काठमाडौं – सरकारले आर्थिक वर्ष २०८१/८२ मा सबैभन्दा बढी कर दाखिला गर्ने व्यक्ति तथा कम्पनीलाई सम्मान गरेको छ । राष्ट्रिय कर दिवसको अवसरमा आन्तरिक राजस्व विभागले विभिन्न क्षेत्रका १९ व्यक्ति तथा कम्पनीलाई सम्मान गरेको हो ।
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सम्मानित करदातालाई सम्मानपत्र प्रदान गर्दै दोसल्ला ओढाएर सम्मान गरेका थिए ।
बढी आयकर दाखिला गर्ने कम्पनीतर्फ सूर्य नेपाल प्रालि सम्मानित भएको छ भने एकलौटी फर्मतर्फ थर्ड आईले सम्मान पाएको छ । वस्तु निर्याततर्फ डाबर नेपाल, सूचना प्रविधिसम्बन्धी सेवातर्फ इन्फाइनाइट सफ्टवेयर सर्भिस प्रालि र कृषि तथा पशुपन्छीजन्य उद्योगतर्फ ओसिबी एन्ड फुड्स फिड्स प्रालि सम्मानित भएका छन् ।
त्यस्तै, बैंकिङ क्षेत्रतर्फ नबिल बैंक, स्वास्थ्य तथा शैक्षिक क्षेत्रतर्फ नोबेल मेडिकल कलेज टिचिङ हस्पिटल, पर्यटन व्यवसायतर्फ सोल्टी होटल र वस्तु व्यापारतर्फ सीजी इम्पेक्स प्रालिले सम्मान पाएका छन् । वार्षिक ५० करोडदेखि १ अर्ब रुपैयाँसम्म कारोबार गर्ने कम्पनीतर्फ फुड एन्ड बेभरेज टेक्नोलोजी सम्मानित भएको छ ।
ऊर्जा उद्योगतर्फ भोटेकोसी हाइड्रोपावर र रेमिट्यान्स तथा मनी ट्रान्सफरतर्फ आईएमई लिमिटेड सम्मानित भएका छन् । व्यक्तिगत आयकरतर्फ सबैभन्दा बढी कर दाखिला गर्ने राजबहादुर शाहलाई पनि सम्मान गरिएको छ।
त्यसैगरी, आर्थिक वर्ष २०७७/७८ देखि २०८२/८३ सम्म सबैभन्दा बढी मूल्य अभिवृद्धि कर (भ्याट) दाखिला गर्ने कम्पनीका रूपमा हिमालयन डिस्टिलरी लिमिटेड सम्मानित भएको छ । वार्षिक ५० करोड रुपैयाँसम्म कारोबार गर्ने करदातातर्फ इम्पेरियल सेक्युरिटिज, विशेष उद्योगतर्फ वरुण बेभरेज, जीवन बीमातर्फ लाइफ इन्स्योरेन्स कर्पोरेसन, निर्जीवन बीमातर्फ सिद्धार्थ प्रिमियर र लघुवित्ततर्फ छिमेक लघुवित्त सम्मानित भएका छन् ।
यसै अवसरमा मुलुकको राजस्वमा उच्च योगदान पुर्याएको भन्दै भाटभटेनी सुपरमार्केट एन्ड डिपार्टमेन्टल स्टोरलाई विशेष सम्मान प्रदान गरिएको छ।






















