images
images
  • महिला गोल्डकपमा आर्मीको गोलवर्षा, बागमतीविरुद्ध ९–० को जित

    काठमाडौं – प्रथम धरान अन्तर्राष्ट्रिय आमन्त्रण महिला गोल्डकप फुटबल प्रतियोगितामा त्रिभुवन आर्मी फुटबल क्लबले बागमती युथ क्लबलाई ९–० गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएको छ । सोमबार राति धरानमा भएको खेलमा आर्मीले पहिलो हाफमै सात गोल गरेको थियो। खेलको दोस्रो मिनेटमा दीपा शाहीले गोल गर्दै आर्मीलाई अग्रता दिलाइन्। उनले पाँचौँ र २३औँ मिनेटमा थप गोल गर्दै ह्याट्रिक पूरा गरिन्।

    त्यसपछि १६औँ मिनेटमा विमला चौधरीले गोल गरिन् भने १९औँ मिनेटमा जेनिफर रानाले आर्मीको अग्रता बढाइन्। जेनिफरले ३२औँ मिनेटमा व्यक्तिगत दोस्रो गोल गरिन्। पहिलो हाफको ३७औँ मिनेटमा दीपाले व्यक्तिगत चौथो गोल गरेपछि आर्मीले ७–० को अग्रता बनाएको थियो ।

    दोस्रो हाफमा पनि आर्मीले आक्रामक खेल जारी राख्यो। जेनिफरले दोस्रो हाफको २०औँ मिनेटमा व्यक्तिगत तेस्रो गोल गर्दै ह्याट्रिक पूरा गरिन्। खेलको ३७औँ मिनेटमा तुलसा बोहराले गोल थपेपछि आर्मी ९–० ले विजयी भयो।

    खेलको ‘म्यान अफ दी म्याच’ आर्मीकी दीपा शाही घोषित भइन् । उनलाई १० हजार रुपैयाँ पुरस्कार प्रदान गरिएको आयोजक फुटबल क्लबका अध्यक्ष तथा प्रतियोगिता संयोजक सन्तोष राईले जानकारी दिए।

    प्रतियोगिताअन्तर्गत आज नेपाल पुलिस क्लब र काँकडभिट्टा फुटबल क्लबबीच प्रतिस्पर्धा हुनेछ। डी–१९ क्लब धरान–१९ र स्वर्णिम फुटबल क्लबको संयुक्त आयोजनामा भइरहेको प्रतियोगिता मङ्सिर ५ गतेसम्म सञ्चालन हुनेछ। प्रतियोगितामा भारतसहित आठ टोली सहभागी छन् ।

    प्रतियोगिताको विजेताले पाँच लाख रुपैयाँसहित ट्रफी र उपविजेताले तीन लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्। प्रत्येक खेलको ‘प्लेयर अफ दी म्याच’लाई १० हजार रुपैयाँ प्रदान गरिनेछ । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले विद्युतीय स्कुटर पाउनेछन् भने व्यक्तिगत विधातर्फ उत्कृष्ट हुने खेलाडीलाई जनही १५ हजार रुपैयाँ पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images