images
images
  • खेलाडी साटफेरःशमी पठाएर राजस्थानबाट करण भित्र्याउँदै लखनउ

    काठमाडौं – नयाँ दिल्ली,इन्डियन प्रिमियर लिग (आईपीएल) को आगामी सिजनअघि लखनउ सुपर जायन्ट्स ९एलएसजी० र राजस्थान रोयल्स (आरआर) बिच खेलाडी साटफेर हुने भएको छ । भारतीय तीव्र गतिका बलर मोहम्मद शमी राजस्थान रोयल्स जाने तयारीमा छन् । उनको बदलामा इङ्गल्यान्डका अलराउन्डर साम करण लखनउ सुपर जायन्ट्समा आउने भएका छन् । यस ट्रेडमा तमिलनाडुका बायाँ हाते स्पिनर एम सिद्धार्थ पनि समावेश छन् । लखनउले सिद्धार्थलाई समेत राजस्थानमा पठाउन सहमति जनाएको छ ।

    हालै टेस्ट क्रिकेटबाट संन्यास लिएका ३६ वर्षीय शमीले आईपीएल २०२६ मा लखनउका लागि १३ खेल खेल्दै १२ विकेट लिएका थिए । उनले प्रति ओभर ९ रन खर्चिएका थिए । लखनउले उक्त सिजन अङ्कतालिकाको पुछारमा रहेर प्रतियोगिता अन्त्य गरे पनि शमीले बलिङ आक्रमणमा अनुभव र गहिराइ थपेका थिए ।

    उमेर ढल्किँदै गए पनि शमीले टी–२० क्रिकेटमा आफ्नो प्रभाव कायम राख्न सक्ने प्रमाणित गरेका छन् । गत सिजन आफ्नो पूर्वटोली सनराइजर्स हैदराबादविरुद्ध हैदराबाद मै उनले उत्कृष्ट बलिङ गरेका थिए । उनले चार ओभरमा नौ रन मात्रै खर्चेर दुई विकेट लिएका थिए । त्यस क्रममा आक्रामक ब्याटर अभिषेक शर्मा र ट्राभिस हेडलाई सुरुवाती दुई ओभरमै आउट गरेका थिए ।

    सन् २०२४ यता शमीले पावर प्लेमा ८.७६ को इकोनोमीमा १४ विकेट लिएका छन। आईपीएल २०२६ मा लखनउले पावर प्लेमा ८.७१ को इकोनोमीमा २३ विकेट लिँदै उत्कृष्ट प्रदर्शन गरेको थियो । यसको विपरीत राजस्थानले पावर प्लेमा १०.१४ को इकोनोमीमा २८ विकेट लिएको थियो । प्लेअफसम्म पुगे पनि पावर प्ले बलिङ राजस्थानको कमजोर पक्षमध्ये एक थियो ।
    शमीको आगमनले राजस्थानको बलिङ आक्रमण थप बलियो बन्ने अपेक्षा गरिएको छ । उनी गत सिजन टोलीका मुख्य स्ट्राइक बलर रहेका जोफ्रा आर्चरसँग मिलेर नयाँ बलमा विपक्षी ब्याटरलाई दबाबमा राख्न सक्छन् ।

    यता साम करण भने आइपिएलमा आफ्नो तेस्रो फ्रेन्चाइजका रूपमा लखनउसँग जोडिनेछन् । यसअघि उनले पन्जाब किंग्स र चेन्नई सुपर किंग्सबाट खेलिसकेका छन् । चोटका कारण उनले आईपीएल २०२६ भने गुमाएका थिए । लखनउमा करणले लामो समयदेखिका साथी तथा मार्गदर्शक टम मुडीसँग पुनः सहकार्य गर्नेछन् । मुडी हाल लखनउका ग्लोबल डाइरेक्टर अफ क्रिकेट हुन् । करणले यसअघि द हन्ड्रेडको ओभल इन्भिन्सिबल्स र युएईको आईएलटी२० मा डेजर्ट भाइपर्सबाट मुडीसँग काम गरिसकेका छन् । मुडी मुख्य प्रशिक्षक रहँदा करणले डेजर्ट भाइपर्सको कप्तानी गर्दै यसै वर्ष जनवरीमा आईएलटी२० को उपाधि जितेका थिए ।

    करणको आगमनले लखनउको टोलीमा महत्त्वपूर्ण रिक्तता पूरा गर्नेछ । ब्याटिङ र बलिङ दुवैमा योगदान दिन सक्ने अलराउन्डरको अभाव लखनउले महसुस गरिरहेको थियो । सन् २०२२ मा इङ्गल्यान्डले टी–२० विश्वकप जित्दा फाइनलको उत्कृष्ट खेलाडी र प्रतियोगिताकै उत्कृष्ट खेलाडी बनेका करण ब्याटिङ क्रममा जुनसुकै स्थानमा खेल्न सक्ने क्षमता राख्छन् । उनी बलिङका विभिन्न चरणमा पनि उपयोगी हुन सक्छन् ।

    करण लखनउका लागि कप्तानीको विकल्पसमेत बन्न सक्छन् । सन् २०२६ को सिजनपछि ऋषभ पन्तले कप्तानी छाड्दै ट्रेडमार्फत दिल्ली क्यापिटल्स फर्किएपछि लखनउको कप्तान पद रिक्त छ । करणसँगै एडेन माक्र्रम, निकोलस पूरण, मिचेल मार्स र जोस इङ्लिस पनि कप्तानीका सम्भावित दाबेदारका रूपमा रहेका छन् ।

    यस ट्रेडमा राजस्थान जाने तयारीमा रहेका एम सिद्धार्थ नयाँ बल स्विङ गराउन सक्ने विशेष क्षमता भएका स्पिनर हुन्। उनले हालै तमिलनाडु प्रिमियर लिग (टीएनपीएल) को उपाधि जितेका थिए । अब उनी तमिलनाडुका लागि २० ओभरको सैयद मुस्ताक अलि ट्रफीमा खेल्ने तयारीमा छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images