काठमाडौं– बिचौलिया इनम सापकोटाको ह्वाट्सएप म्यासेजमा नाम जोडिएपछि इजलासबाट अलग रहेका सर्वोच्च अदालतका प्रधानन्यायाधीश डा.मनोज शर्मा र न्यायाधीश हरि फुयाल सुनुवाइमा फर्किएका छन् ।
तिहार तथा छठ बिदापछि मंगलबारदेखि अदालत खुलेसँगै दुवै न्यायाधीश इजलासमा सहभागी भएका हुन् ।
प्रधानन्यायाधीश शर्मा नवनियुक्त न्यायाधीश डा. रत्नबहादुर बागचन्दसँग र न्यायाधीश फुयाल गोकर्ण डाँगीसँग संयुक्त इजलासमा बसेर मुद्दाको सुनुवाइ गरिरहेका छन् ।
विचौलियाको आरोपमा पक्राउ परेका इनम सापकोटाको मोबाइल तथा अन्य विद्युतीय उपकरणमाथि प्रहरीले अनुसन्धान गर्ने क्रममा सार्वजनिक भएको ह्वाट्सएप विवरणमा शर्मा र फुयालको नाम जोडिएको थियो ।
उक्त विवरण सार्वजनिक भएपछि दुवै न्यायाधीशको भूमिकामाथि प्रश्न उठेको थियो ।
सापकोटाले सर्वोच्चका न्यायाधीश फुयालसँग संवाद गरेको विवरण सार्वजनिक भएको थियो ।
फुयालले सापकोटालाई होटल हिमालयमा भेटेको स्वीकार गरेका थिए ।
यस्तै, सापकोटाको म्यासेजमा प्रधानन्यायाधीश शर्माको नाम पनि उल्लेख भएको थियो ।
घटनापछि प्रधानन्यायाधीश शर्मा इजलासमा नबसी न्यायप्रशासनका अन्य काममा संलग्न थिए भने फुयाल बिदामा बसेका थिए ।
अर्की न्यायाधीश शारंगा सुवेदी पनि विवादमा नाम जोडिएपछि एक दिन सुनुवाइबाट अलग भएकी थिइन् ।
घटनाबारे न्यायाधीशहरूको भूमिकाको अध्ययन गर्न नेपाल बार एसोसिएसनले समिति गठन गरे पनि समितिमा सहभागी हुन अधिकांश कानून व्यवसायीले अस्वीकार गरेका छन् ।























