images
images
  • काँकडभिट्टाबाट चिया निर्यात ९० प्रतिशतले बढ्यो, असोजमा १७ लाख किलोभन्दा बढी भारत पठाइयो

    काठमाडौं – पूर्वी नाका काँकडभिट्टा हुँदै भारततर्फ हुने नेपाली चियाको निर्यात उल्लेख्य रूपमा बढेको छ । चालु आर्थिक वर्षको असोजमा गत वर्षको सोही अवधिको तुलनामा चिया निर्यातको परिमाण ९० प्रतिशतभन्दा बढीले वृद्धि भएको हो ।

    मेची भन्सार कार्यालयको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०८३/८४ को असोज महिनामा ४९ करोड ५४ लाख ५२ हजार रुपैयाँ बराबरको १७ लाख १५ हजार ९३२ केजी चिया भारत निर्यात भएको छ ।

    गत आर्थिक वर्ष २०८२/८३ को असोजमा भने २४ करोड ७४ लाख नौ हजार रुपैयाँ बराबरको नौ लाख दुई हजार ४४५ केजी चिया निर्यात भएको थियो । एक वर्षको अवधिमा चिया निर्यातको परिमाण झण्डै दोब्बर पुगेको छ भने निर्यातबाट प्राप्त आम्दानी पनि करिब दोब्बर भएको छ ।

    काँकडभिट्टा नाकाबाट चियासँगै अलैँची र प्लाइउडको निर्यात पनि उल्लेख्य रहेको छ । मेची भन्सार कार्यालयका अनुसार गत असोजमा ९८ करोड ८८ लाख ८४ हजार रुपैयाँ बराबरको अलैँची तथा ४४ करोड २३ लाख ४८ हजार रुपैयाँ बराबरको प्लाइउड निर्यात भएको छ । पूर्वी पहाडी जिल्लाहरू इलाम, पाँचथर, ताप्लेजुङ र झापामा उत्पादित नेपाली चिया काँकडभिट्टा नाका हुँदै मुख्यतः भारतीय बजारमा पुग्ने गरेको छ ।

    चिया निर्यातमा भएको वृद्धिले पूर्वी नेपालका चिया उत्पादक किसान, उद्योगी तथा व्यवसायीका लागि भारतीय बजारको महत्व पुनः उजागर गरेको छ । निर्यातको यो वृद्धिले चिया क्षेत्रको उत्पादन, प्रशोधन र बजार विस्तारमा थप सम्भावना देखाएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images