काठमाडौं– भारतसँगको सम्बन्धमा देखिएको अविश्वास र असमझदारी अन्त्य गर्न नेपालले आफ्ना समस्या तथ्य र प्रमाणसहित उच्च राजनीतिक तहमा उठाउनुपर्ने भारतका लागि नेपालका पूर्वराजदूत दीपकुमार उपाध्यायले बताएका छन् ।
प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणलाई द्विपक्षीय सम्बन्ध सुधार गर्ने अवसरका रूपमा लिनुपर्ने उल्लेख गर्दै उनले सीमा, पानी, ऊर्जा, व्यापार तथा लगानीसम्बन्धी लामो समयदेखि अल्झिएका विषयलाई प्राथमिकताका साथ अघि बढाउनुपर्ने बताए ।
नेपालले आफ्नो राष्ट्रिय हित स्पष्ट राख्नुपर्ने र भारतले पनि विगतका प्रतिबद्धता कार्यान्वयनमा उदारता देखाउनुपर्ने उनको भनाइ छ ।
उपाध्यायका अनुसार नेपाल–भारत सम्बन्धमा देखिएको अविश्वासका लागि दुवै पक्ष जिम्मेवार छन् ।
भारतको राजनीतिक तथा प्रशासनिक तहमा देखिने व्यवहार फरक हुनु र नेपालले पनि आफ्नो कूटनीतिक एजेन्डालाई निरन्तरता दिन नसक्नुले समस्या थपिएको उनले बताए ।
भारतमा नीतिगत तहमा नेपालसँग सम्बन्ध सुधार गर्नुपर्ने सद्भाव रहे पनि कर्मचारीतन्त्र र कार्यान्वयन तहमा विभिन्न अवरोध देखिने गरेको उनको विश्लेषण छ ।
नेपालमा पनि परराष्ट्र मन्त्रालयलाई पर्याप्त अधिकार नदिने, संस्थागत अभिलेख नराख्ने र सरकार परिवर्तनसँगै राष्ट्रिय प्राथमिकता बदलिने प्रवृत्तिले कूटनीतिक कमजोरी निम्त्याएको उनले बताए ।
‘एउटा हातले मात्रै ताली बज्दैन, ताली बजाउन दुवै हात चल्नुपर्छ,’ उपाध्यायले भने ।
उनले भारतसँगको सम्बन्धमा देखिने समस्या लुकाएर वा सार्वजनिक असन्तुष्टिमा मात्र सीमित राखेर समाधान नहुने बताए ।
राजनीतिक स्थायित्व र बलियो जनमतलाई उपयोग गर्दै नेपालले आफ्नो राष्ट्रिय हितका विषयमा स्पष्ट अडान राख्नुपर्ने उनको सुझाव छ ।























