images
images
  • त्याग र साहसका प्रतीक गणेशमान सिंहको ११२औँ जन्मजयन्ती

    काठमाडौं – प्रजातन्त्र पुनःस्थापनाका लागि २०४६ सालमा भएको जनआन्दोलनका सर्वोच्च कमान्डर एवं नेपाली राजनीतिमा त्याग र साहसका प्रतीक गणेशमान सिंहको ११२औँ जन्मजयन्ती आज विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदैछ ।

    नेपाली राजनीतिमा निष्ठा, त्याग र समर्पणको उच्च उदाहरणका रूपमा स्थापित सिंहले प्रधानमन्त्री बन्ने अवसरसमेत त्यागेर समकक्षी नेता कृष्णप्रसाद भट्टराईलाई अघि सारेको थियो । २०४६ सालको जनआन्दोलन सफल भएपछि तत्कालीन राजा वीरेन्द्रले प्रधानमन्त्री बन्न गरेको आग्रह अस्वीकार गर्दै उहाँले भट्टराईलाई प्रधानमन्त्रीका रूपमा प्रस्ताव गर्नुभएको थियो। यस घटनालाई नेपाली राजनीतिक इतिहासमा त्यागको अनुपम उदाहरणका रूपमा लिइन्छ ।

    विसं १९७२ कात्तिक २४ गते काठमाडौंको क्षेत्रपाटीमा जन्मनुभएका सिंहको २०५४ साल असोज २ गते निधन भएको थियो । काठमाडौंको प्रतिष्ठित परिवारमा जन्मनुभएका उहाँले १९९७ सालमा स्थापित नेपालको पहिलो राजनीतिक दल प्रजा परिषद्मा आबद्ध भएर राणा शासनविरुद्धको आन्दोलनमा सक्रिय भूमिका निर्वाह गरेको थियो ।

    राणा शासनविरुद्धको आन्दोलनमा संलग्न भएकै कारण उहाँलगायतका नेताहरूलाई तत्कालीन सरकारले जेल हालेको थियो। विसं २००७ अघि नै भद्रगोल जेल तोडेर भाग्न सफल सिंह त्यसपछि भारत पुगे । भारतमा उहाँको नेपाली कांग्रेसका नेता बीपी कोइरालासँग राजनीतिक सम्बन्ध विकसित भयो । २००३ सालमा स्थापित नेपाली राष्ट्रिय कांग्रेसको संगठन विस्तार र नेतृत्वमा पनि उनको महत्वपूर्ण योगदान रह्यो ।

    २००७ सालको प्रजातान्त्रिक क्रान्तिमा उहाँले वीरगञ्ज मोर्चाबाट सशस्त्र संघर्षको नेतृत्व गर्नुभएको थियो। प्रजातन्त्र स्थापना र पुनःस्थापनाका आन्दोलनमा निरन्तर सक्रिय सिंह वैचारिक रूपमा बीपी कोइरालाका निकट सहयोगी तथा समर्थक थिए ।

    २०१५ सालको पहिलो आमनिर्वाचनपछि बनेको सरकारमा वरिष्ठ मन्त्री बन्नुभएका सिंह २०१७ साल पुस १ गते राजा महेन्द्रले प्रजातन्त्र अपहरण गरेपछि बन्दी बनाइनुभयो। उहाँले बीपी कोइरालासँगै सिंहदरबार र सुन्दरीजल बन्दीगृहमा लामो समय कारावास जीवन बिताए ।

    २०२५ सालमा जेलमुक्त भएपछि उहाँ बीपीसँगै भारत निर्वासनमा गए । २०३३ साल पुस १६ गते बीपी कोइरालासँगै राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिएर स्वदेश फर्किनुभएका उनलाई विमानस्थलबाटै गिरफ्तार गरी पुनः सुन्दरीजल बन्दीगृहमा राखिएको थियो ।

    पञ्चायती व्यवस्थाविरुद्धको राजनीतिक संघर्षमा सिंहले निरन्तर नेतृत्वदायी भूमिका निर्वाह गर्नुभयो। २०३६ सालको विद्यार्थी आन्दोलन र जनमत संग्रहका क्रममा उहाँ सक्रिय रहनुभयो। बीपी कोइरालाको निधनपछि नेपाली कांग्रेसको नेतृत्वदायी भूमिकामा रहनुभएका उहाँले २०४२ सालको सत्याग्रह आन्दोलनको नेतृत्वसमेत गरेको थियो ।

    २०४६ सालमा वामपन्थी दलहरूसँग सहकार्य गर्दै पञ्चायती व्यवस्थाविरुद्ध संयुक्त जनआन्दोलन घोषणा गर्न उहाँले महत्वपूर्ण भूमिका निर्वाह गरे। सोही आन्दोलनका सर्वोच्च कमान्डरका रूपमा उहाँले विभिन्न राजनीतिक शक्तिलाई एकताबद्ध बनाउन नेतृत्व गर्नुभएको थियो। आन्दोलन सफल भएसँगै देशमा बहुदलीय प्रजातन्त्र पुनःस्थापना भएको थियो ।

    सिंहको राजनीतिक योगदान र त्यागलाई स्मरण गर्दै आज नेपाली कांग्रेसका विभिन्न समूह, भ्रातृ तथा शुभेच्छुक संस्था र गणेशमान सिंह अध्ययन प्रतिष्ठानलगायतले विभिन्न कार्यक्रम आयोजना गरी जन्मजयन्ती मनाउने जनाइएको छ ।

    यसैबीच, बीपी कोइराला, गणेशमान सिंहलगायतका नेताहरूलाई बन्दी बनाइएको सुन्दरीजलस्थित बन्दीगृहलाई २०६१ साल भदौ २४ गते बीपी संग्रहालयमा रूपान्तरण गरिएको थियो । संग्रहालयमा प्रजातान्त्रिक आन्दोलनका नेताहरूको योगदान स्मरण गराउने संरचना तथा सालिकहरू निर्माण गरिएका छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images