images
images
  • तिहारमा झिनियाको व्यापार चम्कियो, घरमै बसेर लाखौँ आम्दानी गर्दै म्याग्दीका उद्यमी

    काठमाडौं – तिहार नजिकिएसँगै म्याग्दीको बेनी बजारमा परम्परागत परिकार झिनिया रोटीको व्यापार बढेको छ । चाडपर्वलाई लक्षित गरी झिनिया उत्पादन गर्दै आएका स्थानीय उद्यमीलाई मागअनुसार उत्पादन गर्न भ्याइनभ्याइ भएको छ । घरपरिवारका सदस्यदेखि श्रमिकसम्म परिचालन गरेर उनीहरू झिनिया उत्पादनमा जुटेका छन् ।

    बेनी नगरपालिका–७ मङ्गलाघाटकी कल्पना श्रेष्ठ केही दिनयता झिनिया उत्पादनमा व्यस्त हुनुहुन्छ । छोराछोरी विदेशमा रहेकाले उ र उनका श्रीमान्ले चाडपर्वको समयमा झिनिया उत्पादन गर्दै आएको छ । तिहारमा माग बढेपछि उहाँले एक जना श्रमिकसमेत राख्नुभएको छ ।

    श्रेष्ठका अनुसार दसैँ र तिहारको अवधिमा तीनदेखि चार लाख रुपैयाँसम्मको झिनिया बिक्री हुने गरेको छ । उत्पादित झिनिया बेनी बजारका साथै म्याग्दीका ग्रामीण क्षेत्र, पर्वत, बागलुङ र पोखरासम्म पुग्ने गरेको उहाँले बताउनुभयो । “तिहारमा माग धेरै आउँछ । त्यसैले एक जना श्रमिक राखेर उत्पादन गरिरहेका छौँ”, उनले भने ।

    मङ्गलाघाटकै हेमबहादुर पुनको परिवारका १० जना सदस्य झिनिया उत्पादनमा संलग्न छन् । पुनका अनुसार दैनिक एक बोरा चामलको पिठो बराबरको झिनिया उत्पादन हुने गरेको छ । पछिल्लो दुई महिनादेखि परिवारका सबै सदस्य उत्पादनमा खटिएका छन् ।दसैँ–तिहारको समयमा दुईदेखि तीन लाख रुपैयाँसम्मको झिनिया बिक्री हुने गरेको उनले बताए । बेनी बजारसँगै पोखराबाट समेत माग आउने गरेको र उत्पादन गर्न सके बजारको समस्या नरहेको उनको अनुभव छ । “उत्पादन गर्न सके बिक्रीको समस्या छैन । बजारबाट माग आइरहेको छ”, पुनले भने ।

    २५ वर्षदेखि झिनिया उत्पादन

    बेनी नगरपालिका–७ की टकसरा राना विगत २५ वर्षदेखि झिनिया बनाउँदै आउनुभएको छ । परम्परागत सीप र संस्कृतिसँग जोडिएको यो व्यवसायले उनलाई घरखर्च चलाउन आर्थिक सहयोग पुर्‍याएको छ । “झिनिया बनाउने परम्परागत संस्कृति भएकाले छाड्न सकिएन । दिनभर त्यसै बस्नुभन्दा झिनिया बनाउँदा घरखर्चका लागि रकम पनि जम्मा हुन्छ”, उनले भने ।

    उहाँका अनुसार बेनी बजार, ग्रामीण क्षेत्र र पोखराबाट झिनियाको माग आउने गरेको छ । विदेशबाट समेत माग आउने गरेको उहाँको अनुभव छ । दुई वर्षअघि अस्ट्रेलियाबाट २५ हजार रुपैयाँ बराबरको झिनियाको माग आए पनि पर्याप्त उत्पादन गर्न नसक्दा १३ हजार रुपैयाँ बराबरको मात्रै पठाउन सकिएको उनले सुनाए ।

    परम्परागत सीपबाट स्वरोजगार

    नेपाली मौलिक परिकारमध्ये झिनियालाई झिलिङ्गा रोटी पनि भनिन्छ । चामलको पिठोबाट तयार गरिने यो परिकार विशेषगरी तिहारमा बढी प्रयोग हुन्छ । दाजुभाइ तथा दिदीबहिनीबीच आत्मीयता साटासाट गर्ने, आफन्त भेट्न जाने र पाहुनाको सत्कार गर्ने क्रममा झिनिया रोटीको प्रयोग हुने बेनी नगरपालिका–७ की टकसरा रानाको भनाइ छ ।

    झिनिया तयार गर्न सुरुमा चामलको पिठो पकाइन्छ । त्यसपछि मेसिनमा पेलेर चाउचाउको जस्तो त्यान्द्रो निकालिन्छ । त्यसलाई दुई दिनसम्म घाममा सुकाएपछि झिनिया तयार हुन्छ । पछिल्लो समय परम्परागत तरिकासँगै विद्युत्बाट चल्ने मेसिनको प्रयोगसमेत बढेको छ । झिनिया बनाउन कम्तीमा तीन जना जनशक्ति आवश्यक पर्ने उद्यमीहरू बताउँछन् । तीन जनाले एक दिनमा ३५० वटाभन्दा बढी झिनिया बनाउन सक्छन् । तयार भएको झिनियालाई घ्यू वा तेलमा तारेर खान सकिन्छ । बजारमा १२ वटा झिनियाको मूल्य १४० देखि १५० रुपैयाँसम्म पर्ने गरेको छ ।

    मङ्गलाघाटमै २० उद्यमी

    मङ्गलाघाटमा मात्रै करिब २० जना झिनिया उद्यमी रहेको म्याग्दी उद्योग वाणिज्य सङ्घका निवर्तमान अध्यक्ष बेलबहादुर कटुवालले बताउनुभयो । उहाँका अनुसार तिहारको समयमा अधिकांश उद्यमी उत्पादनमा व्यस्त हुने गरेका छन् । झिनिया आकर्षक देखिने, स्वादिलो हुने र सजिलै पकाएर खान सकिने भएकाले यसको माग चाडपर्वमा बढी हुने गरेको छ । आफन्तकहाँ जाँदा कोसेलीका रूपमा लैजाने चलनले पनि यसको बजार विस्तारमा सहयोग पुगेको छ । उपभोक्ता समिता पुनका अनुसार घरमै झिनिया बनाउन झन्झट हुने र तयार पारेपछि बिग्रने जोखिमसमेत रहने भएकाले बजारबाट किनेर लैजान सहज हुने गरेको छ ।

    प्रविधि र भण्डारणको आवश्यकता

    स्थानीय उद्यमीहरूले झिनिया उत्पादनलाई थप व्यवस्थित र व्यावसायिक बनाउन सहयोग आवश्यक रहेको बताएका छन् । मेसिन, उत्पादनसम्बन्धी तालिम तथा सुरक्षित भण्डारणका लागि आवश्यक औजार र उपकरणको व्यवस्था भए उत्पादन क्षमता बढाउन सकिने उद्यमी हरिकुमार श्रेष्ठको भनाइ छ ।

    घरायसी कामबाट बचेको समय उपयोग गर्दै झिनिया उत्पादन गर्दा आम्दानी हुने र परिवारको आर्थिक व्यवस्थापनमा सहयोग पुग्ने उद्यमीहरू बताउँछन् । परम्परागत स्वाद र संस्कृतिसँग जोडिएको झिनिया उत्पादन अहिले म्याग्दीका महिलासहित स्थानीय परिवारका लागि आम्दानी र स्वरोजगारको माध्यमसमेत बनेको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images