काठमाडौं– अमेरिकी संसद्का दुवै सदनमा नियन्त्रण कायम गरेपछि डेमोक्रेटिक पार्टीले राष्ट्रपति डोनाल्ड ट्रम्पको परिवारका व्यावसायिक कारोबारको छानबिन गर्ने तयारी गरेको छ। भ्रष्टाचारको मुद्दालाई सन् २०२८ मा हुने राष्ट्रपतीय निर्वाचनको प्रमुख एजेन्डा बनाउने रणनीतिअनुसार डेमोक्रेटहरूले ट्रम्प परिवारका कारोबारको छानबिन अघि बढाउन लागेका हुन्।
मंगलबार भएको मध्यावधि निर्वाचनमा डेमोक्रेटहरूले सिनेट र प्रतिनिधिसभा दुवैमा बहुमत हासिल गरेका छन्। निर्वाचनमा लाखौं मतदाताले राष्ट्रपति ट्रम्पप्रति असन्तुष्टि व्यक्त गरेका छन्।
निर्वाचनको परिणाम सार्वजनिक भएलगत्तै डेमोक्रेटहरूले रिपब्लिकनहरूलाई छानबिनका लागि तयार रहन चेतावनी दिएका छन्।
प्रतिनिधिसभाको निगरानी समितिको अध्यक्ष बन्ने तयारीमा रहेका सांसद रोबर्ट गार्सियाले मंगलबार राति सामाजिक सञ्जाल एक्समा लेखेका छन्, ‘वकिलको व्यवस्था गर्नुहोस्।’
त्यसको करिब एक घण्टापछि सिनेटको वित्त समिति नेतृत्व गर्ने अपेक्षा गरिएका सिनेटर रोन वाइडेनले ‘समन’ जारी गर्ने चेतावनी दिएका छन्।
त्यस्तै सांसद डेलिया रामिरेजले ट्रम्प प्रशासनका केही अधिकारीहरूलाई सम्बोधन गर्दै आफ्नो समय खाली राख्न भनेकी छन्।
बुधबारदेखि नै डेमोक्रेटिक समितिका नेताहरूले ट्रम्प प्रशासन र ठूला व्यावसायिक कम्पनीहरूलाई लक्षित गर्दै निगरानी तथा छानबिनको कार्यसूची सार्वजनिक गर्न थालेका छन्। सिनेटर वाइडेनले औषधिको मूल्य निर्धारणसम्बन्धी ट्रम्प प्रशासन र औषधि उत्पादक कम्पनीहरूबीच भएका सम्झौताको छानबिन गर्ने बताएका छन्।
ट्रम्प प्रशासनले भने आफूले कुनै गलत काम नगरेको दाबी गर्दै सम्भावित छानबिनको विरोध गरेको रोयटर्सले उल्लेख गरेको छ।
ह्वाइट हाउसकी प्रवक्ता लरेन बिसले भनिन्, ‘यदि डेमोक्रेटहरूले आधारहीन छानबिन र कट्टर वामपन्थी नीतिहरू अघि बढाउने निर्णय गर्छन् भने उनीहरूले अमेरिकी जनताको हितविरुद्ध काम गरिरहेका हुनेछन्।’
रोयटर्सका अनुसार ह्वाइट हाउसका एक अधिकारीले डेमोक्रेटहरूलाई संघीय सरकारका सबै शक्ति अझै पनि रिपब्लिकनकै नियन्त्रणमा रहेको सम्झनुपर्ने बताएका छन्।
रोयटर्सका अनुसार यदि डेमोक्रेटहरुले साँचै अनुसन्धान अघि बढे प्रविधि क्षेत्रका प्रमुख कार्यकारी तथा रिपब्लिकन पार्टीका ठूला आर्थिक सहयोगदाता एलन मस्क, ट्रम्पका छोराहरू र अन्य रिपब्लिकन सहयोगदाता तथा सरकारी ठेक्का पाएका कम्पनीहरू पनि अनुसन्धानको दायरामा आउन सक्नेछन्।
यद्यपि रिपब्लिकन रणनीतिकार रोन बोनजियनले डेमोक्रेटहरूले छानबिनको विषयलाई आवश्यकता भन्दा बढी उछाल्दा राजनीतिक रूपमा उल्टै घाटा व्यहोर्नुपर्ने जोखिम रहेको बताएका छन्।
उनका अनुसार अहिले मतदाताको मुख्य चासो महँगी र दैनिक जीवनयापनको खर्च हो। उनले भने, ‘यदि डेमोक्रेटहरूले खोजेको प्रतिशोधले उनीहरूको विधायिकी कार्यसूचीलाई नै ओझेलमा पार्यो भने उनीहरूको संसदीय बहुमत धेरै समय टिक्ने छैन।’
रोयटर्स/इप्सोस सर्वेक्षणमा ४८ प्रतिशत दर्ता भएका मतदाताले आफ्नो मतदान निर्णयलाई सबैभन्दा बढी प्रभाव पार्ने विषय जीवनयापनको लागत रहेको बताएका थिए। तर ट्रम्पको परिवारले क्रिप्टोकरेन्सी र घरजग्गासम्बन्धी कारोबार विस्तार गरिरहेको विषयलाई लिएर पनि मतदाताले चिन्ता व्यक्त गरेका छन्।
अगस्टमा गरिएको रोयटर्स/इप्सोस सर्वेक्षणमा ६९ प्रतिशत अमेरिकीले ट्रम्पका निजी व्यावसायिक स्वार्थले राष्ट्रपतिको निर्णयलाई प्रभावित गरिरहेको विश्वास व्यक्त गरेका थिए।





















