images
images
  • गोवर्धन पूजा र हलितिहार आज, गोरु, हली र बलि राजाको पूजा गरी मनाइँदै

    काठमाडौं – यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गोवर्धन पूजा, बलि पूजा र हलितिहार मनाइँदैछ। कार्तिक शुक्ल प्रतिपदाका दिन गोवर्धन पर्वत, बलि राजा, गोरु तथा हलीको पूजा आराधना गरी सम्मान प्रकट गर्ने धार्मिक तथा सांस्कृतिक परम्परा छ।

    आजका दिन घरआँगन लिपपोत गरी गाईको गोबरबाट गोवर्धन पर्वतको आकृति बनाई त्यसलाई गोवर्धन पर्वतका रूपमा पूजा गर्ने चलन छ। द्वापर युगमा भगवान् श्रीकृष्णले आफ्नो कान्छी औँलाले गोवर्धन पर्वत उचालेर गोकुलवासीलाई मुसलधारे वर्षाबाट बचाएको धार्मिक मान्यताका आधारमा गोवर्धन पूजा गर्ने परम्परा सुरु भएको विश्वास गरिन्छ।

    नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार गोवर्धन पूजा कार्तिक शुक्ल प्रतिपदाका दिन सूर्योदय भएका दिन गर्नुपर्ने धार्मिक विधि रहेको छ।

    यसैगरी आज बलि राजाको पनि पूजा आराधना गरिन्छ। धार्मिक मान्यताअनुसार भगवान् विष्णुले बलि राजालाई यमपञ्चकका पाँच दिन मृत्युलोकमा शासन गर्ने अधिकार दिएको विश्वास छ। यही मान्यताका आधारमा तिहारमा देउसी खेल्दा ‘हामी त्यसै आएनौँ, बलि राजाले पठाए’ भन्दै भट्याउने परम्परा रहिआएको छ।

    कृषिप्रधान नेपाली समाजमा गोरुको योगदानलाई सम्मान गर्ने दिनका रूपमा पनि आजको दिन विशेष मानिन्छ। वर्षभर खेतबारी जोतेर मानव जीवन र कृषि उत्पादनमा सहयोग पुर्‍याउने गोरुलाई पूजा गरी माला लगाइदिने तथा मिठा परिकार खान दिने चलन छ। गोरुलाई भगवान् शिवको वाहन नन्दीका रूपमा समेत पूजा गर्ने धार्मिक परम्परा छ।

    त्यस्तै, वर्षभर गोरु जोतेर कृषि कर्ममा संलग्न हुने हली तथा किसानलाई पनि आज पूजा गरी सम्मान गर्ने र मिठा परिकार खुवाउने चलन छ। कृषि कार्यमा संलग्न श्रमजीवीप्रति सम्मान प्रकट गरिने भएकाले यस दिनलाई हलितिहार वा हली तिहारसमेत भनिन्छ।

    धार्मिक आस्था, कृषि संस्कृति र श्रमको सम्मानसँग जोडिएको गोवर्धन पूजा नेपाली समाजमा तिहारको महत्वपूर्ण सांस्कृतिक पर्वका रूपमा मनाइँदै आएको छ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images