काठमाडौं– अहिले युरोपमा प्यालेस्टाइनी झन्डा प्रदर्शन सुरु भएको छ । प्यालेस्टाइनमा इजरायलले गरेको नरसंहारका कारण आजित हुने संसारका युवाहरू एक स्थानमा उभिएका हुन् । प्यालेस्टाइनी प्लेटफर्मका लागि ब्रसेल्सका लागि फ्रि विश्वविद्यालयका केनी पियरे आङबटन औपनिवेशवादको विरुद्धमा यो आवाज उठाइएको बताउँछन् ।
उनले जलवायु परिवर्तनसहित अन्य विविध विषयमा ध्यान दिनु अहिले आवश्यक रहेको बताए । अहिले यी युवा बेल्जियमभरि यो आवाज उठिरहेको बताउँछन् । अहिले बेल्जियममा अनेकौं नारा उठेका छन् । विद्यार्थीहरूले गरेको यो विरोध प्रदर्शनमा शिक्षाको गुणस्तर पहिलो हो । स्वास्थ्यका विषय पनि अहिले विरोध प्रदर्शनमा उठ्न थालेका छन् । जलवायु परिवर्तनका मुद्दा पनि उठिरहेका छन् । यी प्रदर्शनहरूको बीचमा प्यालेस्टाइनी झन्डा, त्यो पनि स्काफ लगाएर प्रदर्शनमा उत्रनेको ताँती नै छ ।

फ्रान्समा पनि प्यालेस्टाइनी झन्डासहितको प्रदर्शन हुन थालेको छ । फ्रेन्च स्टुडेन्ट युनियनकी प्रवक्ता एलाइस कोरेड मोराडीले गाजा र वेस्ट बैंकमा बसोबास गर्नेहरू र विस्थापितहरूले दैनिक रूपमा भोग्नुपरेको समस्याको बारे सबैको ध्यान जाओस् भनेर प्यालेस्टाइनको झन्डा बोकेको बताइन् ।
‘हामी युवाहरूको आँखाले हेर्ने हो भने हाम्रो परिस्थिति बुझाउन मात्र यो प्रदर्शन गरिएको होइन । निर्धक्कले बाँच्न पाउने हकमा लागि हामीले आवाज उठाएका हौं’, उनले भनिन् ।
उनले सबैको ध्यानाकृष्ट गर्न यसरी स्काफ बाँध्ने चलन पुरानो भएको बताएकी छन् । सन् १९९० को दशकमा दक्षिण अफ्रिकी मात्र नभई संसारको राजनीतिको आकर्षण मानिने नेल्सन मन्डेलाले पनि यसरी स्कार्फ बाँध्ने गरेका थिए । सन् २००६ को आसपासमा स्पेनका समाजवादी मजदुर पार्टीका लुइस रुड्रिगुइज जापटेरोले पनि यसै किसिमको स्काफ बाँधेर काम गरेका थिए ।

