images
images
  • वैदिक विश्वविद्यालय स्थापनाको सन्देशसहित मेची–महाकाली रथयात्रा देवदहमा

    काठमाडौं – नवलपरासीको त्रिवेणीमा आयोजना हुने गजेन्द्र मोक्षनारायण भैरव विराट महायज्ञको प्रचारप्रसारका लागि मुक्तिनाथबाट सुरु गरिएको मेची–महाकाली रथयात्रा रुपन्देहीको देवदह आइपुगेको छ । देवदहस्थित लोकेश्वर मन्दिरमा रथयात्रा टोलीलाई स्थानीय जनप्रतिनिधि तथा सरोकारवालाले स्वागत गरेका छन् । आगामी मङ्सिर १ देखि २७ गतेसम्म सञ्चालन हुने महायज्ञमार्फत वैदिक विश्वविद्यालय स्थापना गर्ने लक्ष्य राखिएको छ ।

    वैदिक ज्ञान, दर्शन र संस्कृतिको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यसहित सुरु गरिएको रथयात्राले विभिन्न स्थानमा धार्मिक तथा सांस्कृतिक चेतना फैलाउँदै यात्रा अघि बढाएको हो । देवदह आइपुगेको रथयात्रा टोलीलाई नगरपालिकाका उपप्रमुख विद्यालक्ष्मी गुरुङ, पूर्वनगरप्रमुख हिराबहादुर खत्री, नगर प्रवक्ता गणेश डुम्रेलगायतले स्वागत गरेका थिए। स्वागत कार्यक्रमपछि रथयात्रा देवदह हुँदै पश्चिमतर्फ प्रस्थान गरेको थियो ।

    मुक्तिनाथबाट सुरु भएको रथयात्रामा हिन्दू धर्मगुरु वासुदेव प्रपन्नाचार्य, विश्वप्रकाश प्रपन्नाचार्य र सनातन प्रपन्नाचार्य सहभागी छन् । मेची–महाकालीका विभिन्न स्थानको यात्रा पूरा गरी रथयात्रा त्रिवेणी पुगेर समापन हुने आयोजकले जनाएको छ । आयोजकका अनुसार महायज्ञमार्फत वैदिक ज्ञान र संस्कृतिको संरक्षण, धार्मिक तथा शैक्षिक चेतनाको विस्तार र वैदिक विश्वविद्यालय स्थापनाको अभियानलाई अघि बढाउने लक्ष्य राखिएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images