images
images
  • तिहारको सुरक्षाका लागि चितवनमा तालिमप्राप्त कुकुर परिचालन

    काठमाडौं – तिहारका बेला हुन सक्ने सम्भावित आपराधिक गतिविधि तथा सुरक्षा जोखिमलाई मध्यनजर गर्दै चितवनका भीडभाड हुने स्थान र मुख्य नाकाहरूमा तालिमप्राप्त कुकुर परिचालन गरिएको छ। जिल्ला प्रहरी कार्यालय चितवनले तिहार लक्षित सुरक्षा व्यवस्थाअन्तर्गत विस्फोटक पदार्थ र लागुऔषध पहिचान गर्न सक्ने दुईवटा तालिमप्राप्त कुकुर परिचालन गरेको हो।

    जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक चन्द्रभूषण यादवका अनुसार तिहारका समयमा पटाकाजन्य वस्तुको ओसारपसार हुन सक्ने सम्भावित नाकाहरूमा समेत कुकुर परिचालन गरिएको छ। मानिसको बढी भीडभाड हुने स्थानमा लागुऔषध तथा विस्फोटक पदार्थको ओसारपसार हुन सक्ने जोखिम रहेकाले निगरानी बढाइएको उनले बताए।

    तिहारलाई लक्षित गरी जिल्लामा विशेष सुरक्षा योजना लागू गरिएको र त्यसअन्तर्गत आठ सयभन्दा बढी प्रहरी परिचालन गरिएको यादवले जानकारी दिए। सुरक्षालाई थप प्रभावकारी बनाउन सादा पोसाकमा समेत प्रहरी परिचालन गरिएको छ।

    यसैगरी, प्रहरीले देउसीभैलो कार्यक्रम राति १० बजेसम्म मात्र सञ्चालन गर्न आग्रह गरेको छ। देउसीभैलो खेल्न जाने समूहलाई राति १० बजेभित्र घर फर्किन सूचना जारी गरिएको प्रहरी नायब उपरीक्षक यादवले बताए । तिहारमा हुन सक्ने सम्भावित दुर्घटना, अवाञ्छित गतिविधि तथा सुरक्षा चुनौती न्यूनीकरण गर्न प्रहरीले जिल्लाभर निगरानी र सुरक्षा व्यवस्था कडा बनाएको जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images