काठमाडौं– फिलिपिन्सको राजधानी मनिलामा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प, जापानकी प्रधानमन्त्री साने ताकाइची र अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बनिजसँग भेटवार्ता गरेका छन् ।
भेटका क्रममा ट्रम्पले प्रधानमन्त्री मोदीको प्रशंसा गर्दै आफूहरू मित्र रहेको बताएको बीबीसी हिन्दीले उल्लेख गरेको छ ।
मोदीबारे टिप्पणी गर्दै ट्रम्पले भने, ‘म तपाईंलाई भन्न चाहन्छु, उनी मेरा मित्र हुन् । उनी एक महान् नेता हुन् । विश्वभरिका मानिसहरूले उनको निकै सम्मान गर्छन् ।’
बीबीसीका अनुसार ट्रम्पले मोदीको कडा स्वभावबारे पनि टिप्पणी गरेका छन् । मोदीलाई कडा स्वभावका व्यक्ति भनेका ट्रम्पले थप भने, ‘जापानकी प्रधानमन्त्री ताकाइची पनि उनीभन्दा कम कडा छैनन् ।’
मनिलामा विश्वका अन्य मुलुकका नेताहरूसँगको उच्चस्तरीय बैठकका क्रममा ट्रम्पले क्षेत्रीय तथा विश्वव्यापी मुद्दाहरूबारे छलफल गरेको बताइएको छ ।
बैठकका क्रममा ट्रम्पले आगामी १२ महिना निकै आश्चर्यजनक हुने बताउँदै आफूहरूबीच भइरहेको छलफल र अघि बढाइएका कामहरू अभूतपूर्व रहेको प्रतिक्रिया दिएका छन् ।
‘हामी सबै देशले यस विषयमा निकै ढिला गरिसकेका थियौं । तर अहिले हामी धेरै अगाडि बढिसकेका छौं । कसैले कल्पना पनि नगरेको गतिमा काम भइरहेको छ’, ट्रम्पले भने ।























