमध्ये ५२ प्रतिशतलाई सेवा दिएको विवरणमा उल्लेख छ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images