images
images
  • आइटियू महासम्मेलनमा सञ्चारमन्त्री तिमिल्सिना, कतारसहित विभिन्न देशका मन्त्रीसँग भेटवार्ता

    काठमाडौं – सूचना तथा सञ्चारमन्त्री डा। विक्रम तिमिल्सिनाले कतारको दोहामा आयोजित अन्तर्राष्ट्रिय दूरसञ्चार सङ्घ (आइटियू) महासम्मेलन–२०२६ मा सहभागिता जनाउँदै विभिन्न देशका समकक्षी तथा अन्तर्राष्ट्रिय प्रतिनिधिसँग भेटवार्ता गर्नुभएको छ । नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै दोहा पुग्नुभएका मन्त्री तिमिल्सिनाले सोमबार दोहा प्रदर्शनी तथा सम्मेलन केन्द्र ९डीईसीसी० मा आयोजित आइटियू महासम्मेलन (आइटियू पीपी–२६) को उद्घाटन समारोहमा सहभागिता जनाएको हो ।

    सम्मेलनका क्रममा उनले विभिन्न देशका प्रतिनिधिमण्डल प्रमुखहरूको औपचारिक बैठकमा समेत भाग लिए । त्यस अवसरमा मित्रराष्ट्रका समकक्षीसँग अन्तरक्रिया तथा आपसी हितका विषयमा छलफल भएको दोहास्थित नेपाली दूतावासले जनाएको छ । महासम्मेलनकै क्रममा आइटियूको रेडियोकम्युनिकेसन ब्युरोको निर्देशक पदका फ्रान्सेली उम्मेदवार एरिक फोर्नियरले मन्त्री तिमिल्सिनासँग शिष्टाचार भेट गर्नुभएको थियो । भेटमा नेपालका लागि स्पेक्ट्रम तथा भूउपग्रह कक्ष व्यवस्थापनसम्बन्धी विषयमा छलफल भएको थियो ।

    फोर्नियरले रेडियोकम्युनिकेसन ब्युरोको निर्देशक पदका लागि आफ्नो दृष्टिकोण र भावी योजनाबारे पनि मन्त्री तिमिल्सिनालाई जानकारी गराएको थियो । त्यसैगरी, मन्त्री तिमिल्सिनाले इरानका सूचना तथा सञ्चार प्रविधिमन्त्री सत्तार हाशेमी र तान्जानियाका सञ्चार तथा सूचना प्रविधिमन्त्री एन्जेलाह जस्मिन कैरुकीसँग छुट्टाछुट्टै शिष्टाचार भेटवार्ता गर्नुभएको थियो । भेटमा दुवै पक्षबीच आपसी हित र चासोका विषयमा छलफल भएको नेपाली दूतावासद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

    यसैबीच, मन्त्री तिमिल्सिनाले सोमबार साँझ कतार सरकारद्वारा आइटियू पीपी–२६ मा सहभागी विभिन्न देशका प्रतिनिधिमण्डलका लागि आयोजित रात्रिभोजमा समेत सहभागिता जनाएको थियो । अन्तर्राष्ट्रिय दूरसञ्चार सङ्घको महासम्मेलन दूरसञ्चार तथा सूचना प्रविधिको विश्वव्यापी नीति, नियमन, प्रविधिगत विकास र अन्तर्राष्ट्रिय सहकार्यका विषयमा छलफल तथा निर्णय हुने महत्वपूर्ण मञ्च हो । सम्मेलनमा सदस्य राष्ट्रहरूले दूरसञ्चार क्षेत्रको भावी दिशा, डिजिटल प्रविधिको विस्तार र विश्वव्यापी सञ्चार प्रणालीको व्यवस्थापनबारे छलफल गर्ने गर्छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images