काठमाडौं – पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–४ घोप्टेभिरमा फेरि सुक्खा पहिरो खस्दा काठमाडौं आवतजावत गर्ने सडक अवरुद्ध भएको छ । सोमबार राति करिब ११ः१५ बजे पहिरो खसेपछि पृथ्वी राजमार्गको उक्त खण्डमा दुवैतर्फको यातायात ठप्प भएको हो । चितवन जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) चन्द्र भुषण यादवका अनुसार पहिरो खसेर सडक पूर्ण रूपमा अवरुद्ध भएको छ । पहिरो हटाएर यातायात सञ्चालन गर्ने प्रयास भइरहेको उनले जानकारी दिए ।
यसअघि सोमबार बिहान पनि सोही स्थानमा सुक्खा पहिरो खसेको थियो । बिहानै खसेको पहिरोका कारण अवरुद्ध सडक दिउँसो करिब २ बजेमात्रै सञ्चालनमा आएको थियो । एउटै स्थानमा पटक–पटक पहिरो खस्दा पृथ्वी राजमार्ग भएर काठमाडौं तथा पोखरासहित विभिन्न गन्तव्यमा आवतजावत गर्ने यात्रु प्रभावित भएका छन् ।
प्रतिक्रिया दिनुहोस्






















