images
images
  • भारतबाट ३५० मेगावाट विद्युत् आयात गर्न अनुमति, ५६ मेगावाट निर्यात गरिने

    काठमाडौं– नेपाल विद्युत् प्राधिकरणले आगामी हिउँदयाममा भारतबाट ३५० मेगावाटसम्म विद्युत् आयात गर्न अनुमति पाएको छ ।

    भारतीय केन्द्रीय विद्युत् प्राधिकरणले डे-अहेड र रियल टाइम बजारबाट प्रतिस्पर्धी दरमा दैनिक १७ घण्टासम्म विद्युत् आयात गर्न अनुमति दिएको हो ।

    अनुमतिअनुसार प्राधिकरणले २०८३ मंसिर १ देखि २०८४ साउन १५ सम्म कटैया–कुशाहा, रामनगर-सुरजपुरा, रक्सौल-परवानीपुर र न्यु नौतनिया-मैनहिया प्रसारण लाइनमार्फत विद्युत् आयात गर्न सक्नेछ ।

    प्राधिकरणका अनुसार पहिलो तीन प्रसारण लाइनबाट ३०० मेगावाट र न्यु नौतनिया मैनहिया लाइनबाट ५० मेगावाट विद्युत् आयात गर्न सकिनेछ ।

    रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको हिमबाढीका कारण ४३१ मेगावाट जडित क्षमताका आयोजना राष्ट्रिय प्रणालीबाट विच्छेद भएकाले यस वर्ष हिउँदमा विद्युत् आपूर्ति व्यवस्थापन थप चुनौतीपूर्ण बनेको छ ।

    प्राधिकरणको अनुमानअनुसार पुसदेखि चैतसम्म आन्तरिक उत्पादनभन्दा माग बढी हुनेछ ।

    माघ र फागुनमा दैनिक औसत ४५० देखि ५०० मेगावाट तथा उच्च मागको समयमा ८०० देखि ९०० मेगावाटसम्म विद्युत् आयात गर्नुपर्ने देखिएको छ ।

    यसैबीच, प्राधिकरणले तीन जलविद्युत् आयोजनाबाट उत्पादित ५६ मेगावाट विद्युत् भारतीय ऊर्जा विनिमय बजारमा बिक्री गर्न पनि अनुमति पाएको छ ।

    उक्त विद्युत् पनि मंसिर १ देखि साउन १५ सम्म निर्यात गर्न सकिनेछ ।

    नदीमा पानीको बहाव बढेसँगै आगामी वैशाखदेखि आन्तरिक उत्पादन वृद्धि हुने र विद्युत् आयात घटाउँदै निर्यात सुरु गर्न सकिने प्राधिकरणको अपेक्षा छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images