images
images
  • नेपाल सम्वत्को दार्शनिक व्याख्या गर्दै प्रधानमन्त्रीले भने– ‘आफ्नै देह र चेतनालाई साक्षी राखेर आफैँलाई पूजा गर्ने पर्व हो म्ह: पूजा’

    काठमाडौं– प्रधानमन्त्री बालेन्द्र साह ‘बालेन’ले नेपाल सम्वत् ११४७ को अवसरमा स्वदेश तथा विदेशमा रहेका नेपालीलाई शुभकामना दिँदै म्ह: पूजाको सांस्कृतिक र दार्शनिक महत्त्वलाई विशेष रूपमा स्मरण गरेका छन् ।

    नेपाल सम्वत्को नयाँ वर्ष तथा म्ह: पूजाको अवसरमा मंगलबार सामाजिक सञ्जालमार्फत शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री बालेनले म्ह: पूजालाई आफ्नै देह र शरीरभित्रको चेतनालाई साक्षी राखेर आफैँलाई पूजा गर्ने मौलिक परम्पराका रूपमा व्याख्या गरेका छन् ।

    उनले म्ह: पूजा केवल धार्मिक कर्मकाण्ड नभई आत्मशुद्धि र चेतनाको बोध गराउने परम्परा भएको उल्लेख गरेका छन् । ‘म्ह: अर्थात् आफ्नै देह र शरीरभित्रको चेतनालाई साक्षी राखेर, अद्वितीयताको प्रतीक मण्डपमा आफैँले आफैँलाई पूजा गर्ने यस परम्पराले आत्मशुद्धि र चेतनाको बोध गराउँछ,’ उनले सन्देशमा भनेका छन् ।

    प्रधानमन्त्री बालेनले नेपाल सम्वत्लाई राष्ट्रिय विभूति शङ्खधर साख्वा:ले देशभरका जनतालाई ऋणमुक्त पारेर सुरु गर्नुभएको मौलिक समयचक्र र पहिचानका रूपमा स्मरण गरेका छन् ।

    उनका अनुसार म्ह: पूजाको परम्पराले नेवार समुदायभित्र आपसी सद्भाव, आत्मबल र पृथ्वीतलीय संस्कृतिको जगेर्ना गर्दै जातीय एकतालाई अझ प्रगाढ बनाएको छ ।

    उनले गोवर्धन पूजाको धार्मिक तथा सांस्कृतिक महत्त्वसमेत उल्लेख गरेका छन् । भगवान् श्रीकृष्णले गोवर्धन पर्वत उठाएर द्वारिकावासीलाई बचाउनुभएको पौराणिक मान्यतासँगै कृषि कर्ममा सहयात्री गोरुलाई मिष्ठान्न भोजन गराउने तथा हली, फलफूलसहितका कृषि औजारहरूको पूजा गरी गोवर्धन पूजा तथा हली तिहार मनाइने उनले बताएका छन् ।

    त्यस्तै, देउसीभैलो र सांस्कृतिक परम्पराले छरछिमेकमा आपसी आत्मीयता र सम्बन्धलाई थप प्रगाढ बनाउने उल्लेख गर्दै उनले यस्ता मौलिक चाडपर्वले समाजमा सद्भाव, एकता र सहिष्णूताको भावना बलियो बनाउने बताएका छन् ।

    ‘हाम्रा यी मौलिक चाडपर्वहरूले रिसराग सबै भुलेर हामीबीचको सामाजिक एकता र सहिष्णूताको भावनालाई सधैँ जीवितै बनाउने प्रेरणा गरून्,’ उनले शुभकामना सन्देशमा भनेका छन् ।

    प्रधानमन्त्री बालेनले नेपाल सम्वत् ११४७ तथा म्ह: पूजाको अवसरमा सबैको जीवनमा सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको कामनासमेत गरेका छन् ।

    नेपाल संवत् ११४७ आजदेखि सुरू

    Screenshot 2026 11 10 074450

    प्रतिक्रिया दिनुहोस्
    images
    images