काठमाडौं – चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो चौमासिकमा सरकारले वार्षिक बजेटको २३.३७ प्रतिशत खर्च गरेको छ । आम्दानीतर्फ भने वार्षिक लक्ष्यको २३.३९ प्रतिशत प्राप्त भएको छ । महालेखा नियन्त्रक कार्यालयको तथ्याङ्कअनुसार कात्तिक मसान्तसम्म सरकारले कुल चार खर्ब ९६ अर्ब ५२ करोड ११ लाख रुपैयाँ खर्च गरेको हो । यो वार्षिक बजेट विनियोजनको तुलनामा २३.३७ प्रतिशत हो ।
खर्चमध्ये चालु शीर्षकमा सबैभन्दा बढी रकम खर्च भएको छ । यस वर्ष चालु खर्चका लागि १२ खर्ब ७० अर्ब ५८ करोड ९० लाख रुपैयाँ विनियोजन गरिएकोमा कात्तिक मसान्तसम्म तीन खर्ब ४६ अर्ब ७५ करोड २४ लाख रुपैयाँ खर्च भएको छ । यो वार्षिक विनियोजनको २७.२९ प्रतिशत हो ।
त्यस्तै, पुँजीगत खर्चतर्फ चार खर्ब ३१ अर्ब १० करोड ६३ लाख रुपैयाँ विनियोजन गरिएकोमा पहिलो चौमासिकसम्म ३२ अर्ब ४४ करोड ८६ लाख रुपैयाँ मात्रै खर्च भएको छ । यो कुल पुँजीगत बजेटको ७.५३ प्रतिशत हो । वित्तीय व्यवस्था शीर्षकमा भने चार खर्ब २२ अर्ब ६४ करोड ९१ लाख रुपैयाँ बजेट विनियोजन भएकोमा कात्तिक मसान्तसम्म एक खर्ब १७ अर्ब ३२ करोड रुपैयाँ खर्च भएको छ । यो वार्षिक विनियोजनको २७.७६ प्रतिशत हो ।
आम्दानीतर्फ सरकारले चालु आर्थिक वर्षमा १६ खर्ब ४२ अर्ब छ करोड ३७ लाख रुपैयाँ प्राप्त गर्ने लक्ष्य राखेको छ । कात्तिक मसान्तसम्म तीन खर्ब ८४ अर्ब सात करोड रुपैयाँ प्राप्त भएको छ । यो वार्षिक लक्ष्यको २३.३९ प्रतिशत हो । सरकारले यस वर्ष १५ खर्ब ८० अर्ब ३१ करोड ८३ लाख रुपैयाँ राजस्व सङ्कलन गर्ने लक्ष्य राखेकोमा पहिलो चौमासिकसम्म तीन खर्ब ७२ अर्ब ७१ करोड ८० लाख रुपैयाँ उठेको छ । यो वार्षिक लक्ष्यको २३.५८ प्रतिशत हो ।
वैदेशिक अनुदानतर्फ भने लक्ष्यको तुलनामा प्राप्ति कम देखिएको छ। यस वर्ष ६१ अर्ब ७४ करोड ५४ लाख रुपैयाँ वैदेशिक अनुदान प्राप्त गर्ने लक्ष्य राखिएकामा कात्तिक मसान्तसम्म आठ अर्ब ६७ करोड ३५ लाख रुपैयाँ प्राप्त भएको छ । यो वार्षिक लक्ष्यको १४.५ प्रतिशत हो । सरकारी तथ्याङ्कले पहिलो चौमासिकमा चालु खर्च र वित्तीय व्यवस्थातर्फको खर्च तुलनात्मक रूपमा बढी भए पनि विकास निर्माणसँग प्रत्यक्ष जोडिएको पुँजीगत खर्च भने ७.५३ प्रतिशतमा सीमित रहेको देखाएको छ ।






