युरोपेली संसद्को लागि इटालीकी सदस्य सडकमा प्यालेस्टाइनी झन्डासहित मानिसहरू उत्रन थालेपछि यस मुद्दालाई गम्भीरताका साथ लिन आवश्यक रहेको बताउँछिन् । उनले गाजा र वेस्ट बैंकमा जारी नरसंहारलाई साथ दिन आवश्यक नरहेको कुरामा जोड दिँदै संसारभरमा यसविरुद्ध आवाज उठ्न जरुरी भएको बताएकी छन् ।
केही रिपोर्टका अनुसार सन् २०२३ अक्टोबर ७ देखि यता ८० हजार प्यालेस्टाइनीको ज्यान गएको छ । अहिले युरोपमा उपनिवेशवादविरुद्ध आवाज उठ्न सुरु भइरहेको छ ।
अल्बानियामा स्वतन्त्रताको नाममा १७ वर्ष जेल जीवन बिताएका फाटोस लुबान्जाले पनि आफ्नो देशमा प्यालेस्टाइनी झन्डासहित प्रदर्शन गरेका छन् । उनले लगातार चार महिनादेखि लगातार प्रदर्शन गरिरहेका छन् । उनले मुस्लिम देश भएका कारण पनि अल्बानियामा यो आवाज उठिरहेका बताएका छन् । उनले प्रो अमेरिकन हुनुका मतलब प्रो इजरायल पनि भएको बताए ।
प्यालेस्टाइनी लेखक एवम् अनुसन्धानकर्ता वदाह अबु जामेआले पनि युरोपमा उठेको यो आवाजलाई ध्यान दिएर हेरेका छन् । उनले पहिचान, अध्यागमन नीति, धार्मिक सम्प्रदाय र स्वाधीनताका विषयमा भइरहेको संघर्षका लागि सबैलाई सावधान गराउन यो प्रदर्शन आवश्यक रहेको बताएका छन् ।
विद्यालय र विश्वविद्यालयका युवाहरूले प्यालेस्टाइनी झन्डा बोक्नुको अर्थ त्यहाँका बालबालिकाको पनि शिक्षासम्बन्धी हक जरुरी भएको कुरामा उनले जोड दिएका छन् । पत्रकार जाइन डी जियोभानीले आफ्नो सामाजिक सञ्जालमा फ्रान्समा भएको प्रदर्शनको फोटो राख्दै संसारले नै यस विषयमा ध्यान दिन आवश्यक रहेको बताएकी छन् । उनले लामो समयदेखि प्यालेस्टाइनमा भएका युद्ध अपराधका बारे रिपोर्टिङ गरिरहेकी छन् ।
‘जहाँ हरेक दिन हिंसा हुन्छ, त्यस स्थानका बासिन्दाको जीवन कस्तो हुन्छ होला ? सबैले सोच्नुपर्ने विषय हो’, उनले भनिन् । उनले प्यालेस्टाइनका आम बासिन्दाले भोगेको समस्या र फ्रान्सेली विद्यार्थीले भोगेको समस्याको मूल कारण एउटै भएको कुरामा जोड दिइन् ।

गएको महिनाको अन्त्यमा बर्तिनको ब्रान्डेनबर्ग गेटमा पाँच हजार जनाको एउटा जुलुस उत्रेको थियो । सो जुलुस पनि शिक्षामा लगानी बढाउनुपर्ने मागसहित भएको थियो । जर्मनीको जुलुसमा पनि प्यालेस्टाइनी झन्डा देखिएको थियो । जर्मनीका विज्ञहरूले दिएको जानकारीअनुसार इजरायलले जर्मनमा बनेको हतियार प्यालेस्टाइनीको विरुद्धमा प्रयोग गरेका कारण सोको विरोध प्रदर्शनमा प्यालेस्टाइनी झन्डा देखिएको हो ।
विरोधस्वरूप प्रदर्शनमा उत्रनेहरूले कुफिया बाँधेका थिए । जर्मनीमा रहेका रसायनशास्त्रका एक विद्यार्थी प्यालेस्टाइनलाई आक्रमण गर्न इजरायललाई धेरै देशले सहयोग गरेको कारण आफ्नै देशमा अप्ठेरो परेको बताए । उनी अध्ययनरत विश्वविद्यालयले पनि इजरायलसँग सम्बन्धित धेरै योजना बनाएको छ ।
अहिले जर्मनीमा यो प्रदर्शनको अर्थ युद्धमा सहयोग गर्दा धेरै खर्च र अस्पतालमा कम खर्च भएको भन्ने पनि छ । जर्मनीमा यो विरोध प्रदर्शनपछि सुरक्षा अधिकारीहरूबाट फरक किसिमको प्रस्तुति भएको छ ।
सन् २०२३ अक्टोबर ७ का दिन हमासले इजरायलमा आक्रमण गरेको थियो । हवाई र जमिन आक्रमण एकै पटक भएपछि १ हजार २०० जनाको ज्यान गएको थियो । यसपछि इजरायलले हमासलाई निमिट्यान्न पार्ने भन्दै गाजामा आक्रमण सुरु गरेको थियो, जुन अहिलेसम्म टुंगिन सकेको छैन ।
इजरायली आक्रमणमा ८१ हजारभन्दा बढी प्यालेस्टाइनीले ज्यान गुमाएको तथ्याङ्क छ । धेरै जना विस्थापित भएका छन् । महिला अशक्त र बालबालिकाले पनि यस क्रममा ज्यान गुमाए । संयुक्त राष्ट्रसङ्घले नरसंहारको संज्ञा दिएको छ । अहिले संसारमा नै यसको विरुद्धमा आवाज उठेको छ ।
-अल जजिरा, युरो न्युजलगायतको सहयोगमा


मनोज घिमिरे 


















